लेक लागेर विरामी परेका डिभिजन वन प्रमुखसहितको टोलीको गणेश हिमाल बेस क्याम्पबाट उद्धार

38.45k
Shares

धादिङ ।

लेक लागेर र अन्य विरामी परेपछि गणेश हिमाल बेसक्याम्प नजिक धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेका डिभिजन बन अधिकृत सहितको टोलीको बिहिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

लेक हाइ अल्टिच्युट र चिसोका कारण बिरामी परेर सोमबार रातीदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना र पत्रकार आकाश लम्साललाई उद्धार गरी रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।


बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो । हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर उनीहरु ३ दिनदेखि स्वास्थ्य समस्यामा परेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार हिन्दुङ आइपुगेका उनीहरु अहिले आराम गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको अर्यालले जानकारी दिनुभएको छ ।


उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोलीकात्तिक २२ गते १० दिनका लागि रुवीभ्याली यात्रामा थिए । पर्या पर्यटन प्रवर्धन गर्न र अध्यायन अनुसन्धान गरि सो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नका लागि तिप्लिङको लिंजो हुँदै टोली गएको थियो । गणेश हिमाल र प्यालदोर हिमालको फेदीबाट बेसक्याम्पतिर जानेक्रममा उनिहरु बिरामि परेका हुन् ।


२७ जना मध्ये ११ जना बुधबार नै फोन लाग्ने ठाउमा पुगेपछि फोन गरेर उद्धार गर्न आग्रह गरिएको संचारकर्मी मिलन तिमिल्सिनाले बताउनुभयो । १३ जनाको टोली हिडेर हिन्दुङतर्फ आउँदै गरेका छन् ।