विदेश पढ्ने मोहले ३२ अर्ब १७ करोड बाहिरियो

५६ देशमा अध्ययन अनुमति

846
Shares

–७२ करोड भित्रियो

काठमाडौं ।


चलू आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोजसम्म विदेश पढ्न जानेले ३२ अर्ब १७ करोड रुपियाँ लगेका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार तीन महिना अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड रुपियाँ भित्र्याएका छन् ।


अन्य काममा ७ अर्ब २६ करोड रुपियाँ बाहिरिएको छ । व्यवसाय गर्ने उद्देश्यले हुने भ्रमणलगायतमा भने २२ अर्ब ५१ करोड रुपियाँ बाहिरिएको छ । यसरी यस्ता वैदेशिक यात्राको क्रममा नेपालबाट ५५ अर्ब रुपियाँ बाहिँरिदा १७ अर्बमात्रै भित्रिएको छ । विदेश पढ्न जाने विद्यार्थीले पढाइ शुल्कबापत उक्त रकम विदेश लगेका हुन् ।

पछिल्लो समय आफ्नो छोराछोरीसँगै विदेश बस्न रुचाउने आमाबाबुले नेपालबाट सम्पत्ति बिक्री गरी विदेशमै बसोबास गर्नेसम्मको व्यवस्था गर्ने गरेका छन् । सबैभन्दा बढी जापान जाने विद्यार्थीले भाषा शिक्षण गर्न रकम लैजाने गरेका छन् । तथ्याङ्कअनुसार तीन महिनामा करिब ३ हजार ४ सय जनाले अमेरिका अध्ययन गर्न नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । तथ्याङ्कअनुसार हालसम्म ५६ देशमा अध्ययन अनुमतिपत्र उपलब्ध गराएको छ ।

विदेश अध्ययन गर्न करिब २८ हजार विद्यार्थीले ५६ देशमा अध्ययनका लागि मन्त्रालयबाट अध्ययन अनुमति लिएका हुन् । गत वर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए । साउनदेखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन् । जापानमा जापानिज भाषा अध्ययन गर्न भन्दै ९ हजार ९४ जनाले भर्ना गरेका छन् । मन्त्रालयका अनुसार जापान अध्ययन गर्न जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुकमा कडाइ गरेका कारण जापानलगायत युरोपियन मुलुक जान थालेका छन् । पछिल्लो तीन महिनामा जापानमा भाषा शिक्षणका लागि करिब १० हजार जनाले एनओसी लिएका छन् । वैदेशिक अध्ययनका लागि ७० विषयमा २७ हजार ४ सय २३ जनाले एनओसी लिन आवेदन दिएका थिए ।

कम्प्युटर साइन्समा १ हजार, विज्ञानमा १ हजार ५ सय ९, इन्फरमेसन टेक्नोलोजीमा १ हजार ५५, स्वास्थ्यमा १ हजार १ सय ४२, इन्जिनियरिङमा १ हजार १ सय ३९ जनाले एनओसी लिन आवेदन दिएका थिए । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार बिजनेसमा १ हजार ८ सय ६९, म्यानेजमेन्टमा ६ हजार ८ सय २९, एमडीएमएसमा ५ सय ८, विज्ञान तथा प्रविधिमा ८ सय २७ जनाले आवेदन दिएका थिए ।


साउनदेखि असोजसम्म बेलायत अध्ययनका लागि ५ हजार ४ सय ५३ जनाले एनओसी लिएका हुन् । मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न जाने गत वर्षको तुलनामा बढी छन् । त्यस्तै, अमेरिकामा ३ हजार ६४, अस्ट्रेलियामा २ हजार २ सय ६६ छ ।

क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा ९ सय ११, भारतका लागि १ हजार ४ सय ४७ र चीनमा अध्ययन गर्न ३ सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ । युरोपियन मुलुक स्वीजरल्यान्डका लागि १ सय १६, यूएईमा अध्ययन गर्न ६ सय ७१ जनाले एनओसी पाएका छन् ।


मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार थाइल्यान्ड १ सय १६, दक्षिण कोरियामा ९ सय ९४, कतारमा ३९, माल्टा १ सय ९५, जर्मनी ३ सय ३०, फ्रान्स ५ सय १९, फिनल्यान्ड २ सय ३६, डेनमार्क ३ सय १८ साइप्रसमा अध्ययन गर्न १ सय १२ जनाले एनओसी लिएका छन् । १४ देशमा १–१ जनाले मात्र अध्ययनका लागि आवेदन दिएका छन् ।