मुल्मी समाज सेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान


काठमाडौं ।


यसवर्षको रुद्रलाल मुल्मी समाज सेवा पुरस्कार बंगलादेशकी मानवअधिकार योद्धा तथा मुक्ति आन्दोलनकी नेतृ सुल्ताना कमललाई दिइएको छ ।

छत्रलक्ष्मी–रुद्रलाल मुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार सुल्ताना कमललाई प्रदान गरेका थिए ।

नेपालका अग्रज समाजसेवी तथा गान्धी प्रचारक मुल्मीले ७ दशकभन्दा बढी समय सामाजिक विकासका कार्यमा विताएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका मुल्मीले गान्धी आश्रम र असहाय महिलाका लागि गृह स्थापना गरेका थिए । उनलाई सामाजिक क्षेत्रमा एक प्रतिबद्ध मानव अधिकारकर्मी, समाज सुधारक र गान्धी विचार र विचारका प्रवर्द्धकका रूपमा स्मरण गरिन्छ ।

उनैको नाममा विगत ४ वर्षदेखि प्रदान गरिंदै आएको पुरस्कार बंगलादेशकी ७२ वर्षीय योद्धा सुल्तानालाई दिइएको हो । सुल्ताना कमल पाकिस्तान र बंगलादेश विभाजन अघिका दिनदेखि प्रगतिशील आन्दोलनमा संलग्न भएकी थिइन् । देशको सांस्कृतिक स्वायत्तताका लागि सङ्घर्ष, विश्वव्यापी धर्मनिरपेक्ष शिक्षाको आन्दोलन, सन् १९६९ को जनआन्दोलन, १९७१ को बंगलादेशको मुक्ति युद्धलगायत विभिन्न सामाजिक आन्दोलनहरूमा सक्रिय भएकी सुल्ताना कमलले विभिन्न संघसंस्थाका अलावा शिक्ष

उनी धार्मिक र जातीय अल्पसंख्यकहरूको अधिकारको लागि सक्रिय पनि छिन । उनले धर्म निरपेक्षका लागि खेलेको भूमिकाबाट असन्तुष्ट एउटा इस्लामिक समूहले दुईपटक उनको घरमा बम पडकाइ मार्ने प्रयास गरेको थियो । पुरस्कार वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल र बंगलादेशका मुक्ति आन्दोलनमा जनताको सक्रियता उस्तै प्रकारको रहेको र बंगलादेशसँग नेपालको सम्वन्ध तुलनात्मक रुपमा गाढा रहेको बताए ।

नेपालमा र बंगलादेशमा रहेका मानवअधिकारकर्मीहरुको योगदानले गर्दा नै नेपाल र बंगलादेशमा अन्य सार्क राष्ट्रहरुका तुलनामा मानवअधिकार मजबुत रहेको बताए । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा बंगलादेशका पूर्व राजदुत प्राडा चोपलाल भुसालले बंगलादेशका जनताहरुले र सरकारले नेपाललाई अत्यन्तै मित्रवत रुपमा हेर्ने गरेको र नेपाली संस्थाले बंगालदेशकी योद्धालाई गरेको सम्मानले जनस्तरबाट सम्वन्ध मजबुत बनाउन ठोस योगदान दिने बताए ।

वर्क फर बेटर बंगलादेशका गौस पियरी (मुक्ति) ले नेपाली संस्थाको साथ र सहयोगमा बंगलादेशमा सुर्ती नियन्त्रण, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेको जानकारी दिए । सम्मानित व्यक्तित्व सुल्ताना कमलले आफ्नो योगदानको कदर नेपाली जनताबाट समेत भएकोमा गौरवान्वित भएको बताइन् ।

कार्यक्रममा छत्रलक्ष्मी –रुद्रलाल मुल्मी फाउन्डेसनका अध्यक्ष शान्तलाल मुल्मीले सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्ने समाजसेवीहरुको खोजी गर्दै पुरस्कार प्रदान गर्दै जाने बताए ।

कार्यक्रममा मानवअधिकार आयोगका सदस्य डा. लिली थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवअधिकारकर्मी प्रा. कपिल श्रेष्ठगायतले बंगलादेश नेपालको जनस्तरको सम्वन्धबारे चर्चा गरेका थिए ।