दोलखा।
दोलखा गौरीशङ्कर गाउँपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दलसहित १६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशङ्कर गाउँपालिकाले जनाएको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको थियो । आइतबार निर्धारित समय भित्र नेकपा एमालेको उमा लुुङ्गेली मगर शेर्पा, नेकपा माओवादी केन्द्रको निम लेकी शेर्पा, नेपाली कांंग्रेसको पासदिकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोमा श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मन कुुमारी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको रविना खड्का र जनता समाजवादी पार्टीको सपना कार्की खड्काको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद सुवेदीले बताए ।
त्यसैगरी उपप्रमुखको लागि अप्सरा विश्वकर्मा, अम्बीका श्रेष्ठ, दिपक तमाङ, दिल बहादुर बस्नेत, द्वारिका बुुढाथोकी, पुष्प कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पाले उम्मेदवारी दर्ता गर्नु भएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
उम्मेदवारी दर्ता पछि प्रमुख तीन राजनीतिक दलहरुले गौरीशङ्कर गाउँपालिका वडा नम्बर–५ सुरीमा चुनावी सभा समेत आयोजना गरेका थिए । नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा पार्टीको पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री पार्वत गुरुङ, बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसी, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले आयोजना गरेको सभामा सङ्घीय सांसद गङ्गा कार्की, पूर्व राज्यमन्त्री देवी खड्का, पार्टीको केन्द्रीय सदस्य विशाल खड्का लगायतले सम्बोधन गरेका थिए थियो भने नेपाली कांग्रेसको सभामा काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेत, बागमती प्रदेश सभाका अर्थ मन्त्री कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, जिल्ला सभापति बर्मा लामा लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया