स्मार्ट फोनमार्फत सवारी अनुमतिपत्र जाँच

४ सय ८ वटा स्मार्ट फोन हस्तान्तरण

5.45k
Shares

काठमाडौं ।


ट्राफिक प्रहरीले स्मार्ट फोनमार्फत डिजिटल सवारी अनुमतिपत्र जाँच गर्ने कार्य व्यापक हुँदै गएको छ । वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आफैंले खरिद गरी ट्राफिक प्रहरीलाई चरणबद्ध रूपमा स्मार्ट फोन प्रदान गरेसँगै सोको प्रयोग क्रमशः बढ्दै गएको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर वा क्यूआरकोड भएमा त्यहीँबाट फोनमार्फत लाइसेन्स भए नभएको जाँच हुन्छ । नागरिक एपमा रहेको क्यूआरसहितको डिजिटल सवारी चालक अनुमतिपत्र रिड गर्न सक्ने छ । ट्राफिक प्रहरीका अनुसार अहिले काठमाडौं उपत्यकामा ५ सयवटा स्मार्ट फोनमार्फत डिजिटल सवारीचालक अनुमतिपत्र जाँच गर्ने कार्य भइरहेको छ ।

गत असोज १८ गते शुक्रवार ट्राफिक प्रहरीलाई १ सय ८ थान स्मार्ट फोन प्रदान गरेको वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत शुक्रवार फेरि ४ सय ८ थान मोबाइल नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । मन्त्रालयले ललितपुरमा आयोजना गरेको एक समारोहबीच वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई ४ सय ८ वटा स्मार्ट फोन हस्तान्तरण गर्नुभएको थियो ।


सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा स्मार्ट फोन उपयोगी सिद्ध रहेको जनाउँदै ट्राफिक प्रहरीले त्यसको प्रयोगलाई बढाउँदै लगेको स्थितिमा मन्त्रालयले स्मार्ट फोन हस्तान्तरणको कार्यलाई प्राथमिकतामा राख्दै आएको मन्त्री प्रेमभक्त महर्जनले बताउनुभयो । यसले ट्राफिक प्रहरीको कामकारबाहीलाई सूचना प्रविधि बनाउन सहयोग पुग्ने मन्त्री महर्जनको भनाइ रहेको छ ।
‘ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाका लागि नियमित रूपमा डिजिटल सवारी चालक अनुमतिपत्र जाँचका लागि जम्मा १ हजार स्मार्ट फोन चाहिन्छ ।

त्यसै गरी वागमती प्रदेशका लागि ३ हजार ५ सय स्मार्ट फोनको आवश्यकता रहेको छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर क्रमशः स्मार्ट उपलब्ध गराउँदै जाने योजना रहेको छ’ –मन्त्री महर्जनले भन्नुभयो । काठमाडौं उपत्यकामा दैनिक १५ लाखको हाराहारीमा सवारी आवतजावत गर्ने गरेको छ । ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि ट्राफिकको जनशक्ति १ हजार ९ सय रहेको छ । वर्षमा ९ हजार सवारी दुर्घटना हुने गरेको छ भने त्यसमा २ सय जनाको ज्यान जाने गरेको छ ।

सडक अनुशासनसम्बन्धी जनचेतनाले वर्षेनी हुने सडक दुर्घटनाले १७ प्रतिशतमा कमी आएको र मृत्युमा ६ प्रतिशतले कमी आएको प्रहरीले जनाएको छ । ‘सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई स्मार्ट फोन अत्यन्त उपयोगी रहेको छ’ –प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सो अवसरमा भन्नुभयो । सो स्मार्ट फोनको प्रयोगले डिजिटल सवारी चालक अनुमतिपत्रको नियमन र डिजिटल प्रणालीबाट कामकारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

फोनमा रहने एपले अनलाइन र अफलाइन दुवै अवस्थामा काम गर्छ । ट्राफिक कारबाहीमा परे भौतिक कार्ड बुझाएर रसिद लिएर जाने परम्परागत पद्धति रहेको छ । पछि कार्ड दिन जाने र जरिवाना भुक्तानी गर्नुपर्ने अवस्था छ । यो स्थितिलाई बदलेर ट्राफिकले सोही चेक गरी जरिवाना भए अनलाइनबाट तिर्न मिल्ने सुविधा उपलब्ध गराउने छ ।

एकपटक कारबाहीमा परेको जरिवाना तिरेपछि मात्र दोस्रोपटक नियम उल्लंघन गर्दा नागरिक एपको क्यूआर देखिने छ । ‘अहिले स्मार्ट प्रविधिको जमाना हो । जरिवाना गर्नुप¥यो भने सबै सिस्टमले नै व्यवस्थापन गर्दछ’, प्रहरी महारीक्षक कुँवरले भन्नुभयो– ‘राष्ट्रिय परिचयपत्र र यातायात प्रणाली लिंक भएको अवस्थामा राष्ट्रिय परिचयपत्रबाट पनि सवारी चालक अनुमतिपत्र देखाउन सकिने छ । अब नागरिक एपकै लाइसेन्स देखाउन सकिने छ ।’