नेपाली साहित्यको प्राचीनकालदेखि नै वादहरूको विषय सर्वाधिक आलोचित छ । यसलाई आलोचना तथा समालोचनासमेतका दृष्टिले हेरिए तापनि वर्तमान परिप्रेक्ष्यसम्म आइपुग्दा यस विषयमा तात्त्विक निष्कर्ष आएको देखिँदैन । एकथरी स्थापित लेखकहरूको जमातले भनिरहेको छ, ‘सिर्जना आलङ्कारिक हुनुपर्छ। वादबाट मुक्त हुनुपर्छ। यसले सर्वपक्षलाई केन्द्रमा राख्नुपर्दछ।’
अर्को थरी स्थापित लेखकको जमात यस मतको ठीक उल्टो ध्रुवमा पुगेको देखिन्छ । उनीहरूको भनाइ छ, ‘साहित्य केवल वाद (जातीय, वर्गीय, क्षेत्रीय) मा आधारित हुन्छ र वादमा आधारित सिर्जना नै शक्तिशाली सिर्जना हो।’ नेपाली काव्यक्षेत्रमा पनि यसको पूर्ण प्रभाव परेको देखिन्छ । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका मूर्धन्य साहित्यकारसमेत उल्लिखित विषयमा एकै ठाउँमा उभिन सकेनन् । यसको प्रभाव नेपाली आख्यान साहित्यमा पनि परेकै छ । यति बेला काव्यका न्यूनतम मूल्य र मान्यताको समेत अनुशरण नगरी पुस्तकाकृति प्रकाशन गर्ने प्रचलन बढेको छ । यसो हेर्ने हो भने नवपुस्ताका नवीन सिर्जनामा पनि वादको प्रभाव समानान्तररूपले फैलिरहेको स्पष्ट हुन्छ । प्रस्तुत खण्डमा कवयित्री जुनू रानाकृत ‘रातो नदी’ कवितासङ्ग्रहमाथि संक्षिप्त वाद र चेतनाको द्विपक्षीय अध्ययनलाई पृष्ठपोषण गरिएको छ।
समग्रमा सामाजिक स्थिति, अन्याय र शोषणको शाब्दिक एवम् शालीन प्रतिरोध, आदर्श समाज निर्माणका पक्षहरूको पृष्ठपोषणलगायत सुन्दर पक्षलाई नारी चेतनाका माध्यमद्वारा समीपबाट नियाल्ने कवयित्रीको प्रयास प्रशंसनीय छ ।
वर्तमान समयमा साहित्य क्षेत्रलगायत अन्य क्षेत्रमा नारीवाद (महिलावाद), जातिवादसँगसँगै विविध वादहरूले उग्रस्थान ओगटेका छन् । नेपाली साहित्यमा प्रत्येक वर्ष प्रकाशन हुने नवपुस्तकमा औसत ८० प्रतिशतभन्दा बढी पुस्तक वादकै घेराभित्र अड्किएका देखिन्छन् । कतिपय लेखक एवम् विद्वान् समीक्षक/समालोचकहरूले वाद र चेतनालाई एकै वक्ररेखाभित्र हालेको पनि भेटिन्छ । यद्यपि वाद र चेतना दुवै अलग–अलग ध्रुवमा अवस्थित छन् । वादले केवल पृष्ठपोषणमात्र गर्दछ । जसमा पूर्वाग्रही भावनाको समेत विकास भएको हुन्छ । चेतनाले सत् र असत्बीचको भिन्नता छुट्याउने गर्दछ । यसले बुद्धि र विवेकको भरपूर प्रयोग गर्ने ल्याकत राख्दछ । जुनूकृत यस ‘रातो नदी’ मा पनि कहीँ–कहीँ वादको छनक देखिन्छ । तथापि कृति पूर्णरूपमा नारीवादभन्दा नारीचेतनातर्फ धकेलिएको छ । प्रमुख रूपमा उनका कविताहरूमा नारी आवाज, नारी अस्तित्व, अस्मिता, सांस्कृतिक सद्भाव, मातृत्वलगायतका विषयमा केन्द्रित छन् । कवितामा सहायकरूपमा मातृभूमिप्रतिको सम्मान, वैदेशिक रोजगार, सामाजिक विभेद, स्वतन्त्रता, परनिर्भरता, वर्गीयता र विभेदीकरणसँगै विविध विषयहरू आएका छन्।
उनका कविताहरू नारी भावनाले ओतप्रोत छन् । कविताहरूमा मातृवात्सल्यको चरम सुख, मातृप्रेरणा, नारी वेदना तथा संवेदनाजस्ता पक्षहरूको सुन्दर प्रस्फुटन भएको छ । साथै आधुनिकता, मानवीय प्रवृत्ति, मानवीय चिन्तनलाई समेत सम्बोधन गर्ने सत्प्रयास कवयित्रीले गरेकी छिन् । उनका कविताहरूमा जति शालीनता प्रस्तुत भएको छ । त्यति नै आक्रोश पनि पोखिएको पाइन्छ । वंशयुद्ध कवितामा कवि भावनाद्वारा पुरुष लक्षणमाथि शाब्दिक प्रहार गरिएको छ । उक्त कवितामा पुरुष लक्षण पनि स्त्रीद्वारा नै निर्मित र संरक्षित भएको बुझ्न सकिन्छ । कवितासङ्ग्रह ‘रातो नदी’ मा अ–लालसा कविताको ढोका खुलेपछि प्रवेशद्वार खुलेको छ । सो कवितामा उनले गृहस्थ जीवनको मोह नभएका मानिसलाई सम्बोधन गरेकी छिन् । जहाँ दार्शनिकताको झझल्को आउने काव्यिक चेतना प्रस्तुत गरिएको छ । यसले मानव मथिङ्गलमा विशिष्ट स्थान ओगट्नेमा दुईमत नै हुन्न ।
प्रस्तुत कवितासङ्ग्रहको नामाकरणको विषय रोचक छ । ‘रातो नदी’ अर्थात् रगतको नदी । कहाँ छ आज रगतको नदी ? विश्व मानव समुदायका थुप्रै कार्यहरूको शुभारम्भ नै रातो नदीबाट भएको देखिन्छ । रातो नदीको सफलतापूर्ण यात्रापछि मात्र शुक्राणुबाट मानव जीवनको बीज अङ्कुरण हुन्छ । मानवीय समाजमा निर्माणका सवालमा स्त्रीहरूले प्राकृतिक प्रक्रियाद्वारा बगाएको रातो नदी (रजस्वला) को महत्त्वपूर्ण स्थान रहन्छ । मानवजीवनको शुरूवात नै स्त्री सक्षमता (रजस्वला) हो । हामी त्यसैका प्रतीक चिह्न हौँ । यस सङ्ग्रहको नामाकरण तिनै स्त्रीहरू (जसले सृष्टि सञ्चालनका लागि शरीरबाट रातो नदीलाई बहाएका छन्) प्रति समर्पित छ । कवितासङ्ग्रहभित्र ‘रातो नदी–१’ र ‘रातो नदी–२’ कविताहरू पनि सङ्ग्रिहीत छन् । १ मा परम्परागत सामाजिक दृष्टिकोणमाथि प्रतीकात्मकरूपमा प्रश्न उठाइएको देखिन्छ भने २ मा रजस्वलाप्रति सम्मान र सद्भाव व्यक्त गरिएको देखिन्छ । २ मा उनले भनेकी छिन्–
‘हरेक महिना तिमीले
आफैँभित्र रातो नदी बगाएर
निरन्तर उर्वरता जन्माउनु तिम्रो भाग्य हो ।’
यसैबाट स्पष्ट हुन्छ कि उनले नारी संवेदना र मनोभावलाई बलियो बनाउन शब्दमाथि ध्यान पुर्याएकी छिन । जुनूमा नारीवादभन्दा नारी चेतनाको भावना उच्च छ। वादभन्दा पर रहेर चेतनाको दृष्टिमा सूर्य उदाउनु त कविहरूको सौभाग्य हो । समाज यति बेला वादहरूमा जकडिएको छ। कविहरू पनि समाजकै उपज हुन्।
धेरैजसो नेपाली कविहरूमा चेतनाभन्दा वाद हाबी भएको स्पष्ट नै छ । वादैवाद हाबी भएको वर्तमान समयमा जुनूका कवितामा उदाएको चेतनाको घामले नेपाली कविता क्षेत्रलाई अग्रगामी मार्गतर्फ डोर्याएको छ। चेतनाको दृष्टिकोण यति सशक्त छ कि उनले लाहुरे कवितामा नेपाली नारी र पुरुषलाई सम्बोधन गर्दै भनेकी छिन् कि नेपालीहरूको शरीर वीर गोर्खालीका नाममा बेचिएको छ। त्यो पनि शरीरको तौल र छाती नाप्ने गरिएको छ। यो यथार्थपरक विषयले हामीलाई परनिर्भरतातर्फ लगेको छ। यसबाट हाम्रो उन्नति होइन, अवन्नति हुने भाष्य निर्माण भएको छ।
धेरैजसो नेपाली दिदीबहिनीहरू वैदेशिक रोजगारको लोभमा कसरी फसिरहेका छन् ? उनीहरूको जीवनको सिर्जनशीलता कसरी हराइरहेको छ ? यस्ता प्रश्नहरू ‘कानमा देश गुञ्जिरहन्छ’ कवितामा उब्जिएका छन् । यतिमात्र कहाँ हो र ? उक्त कवितामा कवयित्री नै वैदेशिक रोजगारमा आफू कसरी पुगिन् ? यस विषयमा अनभिज्ञ छिन् । यो जटिल विषय हो । एउटा सक्षम युवा विदेशिँदा एकजना मान्छे मात्र विदेशिएको होइन । स्वर्णिम सपनाहरू पनि विदेशिएको हो । सीप र क्षमतासमेत विदेशिएको हो भन्ने परिभाषा कवितामा प्रस्तुत छ । मान्छेका चञ्चलता, मानवीय कल्पनाका सुन्दर र घिनलाग्दा पक्षहरू, मस्तिष्क र हृदयबीचको अन्तरसम्बन्ध पनि कवितामा देखिन्छ । यसबाट कविमा भएको दार्शनिक चेत झल्किन्छ । उनले हरेक कुरालाई नवीन ढंगले हेरेकी छिन् । जस्तै–
‘मात्रै जन्म बोकेर आउँदैन
जन्मदिनले कसैको अंश
र वंशको स्थापना पनि गर्छ ।’
जन्मदिन केवल जन्मदिन मात्र होइन । उक्त दिन त अंश र वंशको स्थापना तथा विकास भएको दिनसमेत हो भन्ने पुष्टि गरिएको छ । यस्तो नवीन धारणा राख्न सक्नुले कविमा भएको प्रचूर सम्भावनालाई प्रस्फुटन गर्दछ । यस्तै उनले सीताहरू कवितामा भनेकी छिन्–
पूज्य छिन् आज पनि– ‘शास्त्रकी सीता’
तिरस्कृत छन् ‘राज्यका सीताहरू ।’
उक्त कवितांशले शास्त्रीय मान्यता र राज्यको व्यवहारमाथि प्रश्न उठाएको छ । शास्त्रको व्यावहारिक प्रयोग तथा राज्यको नियमनकारी भूमिकाका बीचको दूरीलाई सम्बोधन गरिएको छ । यस कवितामा विगत र वर्तमानको अवस्थाको समेत विश्लेषण गरिएको छ । यसरी उनले नारी चेतनाका नवीन दृष्टिहरू कवितामा पस्किएकी छिन् । यस्तै उनले ‘म मरेको दिन’ कवितामा प्रचूर मात्रामा स्वैरकल्पनालाई स्थान दिएकी छिन् । मृत्युमाथि कविता लेख्नु सचेत र सतर्कताको अभ्यास हो । नम्रताको परिभाष्य मृत्युले निर्माण गर्दछ । जसले मृत्युलाई आँखाका अगाडि राख्छ त्यहाँ जरुर केही न केही घटित हुन्छ।
समग्रमा सामाजिक स्थिति, अन्याय र शोषणको शाब्दिक एवम् शालीन प्रतिरोध, आदर्श समाज निर्माणका पक्षहरूको पृष्ठपोषणलगायत सुन्दर पक्षलाई नारी चेतनाका माध्यमद्वारा समीपबाट नियाल्ने कवयित्रीको प्रयास प्रशंसनीय छ। तर उनका कवितामा उनीमाथि नै कही कही प्रश्न उठ्ने स्थानहरू पर्याप्त मात्रामा छन् । जस्तै– धेरैजसो कवितामा उनले सचेतता अपनाएकी छिन् । शालीनताको बाटो अँगालेकी छिन्। नारी चेतनालाई महत्त्व दिएकी छिन्। कतिपय कवितामा उनले वादलाई पनि स्थान दिन खोजेकी छिन्। वाद र चेतनासँगसँगै यात्रा गर्न सक्दैनन्। जसरी पानीमा घ्यू राख्दा घ्यूले पानीमाथि पनि आफ्नो छुट्टै स्थानको खोजी गर्दछ यसरी नै वादमा चेतनाले पनि आफ्नै स्थान खोज्दछ। यस कुरामा उनको त्यति गहिरो ध्यान पुगेको छैन।
यो कवितासङ्ग्रहमा सम्पादकीय कमजोरी हुन सक्छ, तथापि उनको लेखनमा काव्यिक क्षमताको प्रौढ प्रयोग भएको छ। जुनूको ‘रातो नदी’ यथास्थितिमाथिको एउटा विम्ब हो।
प्रतिक्रिया