पकिस्तानका बारेमा एउटा भनाइ छ– हरेक देशको लागि सेना हुन्छ तर सेनाको लागि एउटा देश छ, त्यो हो पाकिस्तान । धेरै देशमा नेताहरु छन् र उनीहरु जनताको लागि हुन्छन् ।
अब नेपालमा चाहिँ राजनीति छ र नेताहरु छन्, नेपाल देश जनता र सेनाको लागि हैन बरु राजनीतिज्ञहरुको लागि हो भने कसो होला ? राजनीतिमा धेरै कार्य सहज पनि छन् । जसरी पनि, जे गरेर पनि, सत्तामा जाने कार्य नेपालमा हुन्छ । अघिल्लो दिनसम्म दुस्मन र देशको दुर्गतिको कारण भनिएको व्यक्ति र दल अर्को दिनमा सत्ता साझेदार बन्नासाथ साह्रै राम्रो हुन्छ ।
देशमा अरुलाई नराम्रो भन्ने कुन दलले अर्को नराम्रो भनेको दलसँग मिलेर सरकार चलाएको छैन र ? एउटासम्म उदाहरण छ ? सबैभन्दा मज्जा त त्यति बेला आउँछ, जति बेला सत्तामा जानको लागि हामी कम्युनिस्टहरु एक हुनुपर्छ र जनताको पनि चाहना त्यही हो भनिन्छ ।
अर्को केही समयपछि सरकार ढल्छ तब ऊ, त्यो पार्टी त कम्युनिस्ट नै हैन भन्न थालिन्छ । जनताको लागि कहिले हामी कम्युनिस्टहरु मिल्नुपर्छ भन्ने, खाने, पचाउने अनि नमिल्ने अवस्था आएपछि त्यो कम्युनिस्ट नै हैन र एकले अर्कोलाई जनतालाई झुक्याएको हो भन्ने आरोप लगाउने र यो भनाइ दोहोरिरहने ? यो जनताको नाममा राजनीति हो कि नेताहरुलाई जे गरे पनि छुट हुने राजनीति हो ?
सामान्य जनताको भाषामा भन्दा ठूला दलहरुका हली, गोठालाहरुले धेरै ताबेदारी र विश्वास पात्र बन्न सकेमा मन्त्री, मनोनीत ठूला पदहरु, राजदूत, सल्लाहकार, महानिर्देशक आदि धेरै पदहरु छन् । ती पदहरु धेरै छन्, त्यसका आकांक्षीहरु त कति धेरै छन् कति । ती आकांक्षीहरुमा पढेलेखेका, पीएचडी गरेका, प्राध्यापक भएका, अधिवक्ता वा त्यसमा वरिष्ठ भएका, विदेशबाट धेरै अध्ययन गरेकादेखि कैयौँ प्रमाणपत्रहरु पाएका मानिसहरु अर्थात् विद्वान्हरु दलहरुका हनुमान बनेर लागेका छन् । केही सधैँ हनुमानगिरी गरिरहेका छन् ।
कोही चुनावको बेलामा मात्र सटिक हनुमान बन्छन् । जनता झुक्किन बानी नै परेका छन् । त्यसैले यो देश नेताहरुले राजनीति गर्नको लागि बनेको छ । पढेको विद्वान् वर्ग यस्तो रहेछ कि उनीहरुलाई इज्जत र रबाफको लागि पदको आवश्यकता पर्दो रहेछ, त्यसको लागि ऊ जता पनि लाग्न सक्दो रहेछ । पद पाउने आशामा गलत गरेर देश बिगार्नेहरुको पछि पनि लाग्दो रहेछ ।
देशमा सरकारवादी मुद्दा पनि चल्छ, तर धेरै गलत गर्नेहरुले मिलेर एउटा गल्ती प्रमाणित नभएकोलाई कानुनको दुरुपयोग गरेर लामो समयसम्म दुःख पनि दिन सक्छन् भन्ने उदाहरणसमेत नेपाल नै होला कि ? सरकारवादी मुद्दा यस्तो मुद्दा हो र आवश्यक पनि छ तर सरकारमा रहने धेरैले चाहेमा त्यो मुद्दाको दुरुपयोग गरेर मानिसलाई दुःख दिइरहन सक्छन् । दुःख पाउनेले पाइरहन सक्छ । एउटा मुद्दा सकियो, अर्को मुद्दा चलाएर दुःख दिने कार्यको निरन्तरता दिन सकिन्छ ।
तर पनि कानुन बाध्य छ, अदालत र न्यायाधीशहरु बाध्य छन् । उनीहरुले कानुनको दुरुपयोग सहनुपरेको छ । किनकि न्यायाधीशहरुसमक्ष मुद्दा निर्णयको लागि आउँदा नै धेरै समय बितेको हुन्छ, थुनिनेले धेरै दुःख पाइसकेको हुन्छ । त्यसको सटिक उपचार त पाँच वर्षमा आउने चुनाव नै हो र बाध्यता पनि हो, त्यो समयसम्म पर्खनुपर्छ । तैपनि ती मैला गल्तीहरुलाई सफा गर्न सजिलो छैन । बेइमानहरु विभिन्न गफका रंग लगाएर मैलोलाई कृत्रिम सफा गर्दछन् ।
चुनाव त अक्कल लगाउनेहरुले नक्कली गहना बेच्ने थलो पनि बन्दछ । के गर्ने ? चुनावको विकल्प झनै नराम्रो छ । राजालाई अधिकार दिने कि, हामीले यति मा¥यौँ मत दिए मार्नेछैनौँ वा शान्ति दिनेछौँ भन्नेलाई मत दिने कि ? त्यसैले केही भाटहरु, भद्दाहरु, पदको लागि जनतालाई अलमल्याउनेहरुबाट मतको लागि पैसा कुम्ल्याउने तर जनतालाई भ्रम दिनेहरुलाई मत दिनबाट बच्न सके भने र उनीहरुको पैसा, खाना, रक्सी मासु आदि खाएर पनि मत भ्रष्टाचारमा लिप्न नहुने वा नभएका लोकतन्त्रका पक्षधरहरुलाई दिन सके भने केही आशा छ ।
अन्यथा गलतलाई मत दिनेहरुले कि मत दिन नजानुहोस्, कि मत दिई हात थिचेर एनजीओमा जानुहोस् र हातको निःशुल्क औषधि गर्ने व्यवस्थाको लागि केहीलाई जागिर दिनुहोस् । विदेशीहरुले तपाईंको सकृति परम्परासँग पैसा र सेवा साटेर तपाईंको केही दुःख निवारणको लागि पेनकिलर दिनेछन् । अन्यथा के विकल्प छ ? राजनीतिक जीवनको बलियो हक मतलाई नै सदुपयोग गर्न नसक्नु भनेको देशको मृत्युपत्रमा हस्ताक्षर गर्नुबराबर हो ।
जनसांख्यिकी, विदेशमा बस्न जाने, विविध कारणले देश उजाड बन्ने अवस्था भएपछि पनि सिमाना र नामले मात्र देश बुलन्द बन्छ र ? त्यसैले मतलाई मनले बाँधेर ठीक ठाउँमा दिऔँ । पुरानामध्ये नाम चलेका र भ्रष्टाचारमा संलग्न नभएका उम्मेदवारहरुलाई प्रतिपक्षमा बस्नको लागि सम्म मत दिने कार्य अलग हो ।
संघर्ष, हत्या, अनगिन्ती आशाहरुको लागि धेरै आशाहरुको बलिदान, सम्पत्ति तहसनहस तर परिणाममा नेपालीहरु देशमा बस्ने वातावरण नभएकोले विदेश जाने लर्को, यही हो अहिलेको समसामयिक अवस्था । बलिदान भएका आशा फर्केर नआउने र दिएका आशाहरु कहिल्यै पूरा नहुने तर हामी उनीहरुकै पछि लाग्ने अवस्था र बाध्यता वा बुद्धुपन हाम्रा सटिक परिस्थिति हुन् ।
नेपालीहरुका ती आशाहरु कहाँ गए ? के सबै आन्दोलन, हत्या, बलिदानहरु दलका नेताहरुलाई ठूला बनाउन, भ्रष्टाचार गर्न, पद र पैसाको लागि विदेशीसँग झुक्नको लागि नै थियो त ? योभन्दा ठूलो दुःख के होला ? कतिपयलाई अहिले पनि थाहा छ कि धेरै नेताहरुको गलत कार्यले देशलाई दुर्दसामा लगेको हो तर पनि गुजाराको लागि उनीहरुको पछि लाग्नुपरेको छ, या लोभको लागि पछि लाग्ने कार्य भएको छ ।
नेताहरुले गरेका गल्तीहरुले बेकारमा जनधनको क्षति भए पनि, भ्रष्टाचार गरेर देशलाई बरबात गरे पनि उनीहरुले राम्रो गरेका हुन् भनेर उनीहरुको पक्षमा पैरवी गर्नेहरुको पनि जमात छ । के यही हो नियति ? हजारौँ उदाहरणहरुमा एउटा मात्र उदाहरण दिँदा एउटा पाउडर दूध उद्योगसमेत राम्रोसँग चल्न सकेको छैन । किसानहरुको उत्पादित दूध धेरै भएकोले व्यवस्थापन गर्न कठिन भएको छ । दूधलाई दूध उद्योगमा लग्दा पाउडर दूध बिक्री नहुनाले किन्न सक्दैनौँ भन्ने गरेको र उद्योगमा पाउडर दूध बिक्री नभएर बिग्रने अवस्थामा पुगेको देख्न सकिन्छ ।
हल्लैहल्लाको यो देशमा सत्य हो कि होइन, थाहा छैन तर नियोजित किसिमले दूध सडकमा पोख्न लगाएर किसानमा दूध उत्पादनमा निराशा ल्याउने र नेपालमा दूध उत्पादन कम गराउने षड्यन्त्र हो, त्यसपछि विदेशबाट दूध ल्याउने बाटो खोल्न सकिन्छ भनेर गरिएको कार्य हो भन्ने पनि गरिएको छ । कता कसको विश्वास गर्ने ? देशमा पउडर दूध उद्योगको त्यो हाल छ । बजारमा विदेशी पाउडर दूधको एकाधिकार छ । बजार व्यवस्थापन छैन ।
नेपाली पाउडर दूध जतिमा पाइन सक्छ, त्योभन्दा कम्तीमा पचास प्रतिशत महँगो पाउडर दूध बजारमा पाइन्छ । यो कस्तो विडम्बना हो ? तरकारीहरु मात्र हैन, कतिपय पहाडी जिल्लाका बस्तीहरुमा उत्पादित चामल बिक्री गर्न गाह्रो छ तर विदेश प्याक गरिएको चामल राम्रोसँग बिक्री भएको देखिन्छ । हामी कता जाँदै छौं ? शायद बाहिर रुमाले तर भित्र गुन्द्रुक उमाले भनेको त्यही हो कि ? बाहिर राष्ट्रियता, विदेशीहरुको विरोध, छिमेकी विस्तारवाद, नेपाली एक हौं जस्ता रुमाले नारा लगाउने, हामीलाई मूर्ख बनाउने र भित्र विदेशीको दलाली भएको उनीहरुको व्यवहारबाट अनुमान गर्न सकिन्छ ।
कुनै एक नेतालाई अप्रमाणित वा प्रमाणित नै हुन गएमा पनि कम सजाय हुने खालको आरोपमा थुन्न हतार भएको छ । भ्रष्टाचार गर्ने, नेपालीलाई विदेशी शरणार्थी भनेर विदेश पठाउने, सरकारी जग्गाको दुरुपयोग गर्नेजस्ता अनगिन्ती गल्ती गर्नेहरुलाई सजायको दायरामा ल्याउने कुनै संकेत छैन । बरु गल्ती गरेर हालिमुहाली गर्नेहरुले गल्ती गर्ने अधिकार हाम्रो मात्र हो भनेजस्तो गरेर जनतामा राम्रो छाप रहेकालाई दुःख दिने काम भएको छ ।
यद्यपि यो कार्य दुःख दिनेहरुका लागि प्रत्युत्पादक नै भएको देखिएको छ । जनताले एकताबद्ध बन्ने अवसर पाएको जस्तो देखिएको छ । जनताले देश बिगार्नेलाई चिनेका तर विकल्प नभएकोले निराश भएकामा अब विकल्प देखिएकाले सकारात्मक बन्न खोजेका हुन् कि भन्ने संकेत हालको जनउभारको आधारमा पनि मान्न सकिन्छ । यो लोकतन्त्रप्रति नै जनताको अविश्वास हुनबाट रोक्ने अवसर पनि हो ।
हामीलाई थाहा छ, दलहरु र नेताको पछि लाग्नभन्दा देश र लोकतन्त्रको सकारात्मक प्रयोगबाट लोकतन्त्रमा जनविश्वास रहनु महत्वपूर्ण हुन जान्छ । देशमा जग्गा बाँझो राख्ने र नागरिकलाई विदेश पठाएर त्यहाँबाट आएको पैसाले उनीहरुका परिवारले विदेशी सामान, खाद्यान्नसमेत किन्न पर्ने र त्यही रेमिट्यान्सबाट देश चल्ने र विदेशी मुद्राको सञ्चय भएको अवस्थाले आर्थिक मेरुदण्ड सबल बनाउन प्रयास गर्ने कार्य कहिलेसम्म हुने हो ?
नेता, कार्यकर्ता, दलका विचारक, दलका विद्वान् भनिनेहरुले दलको दार्शनिक आदर्श, मेरो दल राम्रो, मेरो मात्र धर्म राम्रो भन्ने र देशमा भने जहिले पनि हरेक संघर्ष र आन्दोलनपछि अझै नराम्रो भौतिक र मानसिकताको विकास हुनाले तिनीहरुलाई बोक्ने र भोट दिनेहरुसमेतलाई भाट, गलतहरु र देशलाई बिगार्नेहरुलाई बोक्ने गधाहरु हौ, तिमीहरु पनि उत्तिकै बेइमान हो भन्ने अवस्था आएको छ । दलका नेताहरुको प्रशंसा गर्न बानी परेका एडिक्टहरु विद्वान् हुन् कि नेताहरुको गल्ती छोप्न प्रयास गर्ने रोबोट हुन् भन्ने चिन्न पनि कठिनाइ भएको छ ।
यो विचारले, यसरी, उसरी देश बनाउने भन्ने हनुमानहरुका गाथाहरुको परिणाम यही हो त ?
मान्छे मारेर चोकमा ठूलो काम गरेको गफ दिने, मानिसहरु विदेशमा गएर दुःख गरेर पैसा पठाएकोमा देशमा विदेशी पैसाको सञ्चितीको गफहरु धेरै छन् । गाउँ, बस्ती उजाड बनाएर क्रान्ति गर्नेहरु अझै सत्ता गुमेको भनेर आन्दोलन गर्ने भाषण गरिरहेका छन् ।
अब पनि हतियार बोकेर मानिसलाई त्रास दिने हो भने शहरहरु पनि खाली हुन थाल्नेछन्, देशको जनसंख्या तहसनहस हुनेछ । त्यसपछि कहाँबाट जनता ल्याएर शासन गर्न खोजिएको हो ? देशै अन्यथा हुने सम्भावनाको शुरुवात हुने त होइन ?
विचार त देश र समाजको हित एवं विकासको लागि, रोजगारी र आम्दानीको वृद्धि गर्नको लागि हुनुपर्नेमा त्यो आशा नै छैन ।
भन्न मन लाग्छ– हे ऐरुगैरु नथ्थु खैैरु हो, तिमीहरुका विचार र भाषणहरु त जनता ठग्ने माध्यम मात्र भए । बन्दाबन्दै भत्कने पुल बनेका छन्, कतिपय सडकहरु बनेको दिनमा नै पाप्रा जानेछन्, नचाहिने ठाउँमा अर्बौं खर्च भएका छन् । गरिबहरु बिरामी हुँदा सिटामोल नपाएर मरेका छन् र कतिपयहरु काम र माम नपाएर सके अन्यत्र नसके भारतमा भरियासम्म बन्न पनि पुगेका छन् ।
विदेशीले नेपालीको नाममा दिएका ऋणको दुरुपयोग गरिएको छ र कमिसन तथा भ्रष्टाचार भएका छन् । नेताहरु विदेशीको ऋण नेपालीको टाउकोमा थपेर विकास गरेको भन्दै त्यसमा पनि कमिसन लिएर नराम्रो काम गर्दै हामीलाई मूर्ख पनि बनाइरहेका छन् । सावधान !
(लेखक पौडेल वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया