नेपाल संवतमा ‘वासा र अण्डाको सगुन’ खुवाएर वृहत् प्रभातफेरी

12.78k
Shares

धादिङ,

नेपाल संवतको नयाँ वर्ष ११४५ को अवसरमा धादिङबेसीमा नेवार समुदायले सगुनको रुपमा “वासा र अण्डाको सगुन” खुवाएर प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।  

हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनबाट सुरु हुने नेपाल संवतको अवसरमा केही वर्षदेखि प्रभातफेरी र सगुन खुवाउन थालिएपछि संस्कृतिक महत्व बढेको अभियानकर्ता विनोदमान श्रेष्ठले बताए ।

नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरिएको नेपाल सम्बत अब राष्ट्रय सम्बतको रुपमा सरकारी कामकाजको रुपमा समेत चलनमा आएपछि यसको महत्व अझै बढेको छ ।

धादिङबेसि स्थित पुच्छरबजारबाट प्रभातफेरी आयोजना गरी  सिरान बजारसम्म पुगेर पुनः बिचबजार पुगी शुभकामना आदानप्रदान गरी  समापन गरिएको थियो।

प्रभातफेरीमा धिमेबाजा, बाँसुरी नेवारी पहिरनले गर्दा धादिङबेसीमा रौनक नै छाएको थियो । बजारमा प्रभातफेरी क्षेत्रका नागरिकले घडा र राष्ट्रिय झन्डा राखेर स्वागत गरेका थिए । फूलको वर्षाले गर्दा बजार नै रंगिन भएको छ ।

दासत्व जीवन व्यतित गरिरहेका देशवासीलाई ऋणबाट मुक्त गरेर मुलुककै नामबाट शङ्खधर साख्वाःले यस दिन नेपाल सम्वत् स्थापना गरेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गर्नु भएको झिकूँ नेवा समाज धादिङको महासचिव राजकुमार श्रेष्ठले बताए ।

गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

प्रभातफेरीमा नेपाल सरकारका कृषि मन्त्री रामनाथ अधिकारी, प्रदेश साम्सद गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा लगायतको सहभागिता थियो । बिचबजारमा रहेको शंखधर शाख्वाको शालिकमा माल्यार्पण गरी  कार्यक्रममा शुभकामना समेत आदानप्रदान गरिएको थियो ।