ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’


काठमाडौँ । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।

वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा रहेकी छन् । २०२० को निर्वाचनमा ट्रम्पलाई फ्लोरिडा राज्यमा चुनाव जिताउन सहयोग गरेकी वाइल्सले त्यसपछिको चार बर्ष ट्रम्पको चुनावी अभियानलाई नेतृत्व गरेकी थिइन् । ट्रम्पले यस पटकको चुनाव जितेपछिको पहिलो भाषणमा समेत आफ्नो जितमा वाइल्सको सबैभन्दा ठुलो भूमिका रहेको उल्लेख गरेका थिए ।

वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ नियुक्त गर्दै ट्रम्पले उनी अमेरिकाको इतिहासमा पहिलो महिला चिफ अफ स्टाफ हुने बताएका छन् । ट्रम्पले वाइल्स स्मार्ट, क्रियटिभ र सम्मानित महिला भएको भन्दै २०१६ र २०२० को आफ्नो चुनावी अभियानमा पनि उनको भूमिका रहेको बताएका छन् ।