राजश्व वृद्धि गर्ने कार्यमा अहोरात्र जुट्न अर्थ मन्त्रीको निर्देशन

राजश्व संकलन अपेक्षित हुन नसकेको भन्दै असन्तुष्टि


काठमाडौं ।


उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलन कार्यमा उल्लेख्य सुधार ल्याएर राजश्व संकलन वृद्धि गर्ने कार्यमा अहोरात्र जुट्न राजश्व प्रशासनमा कार्यरत सम्पुर्ण कर्मचारीलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्री पौडेलले राजश्व संकलनमा अपेक्षित रुपमा सुधार आउन नसकेकाले आगामी दिनमा राजश्व संकलन वृद्धि गरेर जानुको विकल्प नभएको बताए ।

आन्तरिक राजश्व विभागले शनिबार १३ औं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थ मन्त्री पौडेलले हालका पछिल्ला महिनामा विगतको वर्षमा जति पनि राजश्व संकलन हुन नसक्नु दुखद भएको बताए । उनले कर प्रशासनमा कार्यरत कर्मचारीहरु प्रति असन्तुष्टि व्यक्त गर्दै सामान्य किसिमले काम गरेर दिन खेर फाल्ने समय नभएकाले अब अहोरात्र खटेर परिणाम निकाल्नुपर्ने आवश्यकता औल्याए ।

मन्त्री पौडेलले राजश्व वृद्धि गर्न सरकारका सबै सरोकारवाला निकायबीच समन्वयत्मक र एकताबद्ध प्रयास आवश्यक रहेको बताए । अर्थ मन्त्री पौडेलले कर प्रशासनमा कार्यरत कुनै पनि कर्मचारीबाट करदातालाई दुख दिने, कुशासनयुक्त कार्य गर्ने र जिम्मेवारी अनुसारको काम गरेको नपाइएमा कडा कारवाही हुने चेतावनी दिए ।


मन्त्री पौडेलले कुनै कर्मचारीबाट व्यवसायीलाई दुख दिने तथा वार्गेनिङ गर्ने प्रयास गरेमा तत्काल सुचना दिन आग्रह गर्दै त्यस्ता कर्मचारीलाई ठाउँका ठाउँ कारवाही गरिने प्रतिवद्धता व्यक्त गरे । अर्थ मन्त्री पौडेलले कर प्रशासन र करदाताबीचको सम्वन्ध नङ र मासुको जस्तै हुनुपर्ने र एकले अर्कालाई विश्वास र सम्मान गर्नुपर्ने आवश्यकता औल्याए । उनले नीजि क्षेत्रले पनि कुनै किसिमको गलत र फ्रड कार्य नगरी जिम्मेवारीपूर्वक कर तिर्नुपर्नेमा जोड दिए ।


विभागका महानिर्देशक रामप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आर्थिक अवस्था दयनीय भएको भाष्य सिर्जना गर्न नहुने बताउदै मुलुकको आर्थिक अवस्था सुधारोन्मुख भएकाले निराश हुन नहुने स्पष्ट पारे । ‘हामीले महाभुकम्प, कोभिड, वाढी पहिरो जस्ता ठुला ठुला महाविपद्को अवस्था भोग्नु पर्दा समेत आर्थिक अवस्थालाई ड्यामेज हुन दिएनौ, यो हाम्रो लागि सुखद हो, अब सबै मिलेर आर्थिक अवस्थालाई थप चलायमान बनाउनु अहिलेको अहम् आवश्यकता हो ।

’सचिव घिमिरेले भने । उनले कर प्रशासनमा काम गर्ने कर्मचारीहरुले हाकिम शैलीमा नभएर सेवकको रुपमा जनताको काम गर्नुपर्ने आवश्यकता औल्याए । यसैगरी कार्यक्रममा बोल्दै राजश्व सचिव दिनेश घिमिरेले नीजि क्षेत्रलाई साथमा नलिइकन मुलुक अघि बढ्न सक्दैन भन्ने तथ्यलाई आत्मसात गरिएकाले सरकार नीजि क्षेत्रलाई साथ लिएर अगाडि बढिरहेको स्पष्ट पारे । राजश्व सचिव घिमिरेले राजश्व वृद्धि गर्नका लागि नीजि क्षेत्र र नागरिकबाट आउने सुझावलाई ग्रहण गर्दै अर्थ मन्त्रालय र कर प्रशासन अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजश्व वृद्धि गर्ने उद्धेश्यका साथ कर प्रशासनलाई नवप्रवद्र्धनात्मक किसिमले परिचालन गर्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको जानकारी दिए । कार्यक्रममा बोल्दै विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरुले राजश्व संकलन कार्यमा सामुहिक र एकतावद्ध प्रयास आवश्यक रहेको र राजश्व प्रशासन सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।


कार्यक्रममा गत वर्ष विभिन्न विधामा सबैभन्दा बढि कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने सबैभन्दा बढि कर उठाउने तीन वटा कर कार्यालयलाई पुरस्कृत गरिएको थियो । साथै उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।