जन्ती बोकेको बस पल्टिदा १४ जनाको मृत्यु


एजेन्सी ।


पाकिस्तानमा जन्ती सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा जन्ती बोकेको बस इन्डस नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो।

सो दुर्घटनामा नवविवाहित जोडीसहित १४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बेपत्ता १२ जनाको खोजी जारी छ। २७ जना सवार बसका एक यात्री घाइते अवस्थामा बाँच्न सफल भएका छन्।

बस पाकिस्तानकै अर्को राज्य पञ्जाबको चकवालतर्फ जाँदै थियो। तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएपछि बस दियामेरको पुलबाट नदीमा खसेको थियो। नदीबाट १३ शव निकालिएको थियो। दुर्घटनामा गम्भीर घाइते बेहुलीको उपचारका क्रममा ज्यान गएको हो ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै उद्धार कार्यलाई तिव्रता दिन भनेका छन् । बसको भग्नावशेष डुङ्गा र गोताखोरको सहयोगमा नदीबाट निकालिएको छ। यसअघि गत अगस्टमा पाकिस्तानमा दुई बस दुर्घटना हुँदा एकै दिन ३४ जनाको मृत्यु भएको थियो ।