बाढी पहिरोबाट भएको क्षतिको विवरण बुझाउनै आलटाल

4.89k
Shares

स्थानीय सरकारले क्षतिको यकिन विवरण उपलब्ध नगराउँदा पीडित परिवारलाई यथाशीघ्र ५ जनासम्मको हकमा प्रति परिवार १५ हजार र सो भन्दा बढी सदस्य भएको हकमा २० हजारका दरले नगद तथा अस्थायी आवासका लागि ५० हजार दिने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

 काभ्रे। 

असोज १०–१२ सम्म परेको अविरल वर्षातका कारण पुगेको क्षतिको विवरण अझै तयार गर्न सकेका छैनन । स्थानीय तहले क्षतिको यकिन विवरण उपलब्ध नगराउँदा संघ सरकारले विपदमा दिने राहत उपलब्ध गराउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले बताए । 

जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले पटक पटक विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड २०७७ बमोजिम विपद् बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुबै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्मको हकमा  १५ हजार र सो भन्दा बढी सदस्य भएको हकमा २० हजारका दरले नगद जिल्ला विपद् ब्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिलो निर्णय दलहरु तथा स्थानीय तहका प्रमुखहरु सहितको उपस्थितीमा भएको थियो । दोश्रो निर्णय कार्तिक ५ गते भएको थियो भने तेश्रो निर्णय कार्तिक १२ गते भएको थियो । तर पनि स्थानीय तहहरुले यति लामो समयसम्म विवरण उपलब्ध नगराउँदा राहत वितरण हुन नसकेको हो । त्यस्तै अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसार त्यसको समेत विवरण माग गरिएको छ । 

‘स्थानीय तहहरुलाई वडा स्तरबाट विपद ब्यवस्थापन समितिको बैठकले अनुमोदन गर्दै पालिका स्तरको बैठकबाट अन्तिम रुप दिएर क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटक पटक अनुरोध गरेका छौं’– सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले भने–‘आज कार्तिक २१ गते बुधबार पनि पुनः स्थानीय तहहरुलाई तत्कालै क्षतिको यकिन विवरण उपलब्ध गराउन पत्राचार गरेका छौं ।’ संघ सरकारले पठाएको पालिकास्तरको अनुदान भने जिल्ला प्रशासन कार्यालयले कार्तिक १४ गते पठाई सकेको छ । राष्ट्रिय विपद जोखीम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको पत्र सहित नेपाल सरकारबाट संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुलाई रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । रोशी, तेमाल, पनौती, बेतान्चोक र नमोबुद्ध नगरपालिकाले १-१ करोड अनुदान पाएका छन् भने मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली र महाभारत गाउँपालिकाले ७५-७५ लाख रुपियाँ  पाएका छन् । पाँचखाल नगरपालिकाले ५० लाख अनुदान प्राप्त ग¥यो । बनेपा र धुलिखेल अझै संकटग्रस्त पालिकामा समावेश भएका छैनन । जिल्लाका ११ वटा पालिकामा ९ करोड २५ लाख अनुदान उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

त्यस्तै बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रति व्यक्ति १ लाख रुपियाँका दरले बागमती प्रदेश सरकारका तर्फबाट प्राप्त राहत पनि पालिकाहरुलाई पठाईसकिएको छ । संघ सरकारका तर्फबाट यस अघि नै २-२ लाख  रकम उपलब्ध गराईसकिएको छ । काभ्रेमा ७९ जनाको निधन भएको छ भने ६ जना अझै बेपत्ता छन् । संघ सरकारले सोही  अवधीमा वेपत्ता भएकाहरुलाई पनि मृत्यु भएको सरह मानेर स्थानीय सरकार र प्रहरीको मुचुल्काका आधारमा राहत उपलब्ध गराउन परिपत्र गरेको छ ।