काठमाडौँ।
अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित भएको देखिएको छ । तर, अन्तिम परिणाम भने आउन बाँकी नै छ। बीबीसीका अनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
फक्सन्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरेको छ ।
यसैबीच फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन्। “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले भने।
उनले अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए। उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
प्रतिक्रिया