पहिलो पाइला के हो ! सबैभन्दा पहिलो पाइला के हो भने तपाईँभित्र शान्ति छ भन्ने कुरालाई बुझ्नुहोस् । किनभने, अहिलेसम्म ‘तपाईँले खोजिरहनुभएको चीज तपाईँसँग छैन’ भनेर तपाईँलाई सिकाइएको छ। तपाईँलाई चाहिएको खेलौना कहाँ पाइन्छ ! बजारमा पाइन्छ। त्यसलाई किनेर ल्याउनुपर्ने हुन्छ। तपाईँलाई चाहिएको शिक्षा कहाँ पाइन्छ ? त्यो विद्यालयमा पाइन्छ। विद्यालयमा त तपाईँ जानै पर्ने हुन्छ । तर, जहाँसम्म शान्तिको कुरा छ त्यो बाहिर छैन। त्यो तपाईँभित्रै छ।
तपाईँले शान्ति आफूभित्रै छ भनेर जान्नुभएका दिन त्यो शान्ति तपाईँको चाहना नभएर आवश्यकता बन्नेछ। किनभने, तपाईँको चाहना त बदलिरहन्छ। यसकारण तपाईँको दराजमा भएको चीजलाई एक दिन तपाईँले किन्नुभएको थियो तर अहिले त्यसलाई प्रयोग गर्नुभएको छैन। त्यसैले तपाईँको चाहना फेरिइरहन्छ।
यदि मैले तपाईँको पहिलो पाइला अगाडितिर छैन भनिदिएँ भने के होला ! मानिसहरू त पाइलालाई अघि सार्नुपर्छ भन्छन्। कसरी अगाडि बढ्ने ! अगाडितिर जाने कुरा होइन, भित्रतिर जाने कुरा हो । तपाईँलाई चाहिएको शान्ति तपाईँभित्र छ। अहिले पनि छ अनि तपाईँ रिसाएको समयमा पनि हुन्छ । तपाईँले आफूलाई कुनै कारणले घृणा गर्नुभएको समयमा या तपाईँ खुशी हुनुभएको समयमा पनि त्यो हुन्छ । तपाईँ दुःखी हुनुभएको समयमा पनि हुन्छ । त्यो सदैव तपाईँभित्रै छ।
एउटा उदाहरणलाई हेरौँ । एउटा कक्षामा ४० जना बालबालिका छन् । त्यहाँमध्येका १० जनाबाहेक सबै विद्यार्थी केही पनि नगरी चुपचाप बसेका छन् । तपाईँलाई थाहै होला ती १० जनाले यदि केही खराबी गरे भने त्यहाँ बस्ने बाँकी ३० जनामा पनि त्यसको प्रभाव पर्छ । त्यस्तै शान्तिका विषयमा कुरा हुँदा अनि निजी शान्तिका बारेमा चर्चा हुँदा तपाईँले यसलाई अनुभव गरेपछि मात्रै बुझ्न सक्नुहुन्छ । त्यसपछि तपाईँले भन्नुहुनेछ, ‘हो ! अब मैले शान्तिको अनुभव गरेको छु ।’ जुनसुकै देशको मानिस भए पनि, जस्तोसुकै मानिस भए पनि ‘घोकेर’ सिकेको कुरामा तपाईँले केही पनि भन्न सक्नुहुन्न । तथापि, अनुभवबाट सिकेको कुरामा तपाईँले भन्न सक्नुहुन्छ, ‘यो यस्तो हुन्छ ।’ यसर्थ शान्ति अनुभव गर्ने कुरा हो ।
कारागारमा समेत शान्तिको अनुभव हुन सक्छ । आजीवन कारावासको सजाय पाएकाहरूमा पनि अनुभव हुन सक्छ । यदि त्यस्ता मानिसहरूको जीवनमा समेत आशा पलाउन सक्छ भने जहाँसुकैका अत्यन्तै गरिब, असाध्यै धनी वा जोसुकैले पनि शान्तिको अनुभव गर्न सक्छ ।
कसैले मलाई तिर्खा लागेको छ भन्यो भने मैले उसलाई चार गिलास पानी दिऊँ । फेरि अर्को कोठाबाट मलाई कसैले सोध्छ, ‘त्यो कोठामा भएका ती तिर्खालु मान्छेको तिर्खा मेटियो ?’ अनि मैले उसलाई उत्तर दिऊँ, ‘मैले त उसलाई चार गिलास पानी दिएर आएको हो । पक्कै पनि उसको तिर्खा मेटियो होला।’ तर, यदि उसले पानी पिएकै छैन भने कसरी तिर्खा मेटिन्छ र ? शान्ति पनि यस्तै कुरा हो । मानिसहरूले त यदि हामीले लडाइँ, झगडालाई रोक्यौँ भने शान्ति हुन्छ भनेर सोच्छन्। त लडाइँ कसरी शुरु भयो! शान्ति त पहिल्यै थियो अनि लडाइँचाहिँ कसरी शुरु भयो ! लडाइँ त एउटा प्रणाली हो। जस्तो रुघा लाग्यो भने खोकी पनि लाग्छ, नाकबाट सिँगान पनि बग्छ । यो त सबै प्रणाली हो। यसर्थ सबै कुरा त्यही शान्तिको अभावका कारण भइरहेको छ। वास्तवमा मानिसलाई निजी शान्तिको आवश्यकता पर्दछ। निजी शान्ति नभएसम्म यो संसारमा कहिल्यै शान्ति हुन सक्दैन।
दुईवटा मैनबत्ती छन्– एउटा निभेको छ अनि अर्को बलिरहेको छ।
दुवै मैनबत्तीलाई तपाईँले नजिकमा ल्याउनुभयो भने के हुन्छ ! निभेको मैनबत्ती पनि बल्न शुरु गर्नेछ । यो प्रकृतिको एउटा कानुन हो । यदि तपाईँ बलिरहनुभएको मैनबत्ती बन्नुभयो भने तपाईँका सामुमा आउने निभेका दियाहरू पनि बल्न थाल्नेछन् । मानिसहरू के सोच्छन् भने, ‘यति धेरै मानिसहरूलाई शान्ति दिने कुरा असम्भव छ । सबैलाई कसरी शान्ति दिन सकिन्छ र !’ सबैको कुरा होइन, कुरा हो तपाईँको । अङ्ग्रेजीमा एउटा शब्द छ– प्रिपोन्डेरेन्स ! यदि पचास प्रतिशत मानिसले मात्रै भए पनि शान्तिको अनुभव गरे भने बाँकी पचास प्रतिशतमा पनि त्यसको प्रभाव पर्नेछ ।
तपाईँ बिहानदेखि साँझसम्म जे–जे गर्नुहुन्छ, जति समय बितेर गयो, जति दिन, जति घण्टा, जति सेकेन्ड बितेर गयो नि त्यो कहिल्यै पनि फर्केर आउनेछैन । यसकारण हामीले हरेक दिनलाई खेर नफालीकन बचाउनु आवश्यक छ । मानिसहरूले गर्मी मौसममा सुन्तला या मौसमको रस निकाले जसरी अन्तिम थोपोसम्मलाई पनि नछोडीकन मज्जाले निचोर्नुपर्छ । के तपाईँ पनि यो दिनको हरेक थोपोलाई निचोर्न सक्नुहुन्छ ? हरेक क्षणभित्र लुकेको रसलाई, यसभित्र निहित शान्तिको एक–एक थोपोलाई निचोर्नुपर्छ । यो अत्यावश्यक छ । यदि आफ्नो जीवनमा यसो गर्न सक्नुभएन भने यो मानिसको शरीर पाउनुको फाइदा नै के भयो र !
मानिसहरू त भन्ने गर्छन्, ‘यसको अर्थ के हामीले सारा घर–गृहस्थीलाई त्याग्नुपर्छ ?’ पर्दैन । घरबार छोड्नु आवश्यक छैन । तपाईँको जीवनमा भएका जिम्मेवारीहरूलाई अभैm राम्रोसँग निर्वाह गर्नुहोस् । तथापि, तपाईँमा एउटा अर्को पनि जिम्मेवारी छ। तपाईँभित्र बसेका ती सृष्टिकर्ताको अनुभव गर्ने जिम्मेवारीलाई कहिल्यै नबिर्सनुहोस् ।
यो शरीर माटो हो । एक दिन यो माटोले माटामै मिल्नुपर्नेछ । तथापि, यो माटो हाँसुन्जेल, रोउन्जेल, बोलुन्जेल, नाचुन्जेल, सुनुन्जेलसम्ममा यसले आफ्नो जीवनलाई सफल तुल्याउन सक्छ । यो माटोले आफ्नो जीवनलाई सफल पारेका दिन यो माटो मात्रै रहनेछैन । यो त अमृतै अमृतद्वारा भरिएको एउटा भाँडो हुनेछ । किनभने, उसले आफ्नो जीवनमा त्यस चीजलाई पहिचान गरेको छ । त्यो चीजलाई देखेको छ, त्यो चीजलाई सुनेको छ ।
यो कुरा विश्वास गर्ने विषय नभएर अनुभव गर्ने कुरा हो । यो भनिने कुरा मात्रै होइन । म त ‘मलाई ज्ञान चाहियो’ भन्ने मानिसहरूलाई ज्ञान पनि दिन्छु । ज्ञान प्राप्त गर्नका लागि श्रद्धा हुनुपर्छ, तिर्खा हुनुपर्छ । यदि मानिसमा जिज्ञासा छैन भने उसले कुनै कुरालाई बुझ्नै सक्दैन । तपाईँभित्र भएको शान्तिलाई खोज्नुहोस् । त्यसलाई खोज्नुहोस् । जहाँ पाइन्छ त्यहीँ ठीक छ । यदि अन्त पाइएन भनेचाहिँ मकहाँ आउनुहोस् । शान्तिको अनुभव भित्रबाट हुन्छ । यदि तपाईँलाई त्यस्तो अनुभव चाहिएको छ भने म तपाईँलाई मद्दत गर्न सक्छु । तपाईँको शान्ति तपाईँभित्रै छ । यो कुरालाई बुझ्नुहोस् अनि आफ्नो जीवनमा यसको अनुभव गर्नुहोस् ।
आज पृथ्वीमा अर्बाैँ मानिस छन् । शान्तिका बारेमा हरेक मानिसका आ–आफ्नै परिभाषाहरू छन् । कसैले शान्ति प्राप्त गर्नका लागि राम्रो जागिरको चाहना राख्दछ । कोही यस संसारमा सबैभन्दा धनी मानिस बन्न चाहन्छ । हरेक मानिसले आ–आफ्नो चाहनालाई पूरा गरेर शान्ति प्राप्त गर्न चाहन्छ । मानिस भन्दछ, ‘मलाई शान्ति चाहियो ।’ संसार भन्छ, ‘तपाईँको परिवार राम्रो छ। तपाईँकोे जागिर राम्रो छ । तपाईँको घर राम्रो छ । तपाईँका छोराछोरीहरू असल छन् । तपाईँलाई अरू के चाहियो ?’ के साँच्चै नै वास्तविक शान्ति यी सबै चीजहरु प्राप्त गरेर सम्भव होला त ?
मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर, उसले ‘त्यो शान्ति’लाई आफूभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिश नै गर्दैन । त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजार बनाइरहेको छ । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भैरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो ।
आजको युगलाई विज्ञानको युग भनिन्छ । यस संसारमा मानिसले आफ्नो सुख–सुविधाका लागि के–के मात्रै गरेको छैन र ! तैपनि आज यो संसारको अवस्था राम्रो छैन । बुद्धिमान मानिसहरूले त यस्ता–यस्ता यन्त्रको आविष्कार गरिसके, जुन पृथ्वीको आकर्षण शक्तिलाई पनि छोडेर अन्तरिक्षमा जान सक्छन् र विभिन्न किसिमका कार्यहरू गर्न सक्छन् । असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव तुल्याइरहेका हुन्छन् । क्यामेरा, टेलिफोन, नेभिगेसन (जहाजको दिसा नियन्त्रण गर्ने प्रणाली) लगायत अरू थुपै्र आविष्कार गरेका छन् । एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई मानिसले आफ्ना लागि कस्ता–कस्ता सुविधाहरूको विकास गरेको छ । पृथ्वीमा बसी–बसी हज्जारौँ–करोडौँ माइल टाढा हेरेर ‘आकाशको तारा कति ठूलो छ भनेर भन्न सक्छ ।’ जसरी मानिसले ती सबै सुविधाहरू आफ्ना निम्ति सम्भव बनाएको छ त्यसै गरी यो संसारमा शान्तिलाई सम्भव बनाउनका लागि पनि मानिसले नै पाइला चाल्नुपर्छ।
यस संसारमा सुख–दुख त भइरहन्छ । कसैलाई दुःख हुन्छ त कतिलाई त्यही दुःखका कारणले खुशी प्राप्त हुन्छ। तर, मानिस यो कुरालाई बुझ्न चाहँदैन । शान्तिसँग रहेर यो जीवनलाई सफल बनाउने जुन मूल लक्ष्य छ त्यही कुरालाई बिर्सन्छ। एकखालको शान्ति त त्यो पनि हो जुन परिस्थितिमा निर्भर रहन्छ। सबै कुरा ठीक भएपछि त्यसको अनुभव हुन्छ। तर, अर्को शान्ति त्यो हो जसमा जुनसुकै परिस्थिति होओस् मानिसले आफूभित्र त्यो शान्तिलाई महसुस गर्न सक्छ। मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर, उसले ‘त्यो शान्ति’लाई आफूभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिश नै गर्दैन । त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजार बनाइरहेको छ । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भैरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो ।
खुशीको खबर के छ भने, जुन शान्तिको खोजी हामीलाई छ, त्यो हामीबाट टाढा छैन । त्यो हामीभित्रै छ । मानिसले भित्रको शान्तिलाई प्राप्त नगरेसम्म चाहे उसले जतिसुकै कोशिश किन नगरोस्, ऊ व्याकुल रहनेछ । हरेक व्यक्ति–व्यक्तिलाई शान्तिको अनुभव भएपछि मात्रै यो पृथ्वीमा शान्ति सम्भव हुन्छ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया