स्थानीय तह उपनिर्वाचन : ४ सय ७ जनाको उम्मेदवारी

1.88k
Shares

काठमाडौं ।


यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार ४ सय ७ जना उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको दुईवटा पदबाहेक ४२ पदका लागि हुन लागिएको उपनिर्वाचनका लागि सो संख्यामा उम्मेदवारी परेको हो । निर्वाचन आयोगले उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको जनाएको छ ।

जिल्ला समन्वय समिति २, नगरपालिकाका मेयर र उपमेयर १–१, गाउँपालिका अध्यक्ष २, गाउँपालिकाका उपाध्यक्ष ४ र ३४ वडाअध्यक्ष गरी ४४ जनाका लागि हुन उपनिर्वाचन हुन लागिएको छ । जिल्ला समन्वय समितिको अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचन हुने स्थानीय तह र वडामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।

उपनिर्वाचनका लागि शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको थियो । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको थियो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयनपछि आज सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।


मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।