कामपाले नुवाकोटको पृथ्वीनारायण कालीन धारा पुनःनिर्माण गर्ने

· करिब ५ करोड लागत , आर्थिक र प्राबिधक सहयोग कामपाकै

26.6k
Shares

काठमाडौं ।

काठमाडौ महानगरपालिकाले नुवाकोट दरबार र भैरबी मन्दीर परिसरको ढुंगेधारा र फल्चा जिर्णोद्धार गर्ने भएको छ । पृथ्वीनारायणको शासनकालमा प्रयोग सयवर्ष भन्दा पुरानो पुरातत्विक हिटी र ढुंगेधारा निर्माण गर्ने भएको छ । त्यसको लागि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठबीच समझदारी भएको छ ।

कामपाका मेयर वालेन्द्र साहका सम्पदा सल्लाहकार यादवलाल कायस्थका अनुसार लामो समयको अध्ययनपछि ढुंगेधारा र फल्चा बनाउने सहमति भएको हो । पृथ्वीनारायण शाह र उहाँको सेनासंग सम्बन्ध जोडिएको ती धारा पुरातत्व विभागले सम्पदाको रुपमा सुचिकृत गरिसकेको छ ।

सबै धारा विदुर नगरपालिका–२ स्थित दरबार परिसरमा पुनःनिर्माण हुन लागेको विदुर नगरपालिकाका मेयर श्रेष्ठका सचिवालय प्रमुख पारस अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर र नगरपालिकाका मेयरबीच भएको सहमति अनुसार पुनःनिर्माण हुन लागेको हो । कामपाले काठमाडौ बाहिर पहिलोपटक हिटी संरक्षण गर्न लागेको हो ।

पुनःनिर्माण हुन लागेको धाराहरुमा पाटीपानी धारा, अंशुवाटिका हिटी, दाशधारा, कर्णेल धारा र ओखतीपानी धारा हुन । सबैधारा पृथ्वीनारायण शाहको कार्यकालयमा निर्माण गरिएको इतिहासमा उल्लेख छ । कामपाले ती धारा र फल्चा निर्माण गर्न करिब ५ करोड रुपिया खर्च गर्ने भएको छ ।

सम्पदा सल्लाहकार कायस्थले हिटी निर्माण गर्न आवश्यक पर्ने आर्थिक ,प्राबिधिक र कच्चा पदार्थ कामपाले व्यवस्थापन गर्नेछ । कामपा र विदुर नगरपालिकाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।

‘दाची अप्पा, चुनासुर्की लगायत पुरातात्विक समाग्री कामपाले व्यवस्था गर्ने सल्लाहकार कायस्थले भन्नुभयो । कामपा शहरी योजना आयोगको प्राविधिक टोलीले कार्तिक ९ गते प्राविधिक अध्ययन गरी फर्किएको छ । सायद मंसिरबाट ५ वटै हिटी र फल्चा पुनःनिर्माण शुरु हुनेछ–सल्लाहकार कायस्थले भन्नुभयो ।

उहाँका अनुसार प्राविधिक टोलीले ड्रइङ, जिडाइन सहितको स्टिमेट तयार गरेपछि पुनःनिर्माण शुरु हुनेछ । यसअघि कामपाले ढल्कोमा रहेको हिटी पुनःनिर्माण सम्पन्न गरेको छ । त्यसपछि कामपा–१६ मा ऐराहिटीको जिर्णोद्धार शुरु गरेको छ ।

चक्रपथलाई दोस्रो विस्तारको क्रममा हटाइएको सो हिटी ७० लाख रुपियाको लागतमा टी जिर्णोद्धार गर्न लागेको सम्पदा सल्लाहकार कायस्थले जानकारी दिनुभयो। त्यस्तै दरबारमार्गको सोराहिटी जिर्णोद्धारको क्रममा छ । कामपाले स्वयंम्भुको विजेश्वरी धारा जिर्णोद्धार गर्ने प्रयास गरेपनि सम्भव भएको छैन ।

भगवान विजेश्वरीको स्नान गर्न सोही धाराको पानी प्रयोग गरिन्थ्यो । जिर्ण रहेको सो धारा पुनःनिर्माण गर्ने विषयमा कामपाले चासो देखाएको छैन् । ‘जिर्णोद्धार गर्दा विवाद हुने भएपछि चासो नदेखाएको सो धारा पुननिर्माण गर्नुपर्ने आवाज उठिरहेको छ’–सम्पदा सल्लाहकार कायस्थले भन्नुभयो । उहाँका अनुसार महानगरभित्र करिब सय बढी हिटी जिर्णोद्धारको पर्खाइमा रहेको छ । ती धारा संरक्षण गर्ने विषयमा छलफल भैरहेको कायस्थले जानकारी दिनुभयो ।