एडभेन्चर कनेक्टमा नेपालको सहभागिता


काठमाडौं ।
एटीटीए (एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन) ले गत बुधबार क्यानाडाको क्विन स्ट्रिटस्थित नुना किचन एण्ड बारमा आयोजना गरेको ‘एडभेन्चर कनेक्ट’ नामक विशेष कार्यक्रममा नेपालले पनि सहभागिता जनाएको छ ।

नेपाल र अन्य मुलुकका पर्यटन उद्योगी एव व्यवसायीका साथै क्यानाडाका ४० भन्दा बढी प्रमुख ट्राभल अपरेटर, मिडिया सदस्यहरू, र स्थानिय ट्राभल व्यवसायी समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभल व्यवसायीहरुबीच एकआपसमा सम्बन्ध निर्माण गर्न र नयाँ व्यवसायिक अवसरहरूको बारेमा छलफल भएको एभरेष्ट पायोनियर ट्रेकका संस्थापक सहदेव श्रेष्ठले बताए । उनले यस कार्यक्रमले आगामी वर्षहरूमा नेपालको पर्यटनको क्षेत्रलाई अझ वृद्धि र समृद्धि दिलाउने आशा व्यक्त गरे।


ट्राभल व्यवसायका बिभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूसँग एक आपसमा नेटवर्किङ र समन्वय गर्नका लागि आयोजित उक्त कार्यक्रममा एटीटीएका नर्थ अमेरिकाका जुलिया विलियम्स र पेरुका मार्विक गिलले पेरुको पर्यटन उद्योगको सम्भावनाका बारेमा जानकारी दिएका थिए। जुलिया विलियम्सले पेरुमा साहसिक पर्यटनको वृद्धि र आगामी वर्षमा हुने प्रमुख एडभेन्चर टुरिजम इवेन्टहरूको बारेमा जानकारी दिइन्। उनले पेरुमा ट्रेकिङ, एडभेन्चर स्पोर्ट्स, र सांस्कृतिक अनुभवहरूको लोकप्रियता बारे चर्चा गर्दै, पेरु र नेपालको पर्यटन गन्तव्यहरूको तुलना पनि गरेको श्रेष्ठले बताए ।


मार्विक गिलले पेरुका पर्यटन उद्योगका आगामी योजनाहरू र पर्यटनको बारेमा नयाँ दृष्टिकोणहरूको चर्चा गर्दै २०२५ मा हुने आगामी एटीटीए इभेन्ट्सको तयारीका बारेमा जानकारी दिए। त्यसैगरी एभरेष्ट पायोनियर ट्रेक नेपालका श्रेष्ठले नेपालका साहसिक यात्रा गन्तव्यहरू र त्यसको सांस्कृतिक र ऐतिहासिक धरोहरका बारेमा विस्तृत जानकारी दिएका थिए। उनले कार्यक्रममा आफूले नेपालको पर्यटन क्षेत्र निकै समृद्ध र विविधतापूर्ण भएको र यहाँ आउने पर्यटकले साहसिक यात्रासँगै ऐतिहासिक स्थल र समृद्ध संस्कृतिको अनौठो संगम अनुभव गर्न सक्ने जानकारी दिएको बताए ।


ूएडभेन्चर कनेक्टू कार्यक्रम एटीटीएद्वारा आयोजना गरिएको एक प्रमुख नेटवर्किङ इभेन्ट हो, जसले साहसिक पर्यटन उद्योगी र व्यवसायीहरूलाई एकै ठाउँमा भेला भई आफ्ना अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्रदान गर्दछ। यो कार्यक्रम विभिन्न यात्रा गन्तव्यहरूको प्रोत्साहन, ट्राभल अपरेटर र डेस्टिनेशन म्यानेजमेन्ट कम्पनीहरूको साझेदारी र नयाँ व्यापारिक अवसरहरूको खोजीका लागि एक प्रमुख मञ्चको रुपमा रहेको बताइएको छ।