काठमाडौं ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो रहेको छ । दुवै देशका सेनाले एकले अर्कालाई अप्ठेरो परेका बेलामा सहयोग गर्दै आएको पाइन्छ । दुवै देशका सेनाबीच रहेको सौहार्दपूर्ण सम्बन्धका कारण नेपाल–भारतबीच राजनीतिक रूपमा बेमेलको अवस्थामा पनि सैन्य कूटनीतिले काम गरेको पाइन्छ ।
सदियौंदेखि नेपाल भारतबीच आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक सम्बन्धका कारण जनस्तरमा जस्तो सम्बन्ध छ दुई देशबीचका सेनाबीच पनि त्यस्तै सम्बन्ध रहेको छ । पछिल्लो समय भारतले नेपाली सेनाका लागि विभिन्न स्तरमा सहयोग पनि गर्दै आएको छ । सैन्य उपकरणलगायतका सहयोगमा भारतीय सेना अग्रभागमा रहँदै आएको छ ।
भारतीय स्थल सेनाध्यक्षमा नियुक्त भएपछि नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बिहीबार नेपाल आउँदै हुनुहुन्छ । पाँचदिने नेपाल भ्रमणको प्रमुख उद्देश्य भनेको राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने रहेको छ । दुई देशका सेना प्रमुखमा नियुक्त हुने सेनापति एकअर्का देशको सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिह्न ग्रहण गर्ने परम्परा रहेको छ ।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई ‘मानार्थ महारथी’को दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्पराअनुसार उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने सैनिक अधिकारीहरूले बताउँदै आएका छन् ।
यसै सन्दर्भमा नेपाली सेनाका पूर्वउपरथी हिमालय थापाले नेपाल र भारतबीच सैनिक सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । उहाँले यसको संवेदनशीलता र महत्व राजनीतिभन्दा पनि अलग रहेको बताउँदै दुई देशका सेनाबीचको सम्बन्धको इतिहास लामो रहेको बताउनुभयो ।
पहिलो र दोस्रो विश्व युद्धदेखि नै नेपाली युवाले गोर्खा सैनिकमा भर्ना भई योगदान गरेको इतिहासदेखि द्वन्द्वका हिसाबले चुनौती देखिएका ठाउँमा साहसिक र व्यावसायिक विश्वास आर्जन गरेका गोर्खा सैनिक खटाउँदै आएको उहाँले बताउनुभयो । विगतमा भारतीय सेनाले नेपाली सेनाको संगठन पुनःसंरचनामा सघाएदेखि नै दुई देशबीचको सैनिक सम्बन्ध प्रगाढ हुँदै आएको बताउँदै पूर्वउपरथी थापाले दुई संगठनबीच सम्बन्धमा कहिल्यै चिसोपन नआएको बताउनुभयो ।
भारतीय सेनाको प्राथमिकता ठूला र शक्तिशाली देश पर्ने भए तापनि नेपालको विकास र समृद्धि तथा नेपाली सैनिकको क्षमता अभिवृद्धिलाई भारतले उत्तिकै प्राथमिकतामा राखेको नयाँ दिल्लीस्थित सैनिक सहचारीको रूपमा काम गरी सक्नुभएका महासेनानी रामचन्द्र खत्रीले बताउनुभएको छ ।
दक्षिण एसियाकै पुरानो संगठन नेपाली सेना अन्तर्राष्ट्रिय स्तरमा जानकार, साहसिक, व्यावसायिक र अनुशासित भन्ने छिमेकीको बुझाइ रहेको उहाँले कुराकानीका क्रममा बताउनुभयो । भारतले हर तरहले नेपाली सेनालाई सहयोग गर्न तयार रहेको देखिनुले पनि सैनिक सम्बन्ध, ‘मिलिटरी डिप्लोमेसी’ वा सैनिक कूटनीतिक जुन भाषा प्रयोग गरे पनि प्रत्येक देशका सेनाको पहिलो कर्तव्य भनेको राष्ट्रिय हित तथा स्वाधीनताको संरक्षण र संवद्र्धन नै रहेको उहाँको बुझाइ छ ।
देशको प्रमुख राष्ट्रिय सुरक्षा अङ्ग सेनालाई परराष्ट्र नीति, सैनिक कूटनीति र राष्ट्रिय सुरक्षा नीतिले दिएको कार्य जिम्मेवारीलाई पूरा गर्ने मुख्य ध्येय हुने पनि उहाँले बताउनुभयो । नेपाल र भारतका फौजले सैनिक कूटनीतिका माध्यमबाट जुनसुकै समस्या र उठेका प्रश्न हल गर्न सकिन्छ भन्ने विगतका विभिन्न घटनाबाट पुष्टि भइसकेको पनि उहाँले बताउनुभयो ।
आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराउँदै आएको छ । नेपाली सेनालाई आवश्यक पर्ने सैन्य ट्याक्टिकल, अप्रेसनल र रणनीतिक तहका व्यावसायिक तालिमहरूमध्ये राष्ट्रिय प्रतिरक्षा तालिम (एनडीसी) मा भारतले उपलब्ध गराउने कोटामा नेपाललाई प्राथमिकता दिँदै आउनुले पनि दुई देशबीचको सेनाको सम्बन्ध कस्तो हो भन्ने उजागर गर्ने उहाँले प्रस्ट पार्नुभयो ।
नेपाल र भारतीय सेनाबीच गणस्तरमै नियमित एकअर्का देशमा हुँदै आएको ‘अभ्यास सूर्यकिरण’ले पछिल्ला वर्षमा सैनिक संगठनबीचको सम्बन्ध सुदृढ तुल्याउन कोशेढुङ्गाको काम गरेको उहाँले बताउनुभयो ।
सैनिक संगठनबीचको सहयोग आपसमा फलदायी
गौरवकुमार केसी
प्रवक्ता, नेपाली सेना
नेपाली सेनाका प्रधानसेनापति र भारतीय स्थल सेनाध्यक्षमा नियुक्ति भएपछि सेना प्रमुखका हैसियतले एकअर्काे देशको औपचारिक भ्रमण गर्ने पुरानो प्रचलन र संस्कृतिजस्तै बनेको छ । सोही सिलसिलामा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी यही मंसिर ५ गतेदेखि नेपाल भ्रमणमा आउन लाग्नुभएको छ ।
नेपाल र भारतबीच भ्रमणका क्रममा एकअर्का मुलुकले मानार्थ महारथी प्रदान गर्ने विशिष्टखाले परम्परा छ । यो प्रचलन अविछिन्न रूपमा चलिआएको छ । नेपाल र भारतबीच सैनिक सम्बन्धमात्र नभई समानखाले सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक अवस्थाले पनि जनस्तरमा समेत गहिरो र विशिष्ट सम्बन्ध छ । यसले एक–अर्काबीचमा सहयोग, सम्बन्ध र सम्पर्क बलियो तुल्याएको छ । दुवै राष्ट्रका सैनिक सैनिक संगठनबीच विभिन्न तहमा तालिम, अभ्यास र भ्रमण आदानप्रदान निरन्तर हुँदै आएका छन् ।
नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आई गरिँदै आइएको संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति तथा अनुभव र ज्ञान साटासाटमा योगदान पु¥याएको छ । अर्कातर्फ भारतीय सेनामा ठूलै संख्यामा नेपाली युवा कार्यरत रहनुले पनि जनस्तरमा समेत एकखाले आत्मीयता छ । यसले नेपाल र भारतबीच जनस्तरमा समेत विशिष्ट र माथिल्लो स्तरको सम्बन्ध कायम राख्न मलजल गरेको छ ।
सैनिक संगठनबीच हुने सहयोग, समन्वय, भ्रमण, तालिम, अभ्यास र अन्य गतिविधिले दुवै देशबीचको सम्बन्धलाई फलदायी तुल्याएको छ । प्राकृतिक विपत्ति र प्रकोपका समयमा तत्क्षणमै सहयोग प्राप्त भइरहेको छ ।
प्रतिक्रिया