दीपावलीको शुभकामना



नेपालीहरुको महान् चाड दशैँ सकिएसँगै तिहार शुरु भएको छ। यो धार्मिक तथा सांस्कृतिक पर्र्वले विशेष गरी दिदीबहिनी र दाजुभाइबीचको घनिष्टता बढाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। दिदीबहिनीले दाजुभाइलाई लामो आयु होस् भनी पूजा गरी, टीका लगाई, मीठा–मीठा खानेकुरा र अलंकार दिने गर्दछन्। यो पर्व आम नागरिकको सद्भाव साट्ने अवसरका रुपमा लिइन्छ। दिदीबहिनी हुने घरमा निकै रमाइलो हुन्छ भने दिदीबहिनी नहुनेहरुले रानीपोखरीलगायतका धार्मिक तथा सांस्कृतिक क्षेत्रमा गई भाइटीका मनाउने गर्दछन्।

देश–विदेशबाट पनि उत्तिकै मात्रामा तिहार मनाउन आउने र जानेसमेत गरेको पाइन्छ। तिहार दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै मनाइने एउटा महत्वपूर्ण पर्व हो। यो पर्वलाई लक्षित गरी बजारमा माला, मसला, मिठाईहरु सजिएका देखिन्छन् । प्याकेटमा भरिएका खाद्यान्न तथा मिठाईहरु कति खाने, कसरी खाने, म्याद नाघेको पो छ कि भन्ने विषयमा जनस्वास्थ्यका हिसाबले जति निगरानी राख्नुपर्ने हो त्यति मात्रामा सरोकारवाला निकायले चासो दिएको भने पाइएको छैन ।

दिदीबहिनीले दाजुभाइलाई दिने मिठाई, मसला, माला पहिला–पहिला घरमै उत्पादित सामग्रीबाट बनाइन्थ्यो र ताजासमेत हुन्थ्यो। यो अत्यन्तै राम्रो चलन आजभोलि देखासिकीमा परिणत भएको छ । बजारका रेडिमेड खानामा जोड दिन थालेका कारण दाजुभाइलाई लामो आयु हैन कतै रोगको पोको त दिँदै छैनौँ भनेर सोच्नुपर्ने बेला आएको छ । यदि हामीले दिएको खानेकुराले दाजुभाइको स्वास्थ्यमा असर गर्छ भने त्यस्ता खानेकुरा हैन, घरमै बनाएर ताजा खाना खान दिनुपर्छ । सरोकारवाला निकायले पनि जनस्वास्थ्यमा असर गर्ने खालका बजारमा प्याकिङ गरी महिनौंदेखि अझ कतिपय पसलहरुमा त अघिल्लो वर्ष नबिकेको खानेकुरासमेत राखेको पाइन्छ । यतातर्फ न त विक्रेताले ध्यान दिएको छ, न खरिदकर्ताले र न राज्यले नै ध्यान पुर्‍याएको देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

दिदीबहिनीले दाजुभाइको लामो आयुको परिकल्पना गर्ने हो भने स्वस्थ खानामा जोड दिऔँ । एकै दिनको सेलरोटी, माछामासु, मिठाई, प्याकेटका खानेकुराले स्वस्थ हैन, थप रोग लाग्न सक्छ । आफ्ना दाजुभाइको स्वास्थ्य अवस्था कस्तो छ र के खान हुन्छ, के खान हुँदैन भन्ने विषयमा आफैँ चनाखो होऔँ । कतै तपाईंले माया गरेर दिएको खानेकुरा तपाईंका प्यारा दाजुभाइका लागि विष त बनेको छैन ? यस विषयमा विचार पुर्‍याउनै पर्छ । समयको परिवर्तनसँगै आजभोलि हरेक मानिसमा कुनै न कुनै समस्या नभएको छैन । यस्तो अवस्थामा आर्थिक भार हुने गरी खर्च नगरौँ र दाजुभाइलाई रोगी नबनाऔँ । दिदीबहिनीको सद्भाव, माया अनन्तकालसम्म रहिरहोस् । साथै कला–संस्कृतिको जगेर्ना पनि होस् । दाजुभाइ–दिदीबहिनीबीचको सुभधुर सम्बन्ध कुनै रोगव्याधीले टुटाउन नसकोस् । चाडपर्वमा पनि नखाए कहिले खानु, आज खाऊँ, भोलि जे पर्ला–पर्ला, नखाऊँ भने दिदीबहिनी रिसाउलान् भन्ने सोच पनि कतिपयमा देखिन्छ । यस्तो सोच बदलौँ । बिरामी दाजुभाइलाई दिदीबहिनीले मायाले दिएको खाना विष नबनोस् । दीपावलीले सबैको स्वास्थ्यमा ऊर्जा ल्याओस् ।

बजारको अनुगमनका नाममा सरोकारवाला निकायले अनावश्यक धरपकड गर्नुभन्दा स्वस्थ र स्वच्छ खानपानमा जोड दिनु उचित हुन्छ । किन्नेले कुन खाना राम्रो, कुन नराम्रो ध्यान दिएर किन्यो भने बेच्नेले पनि बाध्य भएर स्वस्थ खाना नै बेच्न बाध्य हुन्छ । तिहारमा सेल, पुरी, अनरसा, जेरीजस्ता मिठाईहरु बनाउँदा तेल धेरैपटक पकाउने, डढाउने र पुनः प्रयोग गर्ने नगरौँ । यो जनस्वास्थ्यको लागि हानिकारक हुने र विषसरह बन्ने कुरा विश्व स्वास्थ्य संगठनले औँल्याउँदै आएको छ । त्यसैले आम नागरिक र सरकारले यसतर्फ ध्यान पुर्‍याउनै पर्छ। दीपावलीको हार्दिक शुभकामना !