नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दल मिलेर बनेको दुई तिहाइनजिक रहेको सरकार जनताका काममा भन्दा पनि आफ्नो आयुको बारेमा हरेक दिन जनतालाई बताइरहनुपर्ने अवस्थामा पुगेको छ। विपक्षी दलहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको प्रयोग गरी सरकारविरुद्ध जनमत निर्माण गर्न लागेको बताउन थालेपछि सरकारले आफ्नो सरकारलाई कसैले हल्लाउन नसक्ने भन्दै स्पष्टीकरण दिनुपर्ने अवस्था सिर्जना भएको छ।
दुई ठूला दलबीचको बलियो सम्बन्ध भएको भए हरेक दिन बिहान प्रधानमन्त्रीले ‘यो सरकारको आयु यति हो, यो सरकारलाई कसैले हल्लाउन सक्दैन’ भन्नुपर्ने थिएन कि ? जनताका चाहना र सरकारको काम गराइमा कुनै तादात्म्यता देखिँदैन। हरकोणबाट यो सरकारविरुद्ध मात्र होइन अहिलेको व्यवस्थामाथि नै प्रहार गर्ने गिरोह सक्रिय रहेको अवस्था छ।
चौतर्फीरुपमा दल र दलीय व्यवस्थामाथि वितृष्णा फैलाउने र मुलुकलाई अराजकताको भड्खालोमा हालेर आफ्नो अभिष्ट पूरा गर्ने केही समुह सक्रिय हुन थालेको हो कि भन्ने आशंका पैदा भएको छ। दुई तिहाइनजिकको सरकारले काममा जसरी गति लिनुपर्ने हो त्यो लिन सकेको देखिँदैन।
यता प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र भने सत्ता छोड्नुपरेको पीडामा मुखमा जे आयो त्यही बोल्ने, सरकार गिराउन विदेशी शक्तिको गुहार माग्ने अवस्थामा पुग्नुले पनि मुलुकभित्र गम्भिर संकट उत्पन्न हुन लागेको हो कि भन्ने आशंका पैदा भएको छ। समग्र मुलुकको उत्थानमा लाग्नुपर्ने राजनीतिक दलहरु दुई ध्रुवमा विभाजित भई आन्तरिक राजनीतिमा विदेशीलाई बोलाएर हस्तक्षेप गर्न लगाउने तहसम्म पुग्नुले उनीहरुको नियत के हो भन्ने प्रस्ट हुन्छ ।
भ्रष्ट आचारण बोकेका राजनीतिक दलका कारण मुलुक दलदलमा फसिसकेको छ भने अहिलेको अवस्थामा जोसुकै आए पनि मुलुकलाई सम्हालेर लैजान सक्ने अवस्था देखिँदैन। अवस्था यति जटिल र गम्भिर मोडमा पुगिसकेको छ कि यसलाई सम्हालेर लैजान्छु भन्नेहरु नै असफल हुने अवस्थामा पुग्ने वातावरणको निर्माण हुँदै गएको छ । सरकारमा बसेका दलबीच मात्रै काममा एकरुपकता नभएको होइन, अन्तरसरकारी निकायबीचको सम्बन्धलाई हेर्ने हो भने मुलुक कतातिर जाँदै छ भन्ने प्रस्ट हुन्छ।
एक–आपसका काममा देखिएको बेमेल, कमिसनविना कुनै काम नहुने परिपाटीको विकास हुँदै गएको छ। यसले मुलुक असफल हुने अवस्थामा पुग्ने त होइन भन्ने आशंका पैदा भएको छ। त्यसैले अब मुलुकलाई बचाउने हो भने सबै एकै ठाउँमा जम्मा भएर अघि बढ्नुको विकल्प छैन।
प्रतिक्रिया