विद्युत् निर्यातबाट अर्थतन्त्र सुधार


शुक्रबार नेपालबाट बंगलादेशमा विद्युत् निर्यात भएको छ । तेस्रो देशमा भएको विद्युत् निर्यातले नेपालको ऊर्जा बजारमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

गत असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौताको करिब डेढ महिनापछि नेपालले शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश पठाएको हो ।

प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दा करिब २८ हजार १६० डलर अर्थात् ३७ लाख ९३ हजार ४३३ रुपियाँ) आम्दानी गरेको छ । बंगलादेशलाई बिजुली बेच्दा प्राधिकरणलाई प्रतिमहिना करिब ३३ करोड रुपियाँ आम्दानी हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।


नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्नेछ । यस वर्ष एकदिन अर्थात् शुक्रबार नोभेम्बर १५ तारिखमा बिजुली निर्यात गरी बिजुलीको तेस्रो बजारमा ‘ब्रेक थ्रु’ भएको छ । नेपालले विद्युत बिक्रीबाट पहिलोपटक डलरमा आम्दानी गरेको छ । यसअघि भारतसँग विद्युत् व्यापार हुँदै आए पनि भारतीय रूपियाँमा भुक्तानी हुने गरेको थियो ।

यस वर्ष एकदिन मात्रै विद्युत् निर्यात भए पनि यसले नेपालको अर्थतन्त्र र विद्युत् बजारमा दीर्घकालीन प्रभाव पार्न सक्नेछ । किनकि विद्युत् निर्यातबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीले नेपालको व्यापार घाटा कम गर्न, विदेशी मुद्रा सञ्चितिमा वृद्धि गर्न र आर्थिक स्थायित्व कायम गर्न मद्दत पु¥याउँछ । यो राजस्व सरकारले पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा लगानीका लागि उपयोग गर्न सक्छ ।


विद्युत् निर्यातको स्थिर बजार उपलब्ध हुँदा निजी क्षेत्र र विदेशी लगानीकर्तालाई जलविद्युत् क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिल्छ । यसले दीर्घकालीनरूपमा उत्पादन क्षमतामा वृद्धि गर्न सक्छ । नेपालमा वर्षायाममा बढी विद्युत् उत्पादन हुने र हिउँदयाममा कमी हुने प्रवृत्तिलाई मध्यनजर गर्दा बाँकी समयको अत्यधिक विद्युत् उत्पादनलाई निर्यात गर्नु आर्थिकरूपमा लाभदायक हुन्छ ।

यसले सन्तुलनमा मद्दत पु¥याउँछ र ऊर्जा खेर जानबाट जोगिन्छ । विद्युत् निर्यातले आन्तरिक बजारमा विद्युत् शुल्कमा केही प्रभाव पार्न सक्छ । यदि उत्पादन लागतभन्दा निर्यात लाभदायक भयो भने आन्तरिक उपभोक्ताका लागि पनि विद्युत् दर सस्तो हुन सक्छ । तर, आन्तरिक आपूर्ति व्यवस्थापन कमजोर भएमा विद्युत् अभाव र मूल्य वृद्धिको जोखिम हुन सक्छ ।
विद्युत् उत्पादन र निर्यातको लागि पूर्वाधार विकासले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । यसले स्थानीय स्तरमा आयको स्रोत बढाउनेछ ।

नेपाल, बंगलादेश र भारतबीच ऊर्जा सहकार्यले क्षेत्रीय सम्बन्धमा सुधार ल्याउनेछ । यसले नेपाललाई ऊर्जा निर्यातकर्ताको रूपमा स्थापित गराउन मद्दत गर्छ । त्यस्तै विद्युत् उत्पादन बढेसँगै जलविद्युत् आयोजनाहरूले वातावरणीय असर पार्न सक्छन् । यो असर न्यूनीकरण गर्न वातावरणीय अध्ययन र व्यवस्थापन योजनाहरू अनिवार्य हुनेछन् ।


नेपालबाट बंगलादेशमा विद्युत् निर्यातले आर्थिक समृद्धि र ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासको मार्ग खोल्छ । तर, आन्तरिक आपूर्ति व्यवस्थापन, दीर्घकालीन योजना र वातावरणीय असरलाई ध्यानमा राखी नीति तयार पार्नुपर्नेछ । यसले निर्यातबाट हुने फाइदालाई स्थायी र समावेशी बनाउन मद्दत पु¥याउँछ ।

भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले अहिले भारतीय अनुदानमा निर्माण भई प्राधिकरणको स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्न भारतले सहमति दिएको छ । तर, आगामी दिनमा अन्य आयोजनाबाट उत्पादित बिजुली भारतलगायत तेस्रो देश निकासीका लागि कूटनीतिक पहल गर्न पनि जरुरी देखिन्छ ।