कल्पको अर्थ हिन्दू पञ्चाङ्गअनुसार चौध मन्वन्तर वा एक हजार महायुग अर्थात् ४ अर्ब ३२ करोड मानव वर्ष बताइएको कालको साह्रै ठूलो विभागलाई बुझाउँछ । यसै अन्तर्गत सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुगसमेत पर्दछ। पुराणअनुसार प्रत्येक कल्पलाई ब्ह्माको एकदिन मानिएको छ। यी ४ युगमध्ये हामीलाई कलियुगको मात्र थोरबहुत ज्ञान, आभास, झझल्को र अनुभव छ।
अन्य सत्य, त्रेता, द्वापर तीन युगका बारे त पुराण, पाठ, वेद, शास्त्र, स्तोत्र, गीता, मन्त्र, तन्त्र, जप, तप, कथा, कहानी, चुटकिला, उखान, टुक्का आदिद्वारा सुनिएको, पढिएको, सिकाइएको, पढाइएको, घोकाइएको, भजाइएको, चित्रण गरिएको बखान र वर्णन मात्र हो अर्थात् प्रत्यक्षरुपमा हामीले भोग भुक्तान गरेको त अवश्यै होइन तापनि बाजे, बराजु, जिजुबराजु आदिले सिकाएर गएको पाठलाई पुर्खाको मान–सम्मानको लागि पनि ग्रहण गर्नु युक्तिसंगत देखिन्छ । तसर्थ अपवादबाहेक अन्य सिलसिला सत्यनिष्ठ, लिपिबद्ध, नीतिनियमबद्ध नै छ र हुनुपर्छ जस्तो लागेको छ।
सत्ययुगमा त सबै कामकुरो सत्यतामा आधारित हुन्छ र विरोधाभास नै हुँदैन भनिन्छ । अनि विरोधाभास हुनु नै कसरी ? जब उनीहरु हुन्छ, सिवाय हुँदैन र नाइँनास्ती भन्नै जान्दैनन् र जे लाऊ, जे खाऊ, जति खाऊ भन्दा पनि हुन्छको पारामा टाउको हल्लाउनुबाहेक अरु बोली मुखबाट प्रस्फुटन नै हुँदैन भने सत्ययुग राम्रो र सत्यतामा अडिग छ भन्दा फरकै भएन । भागसान्ती भन्दै जे जति बाँडचुँड भए पनि चुइँक्क नगरी आज्ञा शिरोपर र शिरोधार्य गर्ने सत्ययुगलाई किमार्थ खराब भन्न त सकिंँदैन होला। अँ साँच्चै त्यतिन्जेल अहिलेजस्तो भाषा, साहित्य, सोच, समझ, संस्कृति, सभ्यता, रीतिरिवाज, बुद्धि, विवेक र विचारको आदानप्रदान पनि कमै भएको होला । पेट भरोस् वा नगरोस्, काँचो होस् वा पाकेको होस्, मीठो होस् वा नमीठो होस्, खुरुखुरु खानेबाहेक अरु उपाय र चारा पनि अति शून्यै थिए होलान् । तसर्थ उति बेलाको सत्ययुगलाई यति बेलाको युगले मूल्याङ्कन गर्नु अनुचित होलाजस्तो लाग्छ । सूर्यवंशी राजा हरिश्चन्द्रको युगलाई सतयुग अर्थात् सत्ययुगको रूपमा लिइएको छ। यो शतप्रतिशत धर्मनिष्ठ युगको रूपमा मानिएको छ । यसलाई छल, कपट, दम्भ नभएको युगको रूपमा पनि मानिएको छ।
सत्ययुगपछि त्रेतायुगको प्रादुर्भाव भयो । यस युगलाई ७५ प्रतिशत धर्मनिष्ठको रुपमा वर्णन गरिएको छ। यसको अधिकांश भाग आदर्श, मान, मर्यादा, माया, प्रेम, स्नेह, वात्सल्य, पवित्रता, काम, कर्तव्य आदिकै सेरोफेरोमा घुमिरहेको छ भने भगवानप्रतिको भक्तिभावना जगाइएको छ । बाबुप्रति छोराको निष्ठा र वचनको पालन, राम, लक्ष्मण, भरत, शत्रुघ्न दाइभाइको मेलमिलाप, माया, प्रेम, सौहाद्रता शिक्षाप्रद नै छ । दुरात्मा, दुश्चरित्र राक्षसहरूको संहारको अतिरिक्त परस्त्री हरण र गमनलाई घोर निन्दा र पापको रूपमा चित्रण गरिएको छ । सरसर्ती हेर्दा त्रेतायुग पनि समयानुकूल नै ठहरिन्छ।
त्रेतायुगको समाप्तिपश्चात् द्वापरयुगमा भने व्यक्तिको सोच, समझ, स्वभाव, चरित्र र विचारमा समेत व्यापक मतभेद, मतमतान्तर, तर्क, वितर्क, विमति, विसङ्गति, वैमनस्यता, विभाजन, वादविवाद, अन्तरक्रिया, धर्म/अधर्मबारे विश्लेषण, व्याख्या हुँदै स्वतन्त्रताको सीमारेखा, हद आदिमा समेत द्रुततर करकलह, वैरभाव बढ्दै चालबाजी, कूटनीतिक भाग्य र बोलीवचनको हानथाप पनि प्रचुर भएको अनुभूति पाइएको छ। देशको भलोको लागि समर्पण, त्याग र बलिदानको रूपमा उतरित ‘भीष्म प्रतिज्ञा’लाई अधर्म एवं अविवेकपूर्ण निर्णय र निष्कर्षको रूपमा अथ्र्याई विवेचना गरिएको छ।
महाभारतको युद्धमा कृष्ण भगवानले ‘म हतियार उठाउँदिन’ भनी वचन दिँदा भीष्मले कृष्ण भगवानलाई हतियार उठाएरै छाड्छु भनी अठोट गरेकोमा आखिर कृष्ण भगवानले भीष्मलाई मार्छु मनी हतियार उठाउँदा पनि ‘भक्तोँ के लाज रखने के लिए भगवान ने अपना वचन तोडडाला’ भनी चोखिनुभएको वाक्य अत्यन्त कूटनीतिक, मार्मिक, चातुरिक तथा तार्किक रहेको छ। मेरो नजरमा महाभारतमा अनेकौँ कूटनीति, जोरजुलुम, वचनभंग, अनादर, मान हानि आदि कार्यहरू कौरव र पाण्डव दुवै पक्षबाट भएका छन् तापनि धर्म र अधर्मको सवालमा भने मौनव्रत लिनुसिवाय अर्को विकल्प देखिन्न अर्थात् अधर्मको नाशको लागि धर्मीले पनि अधर्मको बाटो अपनाउँदासमेत न्यायसङ्गत देखाइएको छ। जे होस्, द्वापरयुगसम्म आइपुग्दा त नीति, कुनीति, धर्म, अधर्म, संस्कृति, सभ्यता, संस्कार, जातभात, रीतिरिवाज, परम्परा, चलनचल्ती, सनातन धर्म, इत्यादिमा समेत हदैसम्म गुनासो, मतभेद, विरोध, विखण्डन, फुट, असन्तोष व्याप्त हुँदै निकै परिमार्जन र फेरबदलको आवश्यकता औँल्याइएको छ । अनि यज्ञबाट धृष्टद्युम्न र द्रौपदीको जन्म, सिखण्डीको कहानी, कृपाचार्य, अश्वत्थामा, कृतवर्मा चिरञ्जीवी हुनुको रहस्य, ब्रह्मास्त्रद्वारा गर्भमै मृत बालकको कृष्णद्वारा जीवदानलगायत कथा, कहानी र घटनाहरू आफैँमा प्रश्नयुक्त, कौतूहल, अविश्वसनीय र शङ्काको घेरामा समाहित छन् भने गान्धारीको श्रापको कारण यदुवंशको नाश, द्वारिका नगरी नै समुद्रमा विलीन, श्री कृष्णाकै परमधामलाई ज्ञानवद्र्धक पाठको रूपमा समेत लिन सकिन्छ। यसले श्रापको शक्ति र महिमालाई पनि बोध गराएको प्रतीत हुन्छ।
महाभारतकै सिलसिलालाई थप बल मिल्ने गरी यक्ष (धर्मराज) ले युधिष्ठिरलाई गरेको प्रश्नको अंश प्रस्तुत छ । यक्षले युधिष्ठिरलाई ‘धर्म ऋषिमुनिहरुको विचारधारामा छ कि ?’ भनी प्रश्न गर्दा युधिष्ठिरले छैन’ भन्दै ऋषिमुनिहरूको विचारधारासमेत धर्मको बारे एकमत नभएको धारणा व्यक्त गरे। यसो भए धर्म कहाँ छ त भनी प्रश्न सोद्धा युधिष्ठिरले धर्म व्यक्तिको हृदयको गुफाभित्र छ भनी उत्तर दिए । वास्तवमा धर्मको विषयमा म पनि कतिपय अवस्थामा रनभुल्लमा परेको छु। उदाहरणार्थ हामीले पल्लु नामक एक कुकुर घरमा पालेको थियौँ । समय, काल गुज्रिँदै त्यो कुकुर मरणासन्न अवस्थामा पुग्यो। चिकित्सकले पनि माया मारिसकेका थिए। दानापानी लिन छाडेको थियो। हिकी–हिकी सास मात्र बाँकी भई प्राण छोड्न नसकेर छटपटाइरहेको थियो। मलाई त्यो बिजोग हेर्न असह्य भयो । सुई दिई कुकुरलाई चाँडै मुक्ति दिऊँ कि भनी श्रीमतीलाई सोधेँ । उनीले ‘हुन्न–हुन्न, यसले जति भोग्नुपर्ने हो, भोग्न देऊ’ भन्दा सुई दिइएन । भोलि वा पर्सिपल्ट कुकुरले कुइँ आवाज निकाल्दै प्राण छाड्यो । मैले पनि सदासयताले नै मुक्ति दिऊँ भनेको र उनीले पनि असल भावनाले नै भोग्न देऊ भनेकी हुन्।
यस्तै अवस्था मेरो आफन्त पर्ने दाइ दमको व्यथाले थलिई भेन्टिलेटरमा राख्दा भएको थियो। आखिर सल्लाहअनुसार भेन्टिलेटरबाट निकाली चाँडै मुक्ति दिइयो भनौँ न । अझ धर्ममै जोडिँदै बाल्यकालको यादगारको पोको खोल्दै छु । बाल्यकालमा बेलाबखत समूह भई काठमाडौंस्थित १२ वडामा रहेको पचली भैरव मन्दिर दर्शन गर्न जाने–आउने गरिन्थ्यो । दर्शन गरेर फर्कंदा सडकको साँध (दायाँ लागे टेकु र बायाँ लागे ललितपुर) मा सानो खुला मैदानमा मूर्ति आकारको शिला थियो । त्यसलाई बोक्सीको संज्ञा दिने प्रचलन थियो । त्यस ठाउँमा आइपुगेपछि हामी त्यस बोक्सी अर्थात् डङ्किनीलाई ढुंगाले हान्ने गर्दथ्योँ र घर फर्किन्थ्यौँ । त्यस बोक्सी देउता भनेको टुनामुना गर्ने स्त्री र कुभलो गर्ने देवताको रूपमा हामीलाई बताइएको थियो । अहिले त त्यहाँ पनि निकै सुधार भइसकेको छ । बोक्सीको कुरा त उहिलेको कुरा खुइलियो भनेझैँ अत्तोपत्तो छैन।
वास्तवमा धर्मको माने व्यक्तिको आफ्नो मनको भाव, सोच र चिन्तन हो। व्यक्तिको अन्तष्करणको प्रार्थना र प्रस्फुटन हो। धर्म नीतिनियम, संस्कृति, सभ्यता, संस्कार, रीतिरिवाज, चलनचल्ती, आदर्श, व्यवहार बानीबेहोरा, उचनीच, भेदभाव, न्यायनिसाफ, अधिकार, कर्तव्य, सत्य, असत्य आदिबारे बुझाउने वा बुझाउन खोज्ने ज्ञानको स्रोत हो। मानव कल्याणको लागि चलाइएको वा बनाइएको ज्ञानको स्रोत हो। समय, युग, काल र परिस्थितिको फेरबदलसँगै धर्मको विश्लेषण, परिभाषा, आकार एवं स्वरूपमा अदलबदल, परिवर्तन, हेरफेर हुनु स्वाभाविकै छ। यो गतिशील तथा चलायमान छ। समयको धारअनुसार धर्मको रूपरङ्ग, स्वभावमा परिवर्तन एवं फेरफार हुन बाध्य तथा विवश छ । नमुनाको लागि हाम्रो देशमा पनि पहिले संतीप्रथा लागू थियो । यसलाई धर्मको रुपमा पनि जोडिएको थियो अर्थात् अर्को जुनीमा उही पति पाइन्छ भन्ने हौवा फिँजाइएको थियो । जे होस्, श्री ३ महाराज चन्द्र शमशेरको पालामा वि.सं. १९७७ साल असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको यो सतीप्रथालाई स्वागतयोग्य नै ठान्नुपर्दछ।
(क्रमशः मंगलबार)
प्रतिक्रिया