सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानी


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ ।

सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।

मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो ।

सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको उल्लेख छ ।

सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।

पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब र फेसबुक पेज)बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

कतिपय सामाजिक सञ्जालबाट सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्नेजस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।

‘कुनै सुचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ । आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जानेछन्,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।

मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशनरप्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सुचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ ।

प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमले झैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु)ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै  संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम् क्रियाशील भएको उल्लेख छ ।

सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सुचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ । 

साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्नेजस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत् काउन्सिलले विशेष अपिल गरेको छ ।