बाँके ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जले गतवर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने घोषणा ग¥यो । त्यही अनुसार नेपालगञ्जमा धान खरिद शुरू गरियो ।
अन्तिमसम्म कुर्दा पनि ८ हजार क्विन्टल मात्र खरिद गर्न सकियो । भारतले धान, चामल निर्यात नगर्ने बताइदिँदा त्यसको असर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प¥यो । खाद्यको भन्दा अलिकति बढी मूल्य दिएर व्यापारीले किसानसँग धान खरिद गरे । भारतले चामल निर्यातमा कडाइ गर्नेबित्तिकै महँगोमा बेच्न पाइन्छ भनेर व्यापारीले चलाखी गरे । भारतीय हल्लाले व्यापारीले खाद्यको भन्दा प्रतिक्विन्टल १ सय ८८ रुपियाँ बढी दिएर धान खरिद गरेका थिए । आफूखुसी मूल्य तोक्ने व्यापारीको अगाडि खाद्यको केही चलेन । जसले गर्दा उसले ८ हजार क्विन्टलमात्र धान खरिद गर्न सक्यो ।
तीन भाइको गरेर प्रतिवर्ष २ सय क्विन्टल धान बिक्री गर्ने डुडुवाका पंकज बर्माले ३ हजार ५ सय ५० रुपियाँ क्विन्टलमा धान व्यापारीलाई बेच्नुभयो । गतवर्ष खाद्यले मध्यम धान ३ हजार ३ सय ६२ र मोटा धान ३ हजार १ सय ९८ रुपियाँमा खरिद गरेको थियो । भारतीय हल्लाले गर्दा व्यापारीले धान खरिद गरेर जम्मा गरे । खाद्यको गोदाम रित्तो भयो ।
यसपालि भारतबाट त्यस्तो कुनै हल्ला चलेन । हल्ला नचल्दा व्यापारीले तँछाडमछाड पनि गरेनन् । खाद्यले मध्यम धान ३ हजार ५ सय ८० रुपियाँ ६२ पैसा र मोटा धान ३ हजार ४ सय १० रुपियाँ ५१ पैसामा खरिद गर्दा किसानजति खाद्यतिर ढल्केका छन् । अहिले व्यापारीले ३ हजार २ सय रुपियाँमा धान खरिद गरिरहेका छन् । व्यापारीले भन्दा ३ सय ८० रुपियाँ बढी मूल्य पाएपछि किसान खाद्यमा धान बेच्न लाइन लागेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रामशरण लामिछानेका अनुसार यसपालि ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गतवर्ष धेरै लक्ष्य राख्दा र कम खरिद हुँदा खाद्यले यसपालि लक्ष्य नै घटाएको छ । वडा कार्यालयको सिफारिसमा खाद्यले धान खरिद गरिरहेको छ । बाँकेमा खाद्यको ३५ हजार क्विन्टल धान राख्न सकिने गोदाम रहेको छ । खाद्यले यही कुटाएर पहाडी जिल्लामा चामल पठाउने गर्दछ ।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यो वर्ष १ लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुन्छ । त्यसमा ४० हजार क्विन्टलमात्रै धान खाद्यले खरिद गर्ने लक्ष्य राखेको छ । अरू धान कहाँ जान्छ ? कसैले चासो दिएको देखिँदैन । गतवर्ष व्यापारीलाई धान बेचेका डुडुवाका पंकज बर्मा यसपालि खाद्यमा आइपुगेका छन् । बर्मा भन्नुहुन्छ– ‘गतवर्ष व्यापारीले बढी मूल्य दिए । उतै बेचियो । यसपालि खाद्यले बढी मूल्य दिएको छ ।
यता ल्याएको छु । हामी किसानले जता बढी मूल्य पाउँछौं, उतै बेच्ने हो ।’खाद्यले कात्तिक २० गतेदेखि धान खरिद शुरू गरेको छ । अहिलेसम्मको अवस्था हेर्दा यसपालि समयमै लक्ष्यअनुसारको धान खरिद गर्न सकिने प्रमुख लामिछानेको भनाइ छ । खाद्यले ६ हजार क्विन्टल बढी धान खरिद गरिसकेको छ । ट्याक्टर र डल्लफमा धान ल्याएका किसान आफ्नो पालो कुरेर बसेका छन् ।
प्रतिक्रिया