बिश्वमा एकछत्ररुपमा आफ्नो साम्राज्य फैलाउँदै आएको अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचन शुरु भएको छ। आउँदो ५ वर्षका लागि हुने उक्त निर्वाचनमा राष्ट्रपतिका दुई उम्मेदवारबीच कडा टक्कर हुने अनुमान गरिएको छ। यसपटकको निर्वाचनमा कसले बाजी मार्ला भनेर अहिले नै भन्न सक्ने अवस्था देखिएको छैन। वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
चुनावअघि हुने एक्जिट पोल्सले पनि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने र अहिले नै दुवै उम्मेदवारको बारेमा केही भन्न नसकिने आँकलन गर्दै आएका छन्। राष्ट्रपतिका दुवै उम्मेदवारले आफ्ना राजनीतिक एजेन्डाभन्दा पनि एक–अर्कालाई दोषारोपण गरेर आफूलाई अब्बल साबित गर्ने कोशिश गरेको देखिन्छ।
अहिले अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटबाट राष्ट्रपतिका उम्मेदवारका रुपमा रहेका कमला र डोनाल्डबीच हुने चुनावले आगामी पाँच वर्षका लागि विश्व राजनीतिमा कस्तो प्रभाव पार्छ भनेर आँकलन गर्न थालिएको छ। अहिलेसम्मको परिस्थिति हेर्दा दुवै उम्मेदवारले एकल बहुमत ल्याउने सम्भावना नरहेको र केही राज्यका मतदाताले अहिलेसम्म कुनै उत्तर नदिएकाले ती राज्य निर्णायक हुने अनुमान गरिएको छ ।
नोभेम्बर ५ को मुख्य निर्वाचनको दिनभन्दा अघि नै ७ करोड ५० लाखभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् भने बाँकी अमेरिकी नागरिक मतदान प्रक्रियामा सहभागी भएका छन् । दुवै राष्ट्रपतिका उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरे पनि केही स्विङ स्टेटको इलेक्टोरल भोटको भर पर्नुपर्ने अवस्था रहेको छ।
५० राज्यका अधिकांश मतदाताले भोट कसलाई दिने भन्ने आफ्नो मत प्रस्ट पारेका छन् भने पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, नेभादा र विस्कन्सिन राज्यका इलेक्टोरल भोट कसको पक्षमा उभिन्छ उही नै अमेरिकाको राष्ट्रपति हुने आँकलन गरिएको छ। अहिले इलेक्टोरल भोट र मतदाताको भोटको प्याटनलाई हेर्ने हो भने टम्पभन्दा ह्यारिस केही मतले मात्रै अघि रहेको देखाएको छ। राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० मत ल्याउनुपर्ने प्रावधान रहेको छ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्ने गरेका छन् । इलेक्टोरल सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्ने गरेको पाइएको छ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेको पाइन्छ। त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिने गरेका छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा अमेरिकी जनताले चिन्ने गरेका छन्। अबको केही समयपछि नै राष्ट्रपति को बन्छ भन्ने परिणाम आउने भएकाले त्यस बेलासम्म पर्खनुपर्ने हुन्छ ।
प्रतिक्रिया