समाचारपत्रकी थापालाई पत्रकारिता सम्मान

रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड


काठमाडौं ।

अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्यान्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड र सम्मान प्रदान गर्दै आइतबार राजधानीमा समापन गरिएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा गीतकार कालीप्रसाद रिजाललाई सगरामाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्म्मानित गरिएको छ। उनलाई गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६ सय ९६ रुपियाँसहित सम्मान गरेका हुन्। त्यसैगरी सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, आठ सय ४८ नगदसहित सम्मान गरिएको छ।

सगरमाथा कला पत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मि थापालाई सम्मान गरिएको छ।यस्तै, सगरमाथा शिक्षा सेवा सम्मानबाट शिव थापा, समाजसेवा सम्मानबाट भगवान कार्की सम्मानित भए भने जुरीतर्फ यज्ञराज गिरी (राज टाइटर), कलाकार रिना थापा मगर, साउन्ड मिक्सिर मनोज परियारलाई सम्मान गरियो।

सञ्चारकर्मी दीपज्योति थापाद्वारा सञ्चालित समारोहमा वीर नेपाली सेना बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत,फिल्म ऐंचो पैंचोको काले केटालेबाट आषिश अविरल फिल्मी गीत, जुन मायाको पूजा गरेँबाट नारायण थापा पप आधुनिक गायक, सुनौली बिहानी–२ बाट सन्जना श्रेष्ठ पप आधुनिक गायिका, हे बरैबाट तारा अधिकारी पप आधुनिक गीतकार, एक चिम्टी सिन्दुरबाट सरोज कोइराला पप आधुनिक संगीतकार, म हास्दाबाट सागर खनाल पप आधुनिक मोडल, दुःख टर्या छैनबाट शिव सुुवेदी लोक दोहोरी शब्द, त्यो मन रुन्छ रुन्न खैबाट शम्भु कुँवरले लोक दोहोरी लय, घुमाउने घरबाट पुष्प खड्का र ठूलीबाट रजनी गुरुङ लोक दोहोरी मोडल, जिन्दगी त सँगैबाट दीपक गिरी म्युजिक भिडियो छायांकार, लमजुङको पानी रसिलोबाट उमेश गुरुङ म्युजिक भिडियो निर्देशक र जीवनको रेलबाट वीरेन्द्र भाट विपिन म्युजिक भिडियो सम्पादकको अवार्ड विजेता भए।

समारोहमा संयोजक मनोज थापाले स्वागत मन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गरेका थिए प्रमुख अतिथि कोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मान गर्न पाउँदा सम्पूर्ण कला जगतका साथै आफू पनि सम्मानित भएको महसुस गरेको बताए।

कार्यक्रमका सभापति तथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैङ्ककमा २५ जनाको टोलीसहित भव्यरूपमा सम्पन्न गरेको जानकारी गराए।