नेपालमा उत्पादित चियाको निर्यात यस वर्ष भारतमा उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी यस वर्ष भारतमा चियाको उत्पादन करिब १४ प्रतिशतले घटेको स्थिति छ। साथै भारतसँगको खुला सीमा, पारवहन र व्यापार सम्झौताले नेपाली चियाको भारतीय बजारसम्म सहज पहुँच बढेको छ।
यसले गर्दा नेपाली चियाले भारतीय बजारमा राम्रो स्थान बनाउँदै गएको छ, भारतको पश्चिम बंगालका दार्जीलिङ र सिलिगुडी क्षेत्रमा यसको माग बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । माग वृद्धि हुँदा चियाको मूल्य पनि वृद्धि भएको छ । गतवर्ष सीटीसी चिया प्रतिकिलो सय रुपियाँभन्दा कम मूल्यमा बिक्री गरिएको भए पनि यस वर्ष १६० रुपियाँभन्दा बढी दिएर भारतीय आयातकर्ताले चिया खरिद गरिरहेको व्यवसायीहरूको भनाइ छ ।
भन्सार विभागको तथ्यांकमा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६३ करोड रुपियाँको ६२ लाख ६१ हजार किलोग्राम सीटीसी चिया भारत निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ अर्ब १० करोड रुपियाँको ४७ लाख किलोग्राम सीटीसी चिया भारत निर्यात भएको थियो। गत आर्थिक वर्षमा कुल ३ अर्ब ८ करोड रुपियाँको १ करोड ३३ लाख किलोग्राम सीटीसी चिया भारतमा निर्यात भएको विभागको तथ्यांक छ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले १ करोड ३३ लाख किलो सीटीसी चिया भारत निर्यात गरेको थियो । यस वर्ष बढेर १ करोड ५० लाख किलो सीसीटी चिया भारत निर्यात हुन सक्ने अनुमान गरिएको छ। जबकि नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने र नेपालमा बर्सेनि २ करोड किलोभन्दा बढी चिया उत्पादन हुँदै आएको छ। त्यसको ठूलो हिस्सा भारतमा बिक्री हुने गरेको छ।
नेपालमा उत्पादित सीटीसी चियाको करिब ५० प्रतिशत र अर्थडक्स चियाको करिब ९० प्रतिशत भारतमा आपूर्ति हुने गरेको छ। गतवर्ष ३० हजार किलो ग्रीन टी नेपालले भारत निर्यात गरेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यस वर्ष गतवर्षको तुलनामा सीटीसी चियाको निर्यात ३० प्रतिशत र मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको छ। नेपाली चिया तुलनात्मकरूपमा सस्तो परिरहेको छ।
साथै गुणस्तर पनि विश्वबजारमा प्रतिस्पर्धी छ। तर, भारतीय व्यापारीहरू नेपाली चियालाई थोकमा किनेर प्याकेजिङ गरी विश्वबजारमा दार्जीलिङ चियाको रूपमा बेच्ने प्रवृत्ति पनि देखिएको छ । यसले नेपाललाई निर्यातमा अवसरसँगै चुनौती पनि हुने गरेको छ । नेपाली चियाको भारतमार्फत निर्यात गर्दा विश्वबजारमा यसको पहुँच बढिरहेको छ । तर, भारतमा पुनः प्याकेजिङ र पुनः निर्यातले गर्दा धेरैजसो उपभोक्ताहरूले यसको पहिचान ‘नेपाली चिया’का रूपमा थाहा नपाउन सक्छन् । यसले नेपाली ब्रान्डको विश्वसनीयता र पहिचानलाई प्रत्यक्ष असर पार्छ।
नेपालले चियाको गुणस्तर सुधार, मूल्यवृद्धि रोक्न र ठूला आयातकर्ताहरूसँग सम्बन्ध मजबुत बनाउन सकेमा नेपाली चिया उद्योगलाई विश्वबजारमा अझ मजबुत बनाउने सम्भावना छ। यसका लागि सरकारी नीति, योजना र पहलका साथै चिया उत्पादन प्रक्रियामा सुधार र अन्तर्राष्ट्रियस्तरमा ‘नेपाली चिया’को प्रचार र मार्केटिङलाई प्राथमिकता दिन आवश्यक छ। नेपाली उत्पादनको बिक्रीमा मात्रै ध्यान नदिएर ब्रान्डिङमा पनि ध्यान दिएको खण्डमा पहिचान र मूल्य पनि बढ्ने भएकाले सरोकार निकाय सचेत र सकारात्मक हुन जरुरी छ।
प्रतिक्रिया