ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी


काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता नभएको मस्कोले दाबी गरेको छ। यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय बाहिर आएको थियो।

तर क्रेमलिनका प्रवक्ताले ट्रम्पले पुटिनलाई फोन गरेको र दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको दाबीलाई अस्वीकार गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई पूर्णतया गलत सूचना भन्दै ट्रम्प र पुटिनबीच कुनै फोन वार्ता नभएको स्पष्ट गरेका छन्।

यसअघि वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा ट्रम्पले पुटिनलाई फ्लोरिडास्थित उनको रिसोर्ट मार-ए-लागोबाट फोन गरेको र दुवैले युक्रेन युद्धको समाधानका लागि छलफल गरेको दाबी गरेको थियो। ट्रम्पले चुनावी र्‍यालीका क्रममा आफूले कुनै किसिमको युद्ध सुरु नगर्ने र जारी युद्धहरू अन्त्य गर्ने बताउँदै आएका छन्।

ट्रम्प विजयी भएपछि अब उनले रुस-युक्रेन युद्ध, इजरायल हमास युद्धलाई कसरी रोक्छन् यस यी युद्ध रोक्न कस्तो भूमिका खेल्छन् भन्नेमा विश्वको चासो रहेको छ।