जेकसँग बक्सिङ लेजेन्ड टाइसन पराजित

२ सय ८० मिलियन दर्शकले हेरे

20.02k
Shares

काठमाडौं ।


२० वर्षको उमेरमा नै व्यावसायिक बक्सिङको वल्र्ड हेभिवेट च्याम्पियन बनेर कीर्तिमान रचेका अमेरिकी माइक टाइसन युट्युबर बक्सरबाट परिचित जेक पाउलसँग पराजित भएका छन् ।


नेपाली समयअनुसार शनिवार बिहान टेक्सासको एटी एन्ड टी स्टेडियममा भएको उक्त बहुप्रतीक्षित भिडन्तमा जेकले टाइसनलाई युनानिमोस डिसिजन अर्थात् अंकका आधारमा पराजित गरेका हुन् । आफ्नो रिटायरमेन्टलाई थाती राखी ५८ वर्षको पाको उमेरमा रिङमा फर्केका टाइसनलाई जेकले आठ राउन्डको भिडन्तमार्फत् पराजित गरेका हुन् ।

विश्वकै महान् मुक्केबाजहरूमा गनिने टाइसनको १९ वर्षपछि रिङमा पुनरागमन फितलो देखिएको थियो । युट्युबरबाट मुक्केबाज बनेका जेकसँग उक्त भिडन्तमा सबै तीनजना जजले जेकको पक्षमा ८०–७२, ७९–७३, ७९–७३ अंक नतिजा सुनाएका थिए । उक्त फाइटमा १४ आउन्सको सट्टा १० आउन्सको ग्लोभ्स प्रयोग गरिएको थियो ।


भिडन्तका क्रममा ५८ वर्षका टाइसनमा त्यो जोस देखिएन जसका लागि उनी परिचित थिए । उनी सुस्त र शिथिल देखिएका थिए । उनका पन्चहरू ढिलो गतिमा प्रहार भएका थिए । शुरूमै पाउलले शालीन भएर समय लम्ब्याउँदै खेलेपछि टाइसन विस्तारै थाकेका थिए । त्यसको फाइदा उठाउँदै पाउलले एकपछि अर्को कडा मुक्का बर्साउन थालेपछि टाइसनको केही चलेन र हार स्वीकार्न बाध्य भए ।

टाइसनलाई हराएपछि जेकले सम्मानस्वरूप झुक्दै उनलाई महान् मुक्केबाज भनेर सराहनासमेत गरेका थिए । टाइसनले पनि आफूभन्दा ३१ वर्ष कान्छो पाउलको प्रशंसा गर्दै उनलाई राम्रो मुक्केबाज रहेको बताए । उक्त भिडन्तमा हार बेहोरेका टाइसनले करिब २० मिलियन डलर र विजेता पाउलले त्यसको दोब्बर आम्दानी गरेको बताइएको छ ।


यसअघि यो भिडन्त यसै वर्षको २० जुलाईमा हुने भनिएको थियो । तर, टाइसनको स्वास्थ्य अवस्था ठीक नभएका कारण १५ नोभेम्बरलाई सारिएको थियो । त्यति बेला टाइसन मायामीबाट लस एन्जल्स जाने क्रममा उनको स्वास्थ्य अचानक बिग्रिएको थियो ।

अर्कोतिर जेक भने बिना वरीयता नै अहिलेसम्म आफ्नो करियरलाई अघि बढाइरहेका छन् । जेक वल्र्ड बक्सिङ काउन्सिल (डब्ल्यूबीसी) को वरीयतामा अहिलेसम्म परेका छैनन् । जेकले सन् २०२० मा युट्युबर व्यवसायी हुँदै बक्सिङ खेल्न शुरू गरेका हुन् । डब्ल्यूबीसीले गत वर्ष टमी फ्युरीलाई हराएमा वरीयता निर्धारण गर्ने भने पनि उक्त भिडन्तमा जेक असफल भएपछि उनी अझै वरीयताविहीन नै छन् ।


विभिन्न सञ्चारमाध्यमबाट पे–पर–भ्यू (पीपीभी) का आधारमा उक्त भिडन्त विश्वभरि २ सय ८० मिलियन दर्शकले हेरेको अमेरिकी मिडिया यूएसए टुडेले उल्लेख गरेको छ । जसमध्ये खेलस्थलमा मात्र ७० हजार दर्शकले उक्त भिडन्त प्रत्यक्ष हेरेको बताइएको छ । भिडन्त चलिरहँदा नेटफ्लिक्स स्ट्रिमिङ प्लेटफर्म यूएसमा समस्यासमेत देखिएको थियो । लाखौं प्रयोगकर्ताले एकै समय उक्त भिडन्त खोजेकाले समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

केही वर्षअघि टाइसन र रोय जोन्स जुनियरबीच भएको एक प्रदर्शनी फाइटमा लगभग १.६ मिलियन पीपीभी खरिद भएका थिए । टाइसनले रोय जोन्स जुनियरसँग एउटा प्रदर्शनी फाइटमात्र खेलेका थिए । तर, जेकसँगको फाइट भने एउटा सेलिब्रिटी बक्सिङ म्याच बन्यो । जसमा एक पूर्व विश्व च्याम्पियन र एक इन्टरनेट सेलिब्रिटी बक्सरले खेले । यस प्रकारको बक्सिङ बाउट पहिलोपटक भएको हो ।


यस प्रकारको भिडन्तले टाइसन युवा पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । उनले बक्सिङमा असाधारण सफलता हासिल गरेका छन् । २० वर्षको उमेरमा सबैभन्दा कम उमेरको हेभिवेट च्याम्पियन बनेका उनले बाल्यकालका संघर्षहरू र कारागारको सजायबाट माथि उठेर बक्सिङको शिखरमा पुगेका थिए ।

जीवनका उतार–चढाव र उनले आफ्नो जीवन पुनः निर्माण गर्ने क्षमताले सबैलाई प्रेरणा मिलेको छ । अर्कोतर्फ जेक पनि सानैदेखि बक्सिङ पृष्ठभूमिबाट आएका खेलाडी भने होइनन् । तर, उनले सामाजिक मिडियाको उपस्थितिलाई प्रयोग गरेर बक्सिङको परिभाषा परिवर्तन गरिरहेका छन् । उनले सामाजिक मिडिया र इन्टरनेटमार्फत् आफूलाई एक ब्रान्ड बनाएका छन् र युवा दर्शकवर्गका बीचमा ठूलो प्रभाव पारेका छन् ।
माइक टाइसनको करियर
पूरा नाम: माइकल जेरेड टाइसन
जन्म: ३० जुन, १९६६
वेट क्लास: हेभिवेट
रेकर्ड: ५० जित (४४ नकआउट), ७ हार, २ नो कन्टेस्ट
उपाधि: सबैभन्दा कान्छो उमेरका विश्व हेभिवेट च्याम्पियन
जेक पाउलको करियर
पूरा नाम: जेक जोसेफ पाउल
जन्म: १७ जनवरी, १९९७
वेट क्लासः क्रुजरवेट (वर्तमान)
रेकर्ड: ८ जित, १ हार (४ नकआउट), वरीयताविहीन
सामाजिक मिडिया प्रभाव र बक्सिङमा ल्याएको लोकप्रियताका कारण उनी एक प्रमुख सेलिब्रिटी फाइटर बनेका छन् ।