नेपाली फुटबलबारे पनि जानी राखौं

0
Shares

फुटबल खेललाई विश्वभरि लोकप्रिय खेल भनेर बुझिन्छ। फुटबलमा जस्तो अरू खेलमा त्यति दर्शक हुँदैनन्। फुटबल नेपालमा पनि धेरै लोकप्रिय रहेको छ। हालै साफ महिला च्याम्पियनसिपमा नेपालले खेलेका सबै खेलमा दर्शकको संख्या १५ हजारदेखि १८ हजारसम्म रहेको थियो। पुरुष फुटबलतर्फ त नेपाली दर्शकको बाक्लै उपस्थित हुन्छ। तर, अहिले महिला फुटबललाई समेत नेपाली दर्शकले माया गर्न थालेका छन्।

नेपाली फुटबलबारे केही जानकारी:

-नेपालमा फुटबलको शुरुआत सन् १९२१ तिर (विसं १९७८) भएको हो। राणा शासनमा भएको फुटबल खेल हेर्न दर्शकको चाप निकै हुने गथ्र्यो। नेपाली फुटबलको थालनी ठमेलका नारायण नरसिंह राणा र नक्सालका चन्द्रजंग थापाले गरेको भनिन्छ।

-त्यतिबेला मृगेन्द्र शमशेर निवास बबरमहल, महावीर निवास टंगाल दरबार, नरशमशेर निवास सिंहदरबार, रुद्रशमशेर निवास बहादुर भवन र ठमेलको नरसिंह क्याम्पमा खेलिने गरिन्थ्यो। ३० को दशकमा स्थानीय र दरबारका मान्छे सिंहदरबार, छाउनी, गौचरण, जावलाखेल र लैनचोरमा खेल्ने गर्थे।

-रानीपोखरी कर्नर टिम (आरसीटी) सबैभन्दा पुरानो क्लब हो। आरसीटीको स्थापना १९८९ सालमा भएको थियो। यसपछि १९९१ सालमा महावीर ११, एनआरटी ११, जावलाखेल ११ जस्ता टिम स्थापना भए।

-राजा त्रिभुवनले फुटबलको विकास गर्न २००४ सालमा उहाँको नाममा त्रिभुवन च्यालेन्ज शील्ड प्रतियोगिता शुभारम्भ गर्नुभएको थियो। यो नै नेपालमा पहिलो व्यावसायिक प्रतियोगिता थियो। पहिलो स्थान नरेश ११ र दोस्रो स्थान एनआरटी टिम रहेका थिए।

-२००४ सालमै राणा प्रधानमन्त्री पद्मशमशेर जबराले रामजानकी कप आयोजना गर्नुभएको थियो। जुन खेलको विजेता प्रहरी बल टिम भएको थियो।

-नेपालमा २००७ मा प्रजातन्त्र आएपछि नरशमशेरको अध्यक्षतामा २००८ सालमा नेपाल फुटबल संघ स्थापना गरिएको थियो।

-२००८ सालमा शहीदको सम्झनामा शहीद स्मारक लिग प्रतियोगिता आयोजना गरियो। जसमा प्रहरी बलले पहिलो स्थान हासिल गर्दा एनआरटी टिम दोस्रो भयो।

-हाल शहीद स्मारक ए, बी र सी डिभिजन लिग संचालन भइरहेका छन्। २०११ सालदेखि आधिकारिक रूपमा शुरू भएको शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक विजेता टिम मनाङमस्र्याङ्दी क्लब हो।

-मनाङ सर्वाधिक ८ पटक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ। यसअघि रानीपोखरी कर्नर टिम (आरसीटी) सर्वाधिक विजेता टिम थियो। आरसीटीले ६ पटक लिग उपाधि उचालेको छ।

-त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०१६ सालदेखि लगातार फुटबल आयोजना भएको हो। उक्त सालमा राजा ११ र प्रधानमन्त्री ११ बीच च्यारिटी खेल आयोजना भएको थियो। जसमा राजाको टिमबाट तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्रीको टिमबाट तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले खेलेका थिए ।

-राजा महेन्द्रको नाममा २०१८ सालमा महेन्द्र गोल्डकप फुटबल प्रतियोगिता विराटनगरमा आयोजना गरिएको थियो।

-राजा वीरेन्द्रको शुभजन्मोत्सवको उपलक्ष्यमा २०३१ सालदेखि शुभजन्मोत्सव कप थालनी गरिएको थियो। नेपालमा गणतन्त्र आएपछि भने राजाहरूले थालनी गरेका त्रिभुवन च्यालेन्ज शील्ड, महेन्द्र गोल्डकप र शुभजन्मोत्सव प्रतियोगिता आयोजना गर्न बन्द भयो।

-२०३९ सालतिर नेपालले २३ औं एसियाली युवा फुटबल प्रतियोगिता आयोजना गरेको थियो। यो नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, साउदी अरेबिया, ओमान, बहराइन, यमन (एआर), कुवेत, यूएई, यमन (पीडीआर), पाकिस्तान र सिरियाले सहभागिता जनाएका थिए।

-यसपछि नेपालले विश्वकप, एसियन फुटबलजस्ता प्रतियोगिताका छनोट खेल आयोजना गरिसकेको छ।

-नेपालमा २०६० सालमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।

-नेपाल विश्व फुटबल महासंघ (फिफा) को सदस्य २०२७ सालमा बनेको थियो।

-नेपालको पुरुष फुटबलतर्फ राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्नेमा तीन खेलाडी निराजन रायमाझी, हरि खड्का र अन्जन विष्टले १३–१३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । निराजन र हरिले संन्यास लिइसकेका छन् ।

-महिला खेलाडी सावित्रा भण्डारी पुरुष खेलाडीभन्दा निकै अगाडि छिन्। सावित्राले ४९ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। सावित्रा नेपालमा मात्रै होइन, दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला खेलाडी हुन्।