माइक टाइसनको उतारचढावपूर्ण जीवन

1.79k
Shares

खेलमा रुचि राख्ने जो कोहीले पनि बक्सिङ लेजेन्ड माइक गेरार्ड टाइसनको नाम सायदै सुनेको होला। २० वर्षको उमेरमा नै वल्र्ड हेभीवेट बक्सिङ च्याम्पियन बनेर इतिहास रचेका उनी ‘आइरन माइक’ को उपनामले समेत परिचित छन्।


टाइसनको जन्म ३० जुन १९६६ मा अमेरिकाको ब्रुकलिन, न्युयोर्कमा भएको थियो। दाजु रोड्नी र दिदी डेनिजपछि उनी परिवारको तेस्रो सन्तान हुन्। टाइसनकी आमा लर्ना टाइसन चार्लोट्सभिल भर्जिनियामा जन्मेकी एक यौनकर्मी महिला हुन् भने उनका जैविक बुवा जमैकाका ‘पुर्सेल टाईसन’ हुन्, जो अमेरिकामा एक साधारण ‘क्याब चालक’ थिए।

तर, जसलाई टाइसनले आफ्ना बुवा मान्थे, ती व्यक्ति भने यौन व्यवसायी जिम्मी कर्कप्याट्रिक थिए। टाइसन जन्मेको दुई वर्षपछि नै कर्कप्याट्रिकले परिवारलाई छोडेपछि टाइसनकी एक्ली आमाले बच्चाहरूको हेरचाह गर्नुपरेको थियो। जसले गर्दा टाइसनको बाल्यकाल चरम गरिबीमा बितेको थियो।


टाइसनको प्रारम्भिक जीवन अपराध र हिंसा हुने इलाकामा बितेको थियो। पिताको मायाबिना हुर्केका टाइसनमा आक्रोश, निराशा र परित्यागको भावना चरम चुलीमा थियो। टाइसनकी आमा लर्ना टाइसनले उनी र उनका दाजुभाइलाई पाल्न गर्न धेरै ठाउँमा काम गर्नुपरेको थियो।

आर्थिक अभावको पारिवारिक पृष्ठभूमिका कारण टाइसन बाल्यकालदेखि नै चोरीजस्ता साना अपराधमा संलग्न हुँदै गए। झैंझगडामा पनि उनी सामेल हुन्थे। उनले अपनाएको जीवनयापनले उनी मर्न सक्थे वा जेल जान सक्थे। क्रोध र उदण्डताका कारण थुप्रै पटक उनी प्रहरीको हिरासतमा परेका थिए। १२ वर्षकै उमेरमा टाइसनलाई चोरीको आरोपमा बाल सुधारगृहमा पठाइएको थियो। जुन उनको जीवनको एक महत्वपूर्ण मोड बन्यो।

त्यहाँ उनले बक्सिङ खेलबारे जानकारी पाए। १३ वर्षको उमेरमा कसैले उनलाई कुस डी आमाटोसँग परिचित गरायो। प्रसिद्ध बक्सिङ प्रशिक्षक कुस डी आमाटो टाइसनका लागि ‘गड फादर’ सावित भए। टाइसनले पहिलोपटक भेट्दा कुस ७९ वर्षका थिए। सायद, टाइसनमा केही खुबी देखेर नै होला कुसले टाइसनलाई आफ्नो घरमा राखे। पालन पोषणको जिम्मेवारी उठाए र टाइसनमा अनुशासन, दृढता, मिहिनेत र समर्पणको भावना भरे। उनले टाइसनलाई मार्गदर्शन, अनुशासन र बक्सिङमार्फत राम्रो भविष्यको आशा दिलाए।


इटालियन–अमेरिकी मूलका कुस टाइसनलाई बक्सिङ सिकाउन जिम्मा लान्थे। उनलाई किताब पढ्न प्रेरित गर्नुका साथै पुराना बक्सिङ क्लिप देखाउँथे। कुसले उनलाई बक्सिङको विशेष पिक–ए–बू शैली सिकाए। कुसले टाइसनमाथि विश्वास गरेका थिए। जुन विश्वासमाथि टाइसन खरो उत्रिए। कुसले बक्सिङ सिकाएको सात वर्षमै अर्थात् २० वर्षको उमेरमा नै टाइसन विश्व प्रोफेसनल बक्सिङ इतिहासको सबैभन्दा कम उमेरका हेभीवेट च्याम्पियन बने। माइक टाइसन सधँै कुसको बारेमा कुरा गर्दा आँसु झार्ने गर्छन्।

उनी कुसलाई आफ्नो बुवा मान्छन्। बक्सिङ खेलेर सबैथोक पाएका टाइसनले आफ्ना सन्तानलाई भने बक्सिङबाट टाढा राखेका छन्। यो कुरा उनले विभिन्न अन्तरवार्तामा भन्ने गर्छन्। उनले बक्सिङको कडा र खतरनाक पक्षलाई गहिरो रूपमा अनुभव गरेकाले आफ्नो सन्तानलाई यस खेलमा संलग्न नगराएको बताउने गर्छन्।

माइक टाइसनका केही रोचक कुरा
सन १९८० को दशकको अन्त्यतिर र १९९० को दशकको सुरुवातमा माइक टाइसन बक्सिङका सुपरस्टार बनिसकेका थिए। उनको चमत्कारी प्रदर्शन र बक्सिङको सशक्त शैलीले उनले सबैको ध्यान आकर्षित गरेका थिए। त्यस समयमा उनी संसारका सबैभन्दा चर्चित र लोकप्रिय बक्सिङ च्याम्पियनमध्येका एक थिए।

टाइसनको करियरको चरम समयमा उनले वर्षेनी करोडौं डलर कमाएका थिए। सन् १९८८ मा उनले एउटा खेलबाट २ करोड ३० लाख अमेरिकी डलर कमाएका थिए। जसले उनलाई विश्वका सर्वश्रेष्ठ कमाइ गर्ने एथलेटिक्सको सूचीमा समेत स्थान दिलाएका थिए।

माइक टाइसनको बक्सिङ करियरको समयमा बक्सिङ ‘पे–पर–भ्यू’ को व्यवसाय एक नयाँ उचाइमा पुगेको थियो। सन् १९८० को दशकको अन्त्यमा जब उनले हेभीवेट च्याम्पियनशिप जितेका थिए, उनको खेलको प्रत्येक पे–पर–भ्यू बिक्रीले उनलाई करोडौँ डलरको आम्दानी दिलाएको थियो।

माइक टाइसनले बक्सिङबाट आफ्नो करियरमा कुल ३ करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन्। उनको कमाइको स्रोत केवल खेलमात्र थिएन। उनले बक्सिङ प्रमोशन, विज्ञापन र सन्देशमूलक कार्यबाट पनि पैसा कमाएका थिए। माइक टाइसन र रिचर्ड क्वाइट लुइसको बक्सिङ खेल सन् १९८८ मा भएको थियो। जसमा टाइसनले शानदार जित हासिल गरेर लगभग एक करोड अमेरिकी डलर कमाएका थिए। उक्त आम्दानीले उनको नाम विश्वभर चुलिएको थियो।


टाइसनले सन् १९९७ को विश्व हेभीवेट च्याम्पियनशिप बक्सिङ म्याचको दौरान इभान्डर होलीफिल्डको कान टोकेको घटना निकै विवादाष्पद बनेको थियो। उक्त क्रियाकलापका कारण जरिवाना र सजाय पाउनुका साथै उनको करियर नै जोखिममा परेको थियो। ‘द बाइट फाइट’ नाम दिइएको उक्त घटनामा होलिफिल्डको टोकिएको कानको टुक्रा सन् २०१८ मा सात लाख डलरमा बिक्री भएको थियो।


बक्सिङबाट ठूलो रकम कमाए पनि आफ्नो जीवनशैली र विलासी खर्चका कारण उनले धेरै सम्पत्ति गुमाए। उनको खर्चले उनी वित्तीय संकटमा परेपछि २००३ मा आफू टाट पल्टेको स्वघोषणा गरेका थिए। कोकिन सेवन, किशोरी बलात्कारजस्ता जघन्य अपराधमा संलग्न भएर सजाय पाएपछि उनले सम्पत्तिमात्र नभएर साख र इज्जत पनि गुमाएका छन्।