नेवारी भाषा नेपाः उपत्यकाको प्राचीन एवम् मौलिक भाषा हो । यसको उत्पत्ति काठमाडौँ उपत्यकामा भएकोमा विद्वान्हरूको एकमत छ । शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा नेपाली भाषालाई दिइएको प्राथमिकता तथा पञ्चायती व्यवस्थाको एक भाषिक नीतिका कारण यो भाषाको विकासक्रममा केही सुस्तता आए पनि प्रजातन्त्र पुनस्र्थापनापश्चात् नेपाली मिडियामा निजी क्षेत्रको संलग्नताले यस भाषाको विकासमा पनि मद्दत पुगेको देखिन्छ ।
नेपाल भाषाको विकास तथा विस्तार लिच्छवि एवम् मल्लकालमा भएको भन्ने तथ्य तत्कालीन समयमा रचित विभिन्न साहित्यिक कृति तथा तत्कालीन शिलालेखहरूले पुष्टि गर्दछन् । नेपालभाषाका महाकवि सिद्धिदास महाजु र राजा महिन्द्र मल्ल (१५६०–१५७४) नेपालभाषाका आदिकवि हुन् ।
यस भाषामा लेखिएको प्रथम अभिलेखको रूपमा इ.सं. १११४ को ललितपुर रुद्रवर्ण महाविहारस्थित ताडपत्रलाई मानिन्छ । मल्लकालको उदयसँगै राजकीय मान्यता पाएपछि यस भाषाले राम्ररी फल्ने फुल्ने मौका पायो । यही अनुरूप १४औँ शताब्दीमा आएर हरमेखला, नारद संहिता, अमरकोश, गोपालराज वंशावली आदिजस्ता महत्त्वपूर्ण ग्रन्थहरू नेपाल भाषामा नै रचना हुन पुगे । त्यस्तै, तत्कालीन आवश्यकता र शासकहरूको रुचिअनुसार विविध विषयको प्रशस्त वाङ्मय ग्रन्थहरूको रचना भए । फलतः नेपालमा संस्कृतपछि प्राचीन वाङ्मय ग्रन्थको बढी रचना हुने भाषा नेपाल भाषा नै हो ।
नेपाल भाषा र नेपाल संवत् हामी सबै नेपालीको पहिचान हो । नेपाल संवत् नेपालमा प्रचलित मौलिक राष्ट्रिय संवत् हो । यस संवत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको पाइन्छ । ऐतिहासिक कथनअनुसार भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिनदेखि यो संवत्को शुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो ।
शङ्खधरको पालामा तोकिएको तिथिमा ज्योतिषका अनुसार शङ्खधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत हुने भन्ने थाहा पाएका थिए र उनले उक्त साइतमा निकालिएको बालुवा भरियासँग किनेका थिए । जुन बालुवा सुनमा परिणत भएको थियो । त्यसपछि उनले त्यो सुन ऋणमा डुबेका सबै गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेर ऋणमुक्त भएका थिए ।
त्यस्तै, अर्को किंवदन्तीअनुसार शङ्खधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शङ्खधरका साथीहरू पनि व्यापारी थिए। तर शङ्खधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शङ्खधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शङ्खधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शङ्खधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो र राजाले पश्चत्ताप गर्दै तिमी इमानदार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ भनेका थिए । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएपछि शङ्खधरले ऋणमा डुबेका जनतालाई सहयोग गरेका थिए । जसका कारण सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल संवत्को प्रचलन रहेको भनाइ छ।
नेपाल भाषा र नेपाल संवत् हामी सबै नेपालीको पहिचान हो । नेपाल संवत् नेपालमा प्रचलित मौलिक राष्ट्रिय संवत् हो । यस संवत्का प्रवर्तक शङ्खधर साख्वाः हुन्। उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको पाइन्छ।
नेपाल संवत्लाई विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद्बाट नेपालको राष्ट्रिय संवत्का रूपमा घोषित गरिएको थियो । नेपाल संवत् औपचारिक कामकाजमा प्रयोग नगरिए पनि नेवारी समुदायमा चाड पर्व, रीतिथितिलगायत जन्मदिनजस्ता धार्मिक, सांस्कृतिक कार्यमा चन्द्रमासिक गणनाअनुसार प्रचलित छ । नेपाल संवत् ११४० दिल्ला २६, २०७७ साउन १ गते देखि लागू हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अरु सबै पत्राचारलगायतका कामकाजमा विक्रम संवतसँगै नेपाल संवत् पनि अनिवार्यरूपमा प्रयोग गर्ने निर्णय गरेबाट यसको महत्त्व बढ्दै गएको छ । काठमाडौं महानगर पालिकालगायत देशका अन्य नगरपालिकाले पनि नेपाल भाषा र नेपाल संवत्को प्रयोगमा जोड दिएबाट मौलिक संवत्को प्रचारप्रसारमा थप टेवा पुगेको छ ।
नेपाल भाषाको एउटा मुख्य लेख्यभाषाका रुपमा रञ्जना लिपिलाई लिइन्छ । यसको विरासतको रूपमा एउटा विकसित प्रणाली ब्राह्मी लिपि हो जुन ११औँ शताब्दीमा शुरु भएको थियो । यो मुख्यतः नेपाल भाषा लेख्न प्रयोग गरिन्छ । कालान्तरमा भारतका विभिन्न मठहरूमा पनि यसको प्रयोग हुन थालेको देखिन्छ । जुन क्रमशः तिब्बत, चीन, मंगोलिया र जापानसम्म प्रचारित एवम् प्रसारित हुँदै गयो । नेपाल भाषाको रञ्जना लिपिलाई नेपालले आफ्नो राष्ट्र लिपिको रूपमा संयुक्त राष्ट्र संघमा पनि दर्ता गरिसकेको छ । जसले नेपाल भाषाको ऐतिहासिक पक्षलाई उजागर गर्दछ । त्यसैले नेपाल भाषाको गरिमालाई चुल्याउँदै हामीले यसको प्रचारप्रसारमा जोड दिनु आवश्यक छ ।
प्रतिक्रिया