विकास हो कि साढे सातको दशा ? ‘कन्फ्युज’

1.41k
Shares

जब घर, समाज र देशमा एकोहोरो घमण्डी, खराब मानिसहरु सलबलाउँछन् र हाबी हुन्छन्, त्यहाँ सधैँ साढे सातको दशाले घेरिराखेको हुन्छ । यस्तो अवस्थामा जब एक–अर्कामा राम्रा मानिसहरुले यस्तो समस्याप्रति कराउँछन्, प्रतिकार गर्छन् र संघर्ष गरेर आवाज उठाउने गर्दछन्, तब त्यहाँ साढे सातको दशा बिस्तारै कम हुँदै जान्छ।

त्यसकारण यस प्रकारको लडाइँप्रति सबै व्यक्ति, समाज सजग भइराख्नुपर्दछ र साथ दिनुपर्छ, खालि सानो सोच बोकेर बस्नुहुँदैन, खालि कलहमा मात्र अल्झनुहुँदैन । देश चलाउने नेताहरु तथा निकायहरु व्यक्ति–समाजका लागि अभिभावकसरह हुन्। तर जब मुलुकमा स्वार्थी, लोभी र दुष्टहरुको राज हुन्छ, तब त्यो मुलुक र मानिसहरुका लागि दुर्भाग्य र सरापसरह नै हुन जान्छ। यसले गर्दा सबैलाई हानि र दुर्भाग्यसरह नै भइरहन्छ। अहिले हाम्रो मुलुकको कहानी पनि यही नै हो। यिनीहरु यानेकि देश चलाउने खराबहरुले गर्दा देशमा भएका नागरिकहरुले पनि गलत किसिमले पैसा कमाउन र खराब कर्मलाई नै अपनाउन थाल्छन्।

हाम्रो देशमा सरकार तथा नेताहरु असफल हुनुको कारण ज्ञान र राम्रो भिजन नहुनु नै हो । यसबाहेक धेरै आसेपासे, कार्यकर्ता पाल्नुका साथै अनावश्यक अन्तर्वार्ता र भाषण अनि पार्टीका लागि हरेकतिरबाट सम्पत्ति आर्जन गरिराख्नु पनि असफलताको कारण हो।

जस्तै– चार दशकदेखि देश अशान्त भइराख्नु र मानिसहरु खुशी नहुनुको कारण पनि यही नै हो । शायद यही कारणले होला, सुन्दर मुलुक भए तापनि भ्रष्टाचारको विकास, महँगी, बेरोजगारी समस्या र लुच्चा–फटाहाले गर्दा देशले विकराल रुप लिएको छ। यही कारणले गर्दा टाठाबाठा, राम्रा मानिस, युवापुस्ता विदेशिन बाध्य भएका छन् । देश विकास सुस्त हुनुको कारण यो पनि एक हो ।

अर्को कुरा, राम्रा बुद्धिजीवीहरु देश–विदेशमा अनि राजनीतिक क्षेत्रमा निकम्मा स्वार्थीजस्तो भएर जीवन बिताइराखेका छन् । शायद देशको हालतले यो उनीहरुको बाध्यता होला । हाम्रोजस्तो मुलुकमा देश चलाउने मात्र होइन, यिनीहरुलाई पैसाको लागि सपोर्ट गर्ने हो । केही हुनेखाने र टाठाबाठाको मात्र लाइफ स्टाइलको विकास भयो, धेरै जनमानसको जीवन सरल हुन सकेन । देशको अवस्था र कष्टकर जिन्दगीले गर्दा अब यसो मुलुक हेर्दा विकास देखिए पनि के काम लाग्यो र ? यसबाहेक मानिसहरुमा अल्छी रोग, चम्चा रोग, अल्झिने रोग, अज्ञानता रोगले गर्दा पनि देशको लागि दुर्भाग्य भएको छ । त्यसमाथि देशमा रहेका मानिसहरु कानमा तेल हालेर बस्नु, सधैँ स्वार्थी प्रणालीलाई अपनाइराख्नु देशका लागि हानिकारक भएको छ । तर अब यसो हुनुभएन, मुलुक राम्रो र आउने पुस्ताको भविष्यका लागि सबै सजग भएर लागि पर्नुपर्छ ।

आखिर गरिब मुलुकहरुमा किन नेताहरु खराब हुन्छन् त ? यसमा मानिसहरुको आ–आफ्नै तर्क हुने गर्छ । कोही भन्छन्, विदेशीको इशाराले गर्दा । कोही भन्छन्, भ्रष्टाचारका कारण । कोही भन्छन्, आसेपासे खराब र धेरै कार्यकर्ताका कारण । कोही भन्छन्, देशमा राम्रो संस्कारको विकास नहुन्जेल भगवान्ले नै देशको नाटकलाई चलाइरहन्छन् । तर यी कुराहरुलाई छोडेर देश चलाउनेहरु आफूहरु नै राम्रो भएर, सबैको कुरा सुनेर, कडा–इमानदार भएर बदलिन सक्नुपर्दछ अनि मात्र देश र जनता राम्रो हुँदै जाने हो ।

अहिले देशमा केही कुराहरुलाई देश चलाउनेहरुले ठण्डा दिमागले सोचेर अघि बढ्ने हो भने बिस्तारै यो देशमा शान्ति भएर मुलुकको मुहार फेरिनेछ । सर्वप्रथम देश चलाउनेहरुले एकोहोरो, ढिड, घमण्डी र आसेपासेहरुलाई फिल्टर गरेर कार्यकर्ताहरुलाई कमी गर्ने हो । एउटा राम्रो नेता भएर लामो समयसम्म राज गरौं भन्ने सोच राख्नुहुँदैन। कुर्सी रोगीजस्तो भयो भने यस्तो लोकतन्त्र, गणतन्त्रको कुनै अर्थ छैन । अर्को कुरा, भगवान्ले खराब बनाए भन्दैमा खराब नै भइराख्नुहुँदैन । आफूले हेरेर पनि राम्रा मानिसहरुको कुरा सुनेर अघि बढ्न सिक्नुपर्छ अनि मात्र मुलुक राम्रो हुने हो र लोकतन्त्र ल्याउनेहरुको मिसन पूरा हुने हो । देशमा पूर्वाधार विकास सुस्त भए पनि, राजनीतिक आकार सानो भए पनि ऋणको भार बोकिराख्नुहुँदैन । यसले गर्दा विदेशीको नजरमा देश र जनता कमाराजस्ता हुनेछन् । त्यस कारण देश चलाउनेहरुको दायित्व देश र जनतालाई सधैँ स्वाभिमानी बनाउने हो । भनाइको मतलब राज्यले विदेशी ऋण बिस्तारै तिर्न सक्ने पनि क्षमता राख्नुपर्दछ ।

देशको खालि भूभागमा राज्यले कृषि लगानीको वातावरण बनाइदिनुपर्दछ । यसबाहेक देश चलाउनेहरुले उदार नीति लिएर अर्थ व्यवसायलाई पनि चुस्त बनाउन सक्नुपर्छ । यसको लागि देश चलाउनेहरु कडा, इमानदार र उदार नीति अपनाएर अघि बढ्ने हा,े नकि आफ्नो फाइदा र स्वार्थका लागि आसेपासे, कार्यकर्ता र बिचौलियाहरुसँग मात्र हातेमालो गर्ने हो ? देशमा सरकारहरु फ्लप हुनु र सधैँ नेताहरुले जनताको गाली खाइराख्नुपर्ने कारण पनि यही नै हो । तैपनि जति बेला पनि यिनीहरु चुप लागेर बसेका हुन्छन् । हुन सक्छ प्रभुले नै हामीलाई सताउन अदृश्य तरिकाले यिनीहरुको हातगोडा बाँधेर राखेका छन् तापनि यस्ता कुराहरुलाई बुझेर बदलिने कोशिश गर्नुपर्छ देश चलाउनेहरु । किनकि अब भने अति भएको छ । देशमा अहिले भ्रष्टाचार त छँदै छ । प्रायः सबै पक्ष भ्रष्ट भएका कारण अहिले यिनीहरुको अन्त्य गर्न नसके पनि भविष्यमा आउने पुस्ता र समयले यिनीहरुलाई छोड्नेछैन, स्मरण रहिरहोस् । किनकि दिन सधैँ एकनासको हुँदैन । खराब दिन, राम्रो दिन सबैको आउँछ । सिर्फ यसलाई मनमा राख्न सक्नुपर्दछ मानिसहरुले ।

अनेक स्टन्टबाजी गरेर देशमा मानिसहरु लोकतन्त्र, गणतन्त्रहरु ल्याउने गर्दछन् । तर यसबाट देशमा सर्वसाधारणले जीवनको राम्रो, रमाइलो अनुभूति गर्न सक्दैनन् भने योभन्दा ठूलो अभिशाप अरु केही हुँदैन । तर यसमा यिनीहरुलाई मात्र दोष दिइराख्नुभन्दा हामी समाज, सर्वसाधारण, जनता आदि पनि अल्लड, लालच, स्वार्थले गर्दा भागीदार छौं । त्यसकारण सबै पक्ष बदलिनु आजको आवश्यकता हो ।

अन्त्यमा एउटा कुरा व्यक्त गर्न चाहन्छु, हाम्रो देशमा सरकार तथा नेताहरु असफल हुनुको कारण ज्ञान र राम्रो भिजन नहुनु नै हो। यसबाहेक धेरै आसेपासे, कार्यकर्ता पाल्नुका साथै अनावश्यक अन्तर्वार्ता र भाषण अनि पार्टीका लागि हरेकतिरबाट सम्पत्ति आर्जन गरिराख्नु पनि असफलताको कारण हो । हरेक पक्षका आ–आफ्ना अवगुणहरु पनि छन् यो देशमा जसले गर्दा मुलुक सुस्त भएर अघि बढ्न सकेन। यसले गर्दा देशमा अपार धन भए तापनि देश राम्रो भएन। जे होस्, अब यसो हुनुभएन। किनभने देश राम्रो बाटोमा गइराखेको छ कि खराब बाटोमा गइराखेको हो, यहाँका मानिसहरु अझै कन्फ्युजमा छन्।