दुहुँ ५ मा स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी दर्ता


दार्चुला। 

दार्चुलामा स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न दलहरुले मनोनयनपत्रमा आफ्ना उम्मेदवारहरुको नाम दर्ता गरेका छन् । जिल्लाको दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनमा दलहरुले मनोनयन दर्ता गरेका हुन् । दुहुँ–५ को वडा अध्यक्ष पदका लागि १ जना स्वतन्त्र सहित, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का गरी ४ जनाले आ–आफ्नो मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

   दुहुँ ५ मा २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि त्याँहा उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ५४ वर्षिय धन सिंह कुवर, नेकपा एमालेबाट ५१ वर्षिय मान सिंह बडाल, नेकपा माओवादी केन्द्रबाट ५२ वर्षिय बीर सिंह कार्की र ३१ वर्षिय लाल बहादुर कुवरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

  दिउसो १२ बजेर ३० मिनेटमा सबैभन्दा पहिले नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए, भने दिउसो २ बजे १५ मिनेटमा नेकपा एमालेका, २ बजेर ३५ मिनेटमा नेकपा माओवादी केन्द्रका र २ बजेर ५० मिनेटमा स्वतन्त्रका उम्मेदवारले आ–आफ्नो मनोनयनपत्र दर्ता गराएका थिए ।

   यसैबिच निर्वाचन आचारसंहिता पनि आजैबाट सूरु भएको छ । आचारसंहितामा उम्मेदवारहरुले मतदान हुनु भन्दा ४८ घण्टा पहिला देखी नै प्रचार प्रसारका कार्यक्रमहरु गर्न नपाइने उल्लेख छ । दुहुँ गाउँपालिका–५ मा यो पटक दुर्गास्थान आधारभूत विद्यालयमा मतदानस्थल तोकिदा (क) र (ख) मतदान केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । वडा नम्बर ५ मा १ हजार २ सय ७२ जना मतदाता रहेका छन् ।