उपनिर्वाचन : उदयपुरमा तीन प्रमुख दलले टुङ्गाए उम्मेदवार

3.85k
Shares

उदयपुर। 

आसन्न मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका प्रमुख राजनैतिक दलले उम्मेदवार ट्ङ्गो लगाएका छन् । स्थानीय तहको रिक्त रहेको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको उम्मेदवारको छनौट टुङ्गो लगाएका हुन्। 

त्रियुगा नगरपालिका वडा नम्बर १२ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष चडाराज काफ्ले र वेलका नगरपालिका ९ मा कांग्रेसबाटै निर्वाचित पदम खड्का सवारी दुर्घटना परी निधन भएपछि उक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 

उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले स्वस्थ प्रतिप्रर्धा गर्ने जनाएका छन् । उम्मेदवारको तय गर्नेमा माओवादी केन्द्र बनेको छ । माओवादी केन्द्रले बेलका नगरपालिका वडा नं. ९ मा भरत घिमिरेलाई र त्रियुगा नगरपालिका १२ मा नवीन राईलाई अगाडी बढाउने भएको छ । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका १२ मा अघिल्लो निर्वाचनमा एकीकृत समाजवादी र माओवादी गठबन्धन हुँदा तेस्रो मत पाएर पराजित भएका नवीन राईलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । यता माओवादीले वेलका नगरपालिका ९ मा विद्यार्थी राजनीतिमा सक्रिय भरत घिमिरेलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको माओवादी केन्द्र जिल्ला संयोजक विनोद कटुवाल दिवसले बताए ।

यता नेपाली कांग्रेसबाट बेलका नगरपालिकामा नवराज बस्नेत (नवीन) लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । यता त्रियुगा नगरपालिका १२ मा भने मृतक वडाअध्यक्षको परिवार सदस्य संजिव काफ्ले नै उम्मेदवार हुने तय भएको छ । आंकक्षी मध्ये हालका कार्यवाहक अध्यक्ष अनिता थापाले जिल्ला नेतृत्वलाई यस अघिनै आफू इच्छुक नरहेको भनेपछि काफ्लेले नै टिकट पाउने पक्का भएको नेपाली काग्रेस स्रोतले बताएको छ । यद्यपी पार्टीको जिल्ला तहको बैठकबाट त्रियुगा नगरपालिका १२ को उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारी रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईले बताए ।

नेकपा एमालेबाट वेलका नगरपालिका ९ मा मोहन खड्कालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ । भने त्रियुगा नगरपालिका १२ मा लक्ष्मीनारायण चौधरीले एमालेबाट वडा अध्यक्षको टिकट पाएका छन् । अन्य साना दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, राप्रपाबाट भने अहिले सम्म उम्मेदवारको तय गर्न सकेका छैनन् । 

निर्वाचन आयोगले त्रियुगा १२ र वेलका ९ मा हुने निर्वाचनको अन्तिम मतदाता नामवली र संख्या सार्वजनिक गर्न बाकी छ । पछिल्लो तथ्यांक अनुसार त्रियुगा १२ मा ३ हजार ७ सय ४२ र वेलका ९ मा ३ हजार ९३ मतदाता रहेका छन् ।