कसरी चल्दै छन् मन्त्रालय ?

कोही गुमनाम कोही विवादमा मन्त्रीहरू !

2.35k
Shares

काठमाडौं ।

वर्तमान दुई तिहाइको शक्तिशाली सरकारका केही मन्त्रीहरूले कामको लय समाएको अनुभूति भए पनि अधिकांश मन्त्रीमध्ये कोही गुमनाम छन् भने कोही विवादमा आएर प्रभावकारी काम गर्न सकेका छैनन्। संसद्का दुई ठूला दल कांग्रेस–एमालेसहित साना दलको समर्थनमा बनेको यो सरकारका मन्त्रीहरू नयाँ र केही आशा बोकेका भए पनि मन्त्रालय सम्हालेपछि आफैंभित्र अल्मलिएका हुन् ।

कतिपय मन्त्रीहरू पुराना र अनुभवी भए पनि तिनले काममा कुनै गति दिन सकेका छैनन् । नेपाली कांग्रेस प्रमुख साझेदारी रहेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा पुरानाभन्दा नयाँलाई प्राथमिकताका साथ मन्त्रीको जिम्मेवारी दिइएको छ । राजनीतिक स्थिरता, विकास सुशासन र समृद्धिसहित जनतालाई परिणाममुखी सेवा दिने उद्घोषका साथ बनेको यो सरकारको मन्त्रीमण्डलमा नयाँ अनुहार पठाएर कामलाई प्रभावकारी बनाउने योजना रहे पनि मन्त्रीले कसरी मन्त्रालय चलाएका छन् भन्नेसमेत थाहा छैन ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ज्येष्ठ नागरिक महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह सुडी, सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, सहरी विकास मन्त्री प्रकाशमान सिंह, कानुनमन्त्री अजय चौरसिया, रक्षामन्त्री मानवीर राईले गुमनाम मन्त्रीका रूपमा पहिचान बनाएका छन् । उनीहरूले मन्त्रालयमा बसेर के गर्दै छन् भन्ने कमैलाई मात्रै थाहा होला । केही पुराना र अनुभवी भनिएका मन्त्रीहरू आफ्नै सचिवालयका व्यक्तिहरूको घेराबन्दीमा रहेर विभिन्न सेटिङमै व्यस्त हँुदा नागरिकलाई अनुभूति हुने गरी प्रभावकारी काम गर्न नसकेको आरोपसमेत लाग्ने गरेको छ ।

नयाँ मन्त्रीहरूका लागि कर्मचारी संयन्त्रले घुमाउँदा कामको मेलोमेसो नै पत्ता लगाउन नसक्नु अहिलेका मन्त्रीहरूमाथि चुनौती बनेको पूर्वप्रशासकहरूको टिप्पणी छ । नयाँ मन्त्रीलाई मन्त्रालयका बारेमा बुझ्नै यतिका समय लाग्नुले उनीहरूको हैसियत पत्ता लागेको एक पूर्वप्रशासकले बताए । केही मन्त्रीहरू गुमनाम भइरहँदा कतिपय मन्त्री अनावश्यक बोलेर विवादमा आउने तर, प्रभावकारी कार्यसम्पादन गर्न नसक्नेहरू पनि यही मन्त्रीमण्डलमा रहेका छन्।

मन्त्री आफैंले नै कर्मचारीतन्त्रको घेराबन्दीमा परेको भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिएका छन् । केही समयअघि कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पण्डेले पार्टीको बैठकमै कर्मचारी तन्त्रको घेराबन्दीमा मन्त्रालय परेकाले मन्त्रीले काम गर्न नसक्ने परिस्थिति रहेको अभिव्यक्ति दिएर विवादमा तानिनुभएको थियो। त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्री अधिकारीले सहकारीमा बचत गर्ने, व्यापार गर्ने, जग्गा दलाल गर्ने अनि सहकारी डुबेपछि सरकारले पैसा फिर्ता गर्ने कुरा सम्भव नभएको बताएपछि उहाँमाथि आमरूपमा विरोध भएको थियो भने यो विषयमा प्रधानमन्त्रीले नै सचेत गराउनुपरेको थियो।

उता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा पुगेर प्रहरी अधिकृतलाई जिब्रो थुतिदिन्छु भनेर थर्काएको विषय निकै चर्चित बनेको थियो । उक्त विषयमा प्रधानमन्त्री ओलीले आपत्तिका साथ मन्त्रीलाई जथाभाबी नबोल्न भन्दै सचेत गराउनुभएको थियो ।

मन्त्रालय सम्हालेको चार महिना बितिसक्दासमेत मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट हुनुहुन्न । प्रधानमन्त्रीले आफ्नै पार्टीबाट मन्त्री बनेका केही मन्त्री फेर्ने तयारीमा रहेको विशेष स्रोतको दाबी छ । गत असार ३० मा गठन भएको नयाँ सरकारमा ३१ असारमा एकैपटक मन्त्रीको शपथ गराएर फूल गियरमा चलाउने घोषणा गरे पनि सोअनुसार काम हुन नसक्दा सरकारप्रतिको विश्वासमाथि प्रश्न खडा हुने अवस्था आएको सत्तारुढ दल नेपाली कांग्रेसका एक नेताले नेपाल समाचारपत्रलाई बताए ।

यो सरकारमा नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १२, एमालेले ८, जसपा २ र लोसपाका १ जना मन्त्री छन् । तीमध्ये एमालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुराना हुन् । दामोदर भण्डारी र बलराम अधिकारी यसअघिको सरकारमा चार महिना मन्त्री भएका थिए । तीबाहेक देवेन्द्र दाहाल, मानवीर राई, विद्या भट्टराई, राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अधिकांश मन्त्रीहरू पहिलोपटक सरकारमा गएका हुन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमानसिंह पटकपटक मन्त्री बनेका पुराना नेता हुनुहन्छ । तेजुलाल चौधरी यसअघि शिक्षा राज्यमन्त्री बन्नुभएको थियो भने अजयकुमार चौरसिया २०५८ मा स्थानीय विकास सहायकमन्त्री हुनुहुन्थ्यो। रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, बद्री पाण्डे, दीपक खड्का, रामनाथ अधिकारी, ऐनबहादुर शाही, वन राज्यमन्त्री रूपा विक र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पहिलोपटक मन्त्रीको जिम्मेवारीमा पुगेका हुन् ।

यस मन्त्रीमण्डलमा सबैभन्दा धेरैपटक मन्त्री बन्नुभएका नेता शरतसिंह भण्डारीका लागि राज्यमन्त्री र मन्त्री गरी यो क्याबिनेट १७औं हो । त्यस्तै, जसपाका नेता प्रदीप यादव पनि गत प्रचण्ड सरकारमा ४ महिना स्वास्थ्य मन्त्री बन्नुभएको थियो। यसरी हेर्दा प्रायः सबै मन्त्रीहरू नयाँ जोसका साथ सरकारमा सहभागी भए पनि परिणाम राम्रो आउन सकेको छैन।