उदयपुर ।
उदयपुरको २ नगरपालिकाको २ वटा वडामा हुने उप निर्वाचनमा वडाध्यक्ष पदमा त्रियुगा १२ बाट ९ जना र बेलका नगरपालिका ९ बाट आइतबार साँझ ५ बजेसम्ममा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्रियुगा नगरपालिकाको वडा नं १२ मा उमेदबारी दर्ता गराउन जाँदा राजनीतिक दलहरुले बाजा गाजासहित गएका थिए भने नाचगान गर्दै रमाइलो गरेका थिए ।
त्रियुगा नगरपालिकाको वडा नं १२ मा वडाध्यक्ष पदमा नादर्ता गराउनेहरुमा नेपाली कांग्रेसबाट इन्जिनियर सञ्जीव काफ्ले (मृत्यु भएका वडाध्यक्ष चुडाराज काफ्लेका छोरा), नेकपा एमाले बाट लक्ष्मीनारायण चौधरी,नेकपा माओवादी केन्द्र नवीन कुमार वान्तवा, रास्वपाबाट धु्रब कुमार पोखरेल,नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद सहनी मलाह, राप्रपाबाट लालबाबु साह, नेकपा एकीकृत समाजवादीबाट निर्मला चौधरी र स्वतन्त्रबाट बजरंग कुमार दासले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी बेलका नगरपालिका वडा नं ९को वडाध्यक्ष पदमा नेकाबाट नवराज खडका, नेकपा एमालेबाट मोहन खड्का, नेकपा माओवादी केन्द्रबाट भरत घिमिरे, रा स्वपा बाट तेजमान बिश्वकर्मा, जनता समाजबादी पार्टीबाट राम कुमार राई,राप्रपाबाट टिका प्रसाद फुयाल र मंगोल नेशनल अर्गनाइजेसनबाट सुरे तामाङले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । बेलका ९का वडाध्यक्ष पदम खड्काको मृत्यु भएको र त्रियुगा नपाको वडा नं १२ मा पनि तत्कालिन वडाध्यक्ष चुडाराज काफ्लेको मृत्यु भएका कारण कारण सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
त्रियुगा र बेलका नपाको निर्वाचन कार्यालयमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु उम्मेदवारी दर्ता गराउन जाँदा बाजागाजासहित रैली लिएर गएका थिए भने जनमत पाटीका प्रमोद सहनी मलाह तीन जना साथी लिएर उमेदबारी दर्ता गराउन गएका थिए । उनले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन कार्यालय मै अविर र माला मगाएर लगाएका थिए ।
प्रतिक्रिया