जोन्टी रोड्सको नेपाली क्रिकेटमा आगमन

3.57k
Shares

काठमाडौं ।

दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाल आएका छन् । जोन्टी आगामी हुने प्रतियोगिता एनपीएलमा आकर्षणको केन्द्रविन्दु हुनेमा कुनै शंका हुनेछैन ।


जोन्टीलाई आबद्ध गरेपछि नै पोखरा एभेन्जर्स एनपीएलको सबैभन्दा महँगो टिम समेत बनेको छ । तर, जोन्टीको भुमिका ब्याटर वा फिल्डरका रूपमा भने हुनेछैन । उनको भुमिका यस प्रतियोगितामा मेन्टर र प्रमृुख सल्लाहकारको रूपमा हुनेछ ।
जोन्टी नेपालमा यही कार्तिक २२ गते आएका हुन् । उनी पहिले पोखरा विमानस्थलमा ओर्लेका थिए । त्यहाँ उनलाई पोखरा एभेन्जर्स टिमले स्वागत गर्दै ¥याली समेत गरेका थिए । उनले पोखरा एभेन्जर्सको जर्सी मुस्ताङको लोमान्थाङमा सार्वजनिक समेत गरे ।


जोन्टी सोही दिन सोल्टी होटलमा आयोजित कार्यक्रममा देखा परे । उनले पोखरा एभेन्जर्सले गरेको उक्त कार्यक्रममा नेपालको क्रिकेटको उदयका लागि योगदान हुने बताए । उनले बताए-‘पोखरामा आबद्ध हुँदा उत्साहित छु । मेरो अनुभव र ज्ञानले पोखरा मात्र होइन नेपालको क्रिकेटको उदयका लागि योगदान हुनेछ । नेपालले के गर्छ हेर्न आतुर छ ।’
उनले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको भन्दै बताए-‘नेपाली क्रिकेटमा धेरै अवसर छ । नेपाली क्रिकेटको भविष्य उज्जवल देखिरहेको छु । राम्रो खेलकुद पूर्वाधार, खेलको विकास र अन्तर्राष्ट्रिय स्तरको खेलाडी विकास होस् भन्ने मेरो चाहना हो ।’
जोन्टीको आगमनले नेपाली क्रिकेटमा तरंग पनि पैदा गरेको छ । अहिले सम्म नेपालमा आएकोमा जोन्टी सबैभन्दा उत्कृष्ट र विश्वस्तरीय क्रिकेटर हुन् । यसअघि नेपालमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी, भारतका भीभीएस लक्ष्मण आएका थिए ।
जोन्टीले दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टिमका लागि १९९२ देखि २००३ सम्म खेलेका थिए । जोन्टी विश्व क्रिकेटमा सबैभन्दा उत्कृष्ट फिल्डरका रूपमा परिचित छन् । उनले चितुवाले शिकार गरे झैं उडेर क्याच समाउने गर्थे । यसैले उनको तुलना चितुवासँग हुने गर्छ । उनको सामु बल गएपछि विश्वकै उत्कृष्ट ब्याटर भन्नेहरूले पनि एक रनका लागि दौडने साहस गर्र्दैनथियो ।
जोन्टी रोड्सबारे तथ्यः
—५२ टेस्ट खेलमा २,५३२ रन बनाएको
—टेस्टमा ३ शतक र १७ अर्धशतक प्रहार गरेको
—टेस्टमा ३४ र एकदिवसीयमा १३४ क्याच लिएको
—२४५ एकदिवसीय खेलमा ५,९३५ रन बनाएको
—एकदिवसीयमा २ शतक र ३३ अर्धशतक प्रहार गरेको