काठमाडौं ।
यसपटकको शुभदिपावली, नेपाल संवत् तथा छठ पर्वलाई उल्लसमय वातावरणमा सम्पन्न गराउन तथा शान्ति सुरक्षा अमन चयन कायम राख्नका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ।
आम नेपालीले आ–आफ्ना चाड पर्व भयरहित तरिकाले उल्लायमय वातावरणमा मनाउन पाउन भन्ने उद्देश्यसहित नेपाल प्रहरीले देशैभर ४८ हजार प्रहरीलाई परिचालन गर्ने भएको छ।
विगतमा झैं यसपटक पनि प्रहरीले राजमार्ग, बढी भीडभाड हुने क्षेत्रमा प्रहरीलाई हतियारसहित गस्तीमा खटाउने काम भएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीको रिजर्भ टोलीसमेत विभिन्न स्थानमा तैनाथ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘यसपटक पनि भयरहित वातावरणमा नेपालीहरूको आउँदा चाड पर्व मनाउन प्रहरीले केन्द्रदेखि जिल्ला र जिल्लादेखि इलाकासम्म सुरक्षा योजना बनाएर प्रहरीलाई परिचालन गरेको छ ।’ खास गरी पछिल्लो समय देशका विभिन्न ठाउँमा परेको अविरल वर्षापछि बिग्रिएका राजमार्ग तथा पुल पुलेसाहरूको मर्मत तथा पुन निर्माणको काम चलिरहेकाले त्यस्ता ठाउँमा सवारी आवगमनमा बाधा पुग्न सक्ने भएकाले ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई परिचालित हुन निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
‘तिहार भन्नसाथ रंग र बत्तीको चाड हो । र दाजुभाइ, दिदीबहिनीको भेटघाट हुने पर्व पनि हो । त्यसैले मानिसहरूको आवतजावत बाक्लो हुने गर्छ । जसका कारण सडकमा चेकजाँच गर्ने मादक पदार्थ सेवन लागूऔषध सेवन गरेको जाँच गर्ने अनियन्त्रित किसिमले सवारी चलाउने जस्ता गतिविधिलाई विशेष रूपमा हेरिरहेका हुन्छौं’ – डीआईजी कार्कीले भन्नुभयो।
नियमित रूपमा ट्राफिक प्रहरीमार्फत् निगरानी बढाउनुका साथै मद्दतका रूपमा सिभिल प्रहरीलाई खटाउने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो । यस्ता पर्वको मौका छोपेर मेला, भीडभाडमा लुटपाट वा चोरी हुने, झगडा हुने भएकाले त्यस्ता ठाउँमा प्रहरीको निगरानी गर्नुका साथै त्यसलाई सीसीटिभी तथा ड्रोनमार्फत् पनि निगरानी गर्ने कामलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने, रातिसम्म बसेर होहल्ला गर्नेजस्ता क्रियाकलाप हुने भएकाले रातिको गतिविधिलाई निश्चित समयसम्म निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले आफ्नो ठाउँ, अवस्था हेरेर, कुनै ठाउँमा अलि बढी समय र कुनै ठाउँमा कम समय हेर्ने गरी व्यवस्थापन गरेका छौँ ।
राजधानीका हकमा भने देउसी भैलो राति १० बजेसम्म गर्न दिने भएकाले सोहीअनुसार देउसी भैलो खेल्ने नेपालीहरूले समय मिलाएर पर्व मनाउन पनि डीआईजी कार्कीले आग्रह गर्नुभयो ।
प्रतिक्रिया