कल्पदेखि कल्पतक–२

0
Shares

राजा महेन्द्रको पालासम्म नेपालमा सिकारलाई सकारात्मक दृष्टिकोणले हेरिने गरिन्थ्यो । सिकारमा यति ठूलो बाघ मारियो भन्ने सुन्दा पनि बिस्मात हुँदैनथ्यो र धर्म–पापबारे ध्यान जाँदैनथ्यो ।

हाल वन्यजन्तु संरक्षण नियम चल्दा पनि ठिक्कै लाग्दछ र नराम्रो सोचिन्न । देशले ऐतिहासिक एवं चिरस्मरणीय नीतिनियम, ऐनकानुन लागू गर्नुपूर्व त्यसको औचित्य र उपादेयताको साथै देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको समेत विचार गरी भौगोलिक बनावट, मानसिक सोच र धारणा, संस्कृति, सभ्यता, संस्कार, परम्परामा समेत विशेष दृष्टि लगाई निष्कर्ष र निचोडमा पुग्नु आवश्यक छ ।

अन्यथा यसले गर्दा दुःखद तथा अनिष्टकारी परिणाम भोग्न सकिन्छ । जस्तै– कतिपय देशमा छालाजन्य वस्तु प्रतिबन्धित रहे तापनि सुडानमा खुलेआम छ । धार्मिक एवं राष्ट्रिय जनावरको नाताले हामीकहाँ गाई मार्न र खान वर्जित छ भने धेरै पश्चिमी देशमा कुनै रोकटोक छैन ।

अब धर्मलाई धेरै चलायमान नगरी द्वापरयुग अर्थात् महाभारत कालतिरै छिरौँ । महाभारतको युद्धमा पनि असंख्य धनजनको नाश र हताहत भएको वर्णन एवं विवेचनालाई हामीले कदापि नकार्न त सक्दैनौँ तर श्रीकृष्णको परमधामपश्चात् कलियुगको प्रारम्भदेखि वर्तमानसम्मको कुरा हाम्रा सन्तान, दरसन्तानले भोगभाग गर्दै यस अवस्थामा आइपुगेको भने अवश्य हो ।
कलियुगमै भएको प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धले हामीलाई पीडित एवं दुखित बनाएकै छ ।

प्रथम विश्वयुद्धमा पनि करोडौं मानिस हताहत भएको आँकलन गरिएको थियो भने दोस्रो विश्वयुद्धमा अनगिन्ती लासहरू गिरेको र घाइते भएको त पक्कै हो । अझ अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको बमले ध्वस्त अनेकौँ संरचना र मानिसको संख्यासमेत लाखौँमा गनिन्छ । खोतल्ने हो भने यस दुर्घटनाबाट बाँच्न सफल यदाकदा मानिस अझै नभेटिएलान् भन्न सकिँदैन ।

तसर्थ हत्या, हिंसा, मारकाटको स्थितिलाई बाध्यात्मक परिस्थितिमा बाहेक असल र राम्रो पक्षको रूपमा लिनुहुन्न भन्ने मेरो मान्यता रहेको छ । वैचारिक असन्तुष्टि, मनोमालिन्य, करकलह, विमति भएमा सभा, बैठक, जुलुस, हडताल, धर्ना, अनशन, सत्याग्रह, कालोपट्टी आदि कार्यक्रमहरु आयोजना गरी समस्या हल वा समाधान गर्नुपर्ने मेरो ठहर रहेको छ । कुनै हालतमा आगजनी, बलात्कार, धम्की, तोडफोड, मारकाट, हत्या, हिंसाको स्थिति अवलम्बन गर्नुहुँदैन भन्ने मेरो दृढ विश्वास र संकल्प रहेको छ ।

कलियुग सत्य, त्रेता, द्वापर तीनै युगबाट खारिएको वा परिष्कृत युग हो । कलियुग विज्ञान, प्रविधि, ज्ञान, गुण, बुद्धि, विवेक, सोच, समझ, स्वभावद्वारा ढकमक्क फुलेको सम्पन्न, सुसज्जित र सुशोभित युग हो । यो चार युगमध्ये श्रेष्ठतम युग हो । यो वैचारिक मञ्चनद्वारा प्रस्फुरित एवं परिष्कृत चरम, प्रचुर, भरपूर स्वतन्त्रताको उपयोग र उपभोग गर्ने अति विकसित युग हो । तर्क, वितर्क, अन्तरक्रिया, गोष्ठी, सरसल्लाह, समर्थन, खण्डन, प्रशंसा, आलोचना, मतभेद, मतमतान्तर, सभा, सम्मेलन, मन्तव्य, राय, सुझाव, अभिव्यक्ति, धारणा आदिद्वारा खारिएको युग हो ।

अन्य युगमा भन्दा यसमा विज्ञान र प्रविधिको द्रुततर विकास भएको छ । यसैको फलस्वरूप चन्द्रमामा मानिस अवतरण र मंगल ग्रहमा यान प्रक्षेपण गरी दृष्टान्त प्रस्तुत गर्न सफल युग हो । छोटो समयमै विश्व परिक्रमा गराई विश्व नै एक परिवारको धारणा जगाउन सफल युग हो । तर मानिसको बुद्धि, विवेक र विचारमा यति उदारता, खुलापन, स्वतन्त्रता परिमार्जन एवं परिष्कृत भई परिपक्वता छाएको छ कि सनातन धर्म, संस्कृति, सभ्यता, संस्कार, चलनचल्ती, रीतिरिवाज जातभात, नीतिनियममै विकृति, विमति, विसङ्गति, विग्रह, विघ्नबाधा पैदा भई धर्म नै ढलपल र ढलमल हुने भय र आशङ्का उत्पन्न भएको छ ।

आफ्नै देशमा घटित राजदरबार हत्याकाण्डले राजसंस्था ढल्नमा मलजल थपेको छ भने तारानाथ रानाभाटको अविवेकी शब्द ‘भटटट’ बैठकमै उच्चारण हुनुले पनि झन् सन्देह, शङ्का, उप–शङ्का एवं षड्यन्त्रको ढोका उघारेकै छ । जब कि राजदरबार हत्याकाण्डका कतिपय सदस्य जिउँका तिउँ यस धर्तीमै मौजुद छन् । एसएलसी बोर्ड फस्ट हासिल पूर्वप्रधानमन्त्रीसमेत यस मामिलामा चुक्नुभई वा असमर्थ हुनुभई गज्याङमज्याङ भाषा प्रयोग गर्नुभएको छ । यदि सत्य अटल र अचुक भए प्रतिफलं त इहलोकमा नभए परलोकमा भए पनि भोग्नुपर्छ भन्ने व्याप्त धारणासहित यस किस्सालाई विसर्जन गर्दै कलियुगतर्फै उन्मुख हुन्छु ।

पौराणिक मूल्य–मान्यताअनुसार हामी कलियुगतर्फ थप पाइला चाल्दै छौँ । परिस्थितिलाई नियाल्दा विश्वयुद्ध आमन्त्रण गर्ला कि भन्ने सङ्कोच, भय र डर पक्कै छ । रूस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध यसका पूर्वाधार हुन् कि भन्ने भावना मानिसमा जागेकै छ । यता रूस पनि परमाणु बम, मिसाइल, विषाक्त तथा रासायनिक हातहतियारले सुसज्जित छ भने युक्रेनको सहायतामा उद्यत् अमेरिका त विशिष्ट स्थानमै रहेको छ । अनि इजरायललाई अमेरिकाको साथ छ भने हमासलाई सघाउन इरान पनि परमाणु बमले सुसज्जित भएको सुनिन्छ । साँच्चिकै तेस्रो विश्वयुद्ध शुरु भयो भने कुनै पनि देश तटस्थ बस्न सक्दैनन् र कसैको पक्षमा उभिन वा होमिन बाध्य र विवश हुन्छन् नै ।

तत्पश्चात् विशाल जनघनत्वसहित परमाणु बमले सुसज्जित देश चीन पनि रूसतिरै मुन्टो फर्काउला कि भन्ने छाँटकाँट देखिन्छ । दोस्रो जनघनत्वमा रहेको परमाणु बमले सजित देश भारत र अर्को देश पाकिस्तान पनि कसैको पक्षमा लाग्न बाध्य हुनेछ । अनि तेस्रो विश्वयुद्ध शुरु हुन के बेर ? क्षणभरमै सर्वनाश र सखाप ! हाहाकार, विध्वंश र विनाश निम्तिन आइतवार पर्खनुपर्दैन । अन्य घोषित वा अघोषित परमाणु बम, मिसाइल, रासायनिक हातहतियारले भरिपूर्ण देश बेलायत, फ्रान्स, जर्मनी, कोरिया, इटाली आदिले पनि कुनै न कुनै पक्षको साथमा उभिने त स्वतः सिद्ध छ ।


पृथ्वी नै ध्वस्त गर्न सक्ने परमाणु बमहरू विकसित देशहरूसँग रहेको तथ्य त प्रयोग भई प्रचारमा आइसकेको कुरा जगजाहेर छ । तर चाँडै विश्वयुद्ध निम्तिन्छ भनेर ठोकुवा गर्नुचाहिँ बुद्धिमत्तापूर्ण देखिँंदैन । युद्ध भयो भने कुनै पनि देश सर्वनाश र सत्यनाशबाट अछुतो हुँदैन भनेर कलियुगका टाठाबाठा मानिसहरू भलिभाँती परिचित हुनुको साथै सृष्टिको संरचनामै खलल पर्नेतर्फ समेत सजग र सचेत छन् ।


मानिसको बुद्धि, विवेक, सोचविचार ज्ञान, विज्ञानलाई संकुचित एवं साँघुरो वृत्तभित्र कुण्ठित वा कैद गरेर राख्नुहुँदैन भन्ने मेरो अभिप्राय रहेको छ । यसलाई स्वच्छन्द र स्वतन्त्ररूपमा विचरण गर्न दिएमा ज्ञान, विज्ञान र प्रविधि अझ परिमार्जन र परिष्कृत हुनेमा कल्पना गर्न सकिन्छ तर स्वतन्त्रताको नाममा घैँटो नै भरेर पानी छताछुल्ल हुने अवस्था आइपुग्यो भने त गम्भीर भएर सोच्नुपर्ने अवस्था आइपर्छ ।


यसै परिप्रेक्ष्यमा मेरो जन्मस्थललाई नियाल्दा काठमाडौँको हाल १२ वडामा अवस्थित यो ‘ब्रह्मटोल’ अति कम विकसित क्षेत्रमा परेको स्थल हो । पहिले यो ४ वडामा पर्दथ्यो । अधिकांश ज्यापुहरूको बस्ती र बाहुल्यता रहेको यस टोलका धेरैजसो बासिन्दा अनपढ नै थिए । हामी गुभाजु (गुर्जु) अर्थात् वज्राचार्य खलकको नाताले अलि शिक्षित भएको, पूजापाठको कामकाजसमेत गर्ने भएकाले बेलाबेलामा गुरुबा भनी सागपात, तरकारी निःशुल्क दिन ल्याउने गरिन्थ्यो । सित्तैमा लिन नहुने भनी पाहुनालाई खुवाइ–पियाइ गर्दा उनीहरु भाँडावर्तन आफैँ माझेर जान्थे । हामीलाई माझ्न दिँदा ‘पाप लाग्छ’ भन्ने भावना जागृत गराइएको थियो । बाटोमा हिँड्दा जेठो र आफूभन्दा ठूलाले समेत ‘गुरु बा ढोगेँ’ भनी टाउको निहुराउँदा लाजको अनुभूति हुन्थ्यो । अद्यापि यो प्रथा निर्मूल नभई अवशेष बाँकी छ ।
(क्रमशः मंगलबार)