मतदानका लागि व्यवस्थापकीय र प्राविधिक तयारी


काठमाडौं ।

उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै स्थानीय तहको उपनिर्वाचनको सरगर्मी बढेको छ भने राजनीतिक दलहरू उम्मेदवारहरू तयसँगै चुनावी रणनीति बनाउनमा व्यस्त हुन थालेका छन्।

यही मंसिर १६ गते आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि सो दिन निर्वाचन हुनेछ ।

राजनीतिक दलहरूको अवस्थितिको ताजा जनमत परीक्षणका रूपमा लिँदै आन्तरिक तयारी तीव्र बनाएका हुन् भने निर्वाचन आयोगले मतदानको लागि व्यवस्थापकीय र प्राविधिक तयारी अघि बढाएको छ। आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुरूप तयारी गरिरहेको छ।

आयोगको उम्मेदवारको मनोनयन दर्ताको लागि उपनिर्वाचन हुने स्थानीय तह र वडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहेको छ।

आयोगका अनुसार मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता गरिने छ । आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिएको छ । यसले गर्दा अब राजनीतिक दलहरूले जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर र बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । ती तीन वटै स्थानीय तहमा हाल पुरुष मेयर/अध्यक्षमा पुरुष छन्।

त्यसै गरी कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला भएकाले ती स्थानीय तहमा दलहरूले महिला वा पुरुष उम्मेदवार भने बनाउन सक्छन्। संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो। महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्नसक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरूको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ। त्यसअनुसार नै दलहरूले उम्मेदवारी दिएको थियो। तर, अहिले एउटा मात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ। यसमा महिलाको उम्मेदवार अनिर्वाय हुन्न। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्तापछि साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने छ।

त्यसै गरी मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।