अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई प्रभाव पार्ने ‘स्विङ स्टेट्स’

1.32k
Shares

चार वर्षको अन्तरालमा हुने संयुक्तराज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका लागि निर्वाचन मंगलबार सम्पन्न भएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नोभेम्बरको पहिलो मंगलबार गर्ने गरिएको छ । १६ करोड रजिस्टर्ड मतदाता संख्या रहेको यस पटकको निर्वाचनमा डेमोक्रेटिकका उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यी दुईमध्ये जुन उम्मेदवारले २७० इलेक्टोरल भोट जित्छ, उही अमेरिकाको नयाँ राष्ट्रपति हुनेछ । नवनिर्वाचित राष्ट्रपतिको कार्यकाल आगामी जनवरी २० देखि शुरू हुनेछ ।

राष्ट्रपतिको निर्वाचन परिणामले विश्वको राजनीति र अर्थतन्त्रलाई प्रभाव पार्ने भएकाले अमेरिकी राष्ट्रपति केवल अमेरिकी नागरिकको नेतामात्र नभई विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व पनि हो ।

यस्तो व्यक्तित्वको निर्वाचनमा ‘स्विङ स्टेट्स’ ले विशेष महत्व राख्छन् ।

के हो त ‘स्विङ स्टेट्स’?

यी त्यस्ता राज्य हुन्, जसमा न त रिपब्लिकनको, न त डेमोक्रेटिक पार्टीको निश्चित प्रभुत्व छ । उनीहरूको झुकाव कुनै एक पार्टीप्रति नभएकाले उनीहरूको समर्थनले चुनावी परिणामलाई निर्धारण गर्नसक्ने हुँदा ‘स्विङ स्टेट्स’ लाई शक्तिशाली मानिन्छ।

स्विङ स्टेट्समा कुन-कुन राज्य पर्छन्?

पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा ।

किन महत्वपूर्ण छन् ?

अमेरिकामा देशभरबाट सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैनन् । यहाँ सबै अर्थात् ५० राज्यमा निर्वाचन जित्न प्रतिस्पर्धा गर्नुपर्छ । यहाँको निर्वाचनमा इलेक्टोरल भोटिङ प्रणाली छ। जसमा राज्यहरूले जनसंख्याको आधारमा निश्चित संख्यामा भोट पाउँछन् । ५० राज्यमा पाँच सय ३८ इलेक्टोरल कलेज छन् । यीमध्ये दुई सय ७० वा त्योभन्दा बढी जित्ने नै राष्ट्रपति घोषित हुने हुँदा यी सात स्विङ स्टेटमा रहेको इलेक्टोरल कलेजको संख्या निर्णायक मानिन्छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन सकिएपछि पनि सबै राज्यका निर्वाचक मण्डलले फेरि डिसेम्बरमा मतदान गर्नेछन् र यही मतदानले राष्ट्रपति चयन गर्नेछ ।