सामाजिक अराजकताका कारण देश कमजोर बन्दैः एमाले महासचिव पोखरेल


भक्तपुर ।


नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समयमा सामाजिक अराजकताका कारण देश कमजोर बन्दै गएको बताउनुभएको छ । आज भक्तपुरमा नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जालमा चर्चामा आएपछि सजिलै नेता बन्न सकिन्छ भन्ने मान्यताको बिकास हुन थालेको बताउनुभयो ।


राजनीतिमा आएर नेता बन्न लामो समयको त्याग, तपस्या चाहिने उहाँको भनाई थियो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यतिखेर विगतका सरकारले विगारेका कामलाई सुधारेर सरकार अगाडि बढिरहेको बताउनु भयो ।पोखरेलले सरकारले मुलुकलाई आशा जगाएर देश बनाउने काममा लागिरहेको बताउनु भयो ।

उहाँले भन्नभयो, “एमाले यतिखेर संयुक्त सरकारमा छ, एमालेले सरकारको नेतृत्व गरिरहे पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन ।”महासचिब पोखरेलले साझा एजेण्डा बोकेर सरकार अगाडि बढिरहेको छ भन्दै यतिखेर सरकार विगतका सरकारले बिगारेका काम बनाएर मुलुक बनाउने काममा लागिरहेको बताउनुभयो ।


राजनीतिक स्थायित्व नहुँदा साना दलकै कारण पटक पटक सरकार परिवर्तन भइरहने समस्याले देश बिकासमा पछाडि धकेलिएको भन्दै उहाँले साना दल पनि ठूला दलमा आउनु पर्नेमा जोड दिनुभयो ।जनताले नेकपा एमाले वा नेपाली काँग्रेस मध्ये एक दललाई पाँच वर्षसम्म एकल सरकार चलाउने गरि म्याण्डेड दिएर पठाउनु पर्ने उहाँले जिकिर गर्नुभयो ।
उहाँले एमालेले मनमोहन अधिकारीको नौ महिने सरकारमा मात्र नभई केपी ओली नेतृत्व सरकारले पनि नाकाबन्दीदेखि कोरोना महामारीसमेत खेपेर भएर देशलाई अगाडि बढाएको र ७ प्रतिशत आर्थिक बृद्धिदर गरेको दाबी गर्नभयो ।


कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वागमति प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई, एमाले पोलिटव्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायतले एमालेको मिसन ०८४ अभियानलाई सफल पार्न सबै नेता कार्यकर्ता एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।