मस्र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक सम्पन्न

1.5k
Shares

मनाङ ।


मनाङको सदरमुकाम चामेमा मस्र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ ।


मस्र्याङ्दी उपत्यकाभित्र पर्ने मनाङको चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासोँ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिका, तनहुँको भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका तथा बन्दीपुर गाउँपालिका चार जिल्लाका १४ पालिकाको अन्तरपालिका समन्वय बैठक मनाङको चामे गाउँपालिकामा सम्पन्न भएको छ ।


चामेमा सम्पन्न बैठकले डुम्रे–बेँसीसहर–चामे सडकखण्ड द्रुत गतिमा स्तरोन्नतिको कार्य अघि बढाउन पहल गर्ने, मस्र्याङ्दी करिडोरको कानुनी वैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, जलवायु परिवर्तनका कारण परेको प्रभाव सम्बन्धमा सम्बद्ध निकायका समाधानका लागि आवश्यक पहल गर्ने समन्वय समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।


कोरिडोरको पाँचौं बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य क्षेत्रको पहिचान गर्ने सम्बन्धमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन एवम् पूर्वाधार र पर्यटन तथा एग्रो टुरिजमलाई सँगसँगै अघि बढाउन आवश्यक कार्ययोजना तयार गर्ने निर्णय गरेको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।


समग्र मस्र्याङ्दी कोरिडोर क्षेत्रको समृद्धिका लागि सम्भावना र अवसरको बारेमा विचार विमर्श गरी योजनाबद्ध विकासको खाका कोर्ने उद्देश्यले यस क्षेत्रका पूर्वप्रधानमन्त्री, संघीय सांसद, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका वर्तमान र पूर्वपदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सम्बद्ध क्षेत्रका विज्ञहरूको सहभागितामा एक बृहत् गोष्ठी मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख कोइरालाले जानकारी दिनुभयो ।


करिडोरभित्रका पालिका कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एकआपसमा बजारीकरण र साझेदारीका कार्यक्रम संयुक्त रूपमा अगाडि बढाउँदै लैजाने तथा आगामी माघको पहिलो हप्ता गोरखा नगरपालिकामा सातौं बैठक बस्ने निर्णय गरेको छ । करिडोरअन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको बैठक चामे गाउँपालिकाको आयोजनामा सञ्चालन भएको थियो ।