रवि लामिछानेको गिरफ्तारी र राजनीतिक तरंग

3.85k
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको कारण सहकारीमा उनको संलग्नता र आर्थिक अनियमितता रहेको भन्नेसमेत छ। उनी पक्राउ पर्ने दुईवटा निकायगत कारणमा उनीविरुद्ध जाहेरी परेपछि अनुसन्धानको लागि पक्राउ पर्ने र पक्राउ नपरी अदालतमा मुद्दा गएमा अदालतको आदेशले पक्राउ गर्ने नै हो। प्रहरीले अदालतमा मुद्दा चल्नभन्दा पहिला पनि अदालतको अनुमति लिएर पक्रनुपर्नेजस्ता व्यवस्था पनि छन्।

रवि लामिछाने देशको चौथो ठूलो राजनीतिक दलका नेता हुन्। पहिलासमेत गल्ती गरेको देखिएकोले सर्वोच्च अदालतको आदेशले उनी सांसदबाट पदच्युत भएका थिए । तर उनको गल्तीउपर उनलाई कुनै सजाय भएको थिएन। उनी पुनः सोही स्थानबाट चुनाव लडेर अत्यधिक बहुमतका साथ विजयी भएका थिए। अहिले पनि उनी जनप्रिय देखिएका छन्। उनको गिरफ्तारीपछि उनको समर्थनमा विभिन्न आमसभासमेत हुँदा उनी र उनको दलको लोकप्रियता बढाउन सहयोग भएको देखिएको छ । यो अन्य र मुख्यतया पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी र जनता समाजवादी दलहरुको लागि नै मतको हिसाबले घातक वा नोक्सानदायी हुने देखिन्छ।

यद्यपि माओवादी रविको पक्षमा रहेको देखाएको जस्तो पनि लाग्ने हुँदा माओवादीको हरेक चुनावमा पहिलाको हैसियतको आधा हुने अवस्थामा केही कमी आउन सक्नेसमेत सम्भावना छ । जबकि माओवादी र रविको दलको गठबन्धन भएमा मतदाताको लागि त्यो अरुचिकर हुनेछ । त्यसले माओवादीलाई भन्दा रविको दललाई ज्यादा घाटा हुने देखिन्छ। जबकि माओवादीको मताधार खस्कँदै गइरहेको नै छ । शायद त्यसैले होला प्रचण्ड बृहत् कम्युनिस्ट एकताको पक्षमा देखिएका छन्। रविको विवादले फाइदा लिन सकिने भएमा र माओवादीको सिट धेरै नघट्ने देखेमा उनी कम्युनिस्ट एकताको पक्षमा नरहन सक्छन्। प्रस्टै छ कि अलग चुनाव लडेर अलग हैसियत हुनमा जुन फाइदा छ, दलहरु एकीकरण हुँदा त्यो पाइँदैन। रवि थुनिदा हुने फाइदाको आधारमा रणनीति र एमालेको नजिक हुँदा हुने फाइदाको रणनीतिका बारेमा प्रचण्डले राम्रो बुझेका र सोचेका छन्। उनी अब पाँचौँ ठूलो दल बन्नभन्दा एमालेमा नै सम्मानपूर्णजस्तो देखिने विलय र आफ्नो हैसियत ठीकठाकको लागि काम गर्ने छन्।

रवि लामिछानेले जीवनमा र सहकारीका सवालमा गल्ती नै गरेका छैनन् भन्ने पनि होइन। उनले गल्ती गरेका हुन सक्छन्। तर एउटा सत्य यो पनि हो कि रवि लामिछाने राजनीतिमा आएपछि कुनै पनि आर्थिक अनियमिततामा संलग्न भएको देखिएका छैनन्। राजनीतिमा आएपछिको उनको व्यवहार र काम सराहनीय देखिन्छ। उनको राजनीतिको प्रशंसा नै हुने गरेको पनि छ।

रवि लामिछानेको गिरफ्तारीभन्दा पहिला प्रचण्ड प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न गएकामा रविलाई नथुन्नको लागि कन्भेन्स गर्न गएका जस्तो पनि लाग्दैन । बरु रविलाई थुनेर रविका मतहरु एमाले र माओवादीमा ल्याउन प्रयास गर्नु नै सबैभन्दा राम्रो उपाय हो र त्यसपछिको एकीकरण दलको लागि राम्रो हुने सन्देश र भ्रम केपी ओलीलाई दिन नै गएका हुन् भन्नेहरु पनि छन्। यसरी ओलीलाई रवि लामिछानेको केसमा गलत ट्रयाकमा फसाएर रवि लामिछानेको नजिक देखिएको जस्तो भ्रम दिएर रवि लामिछानेका मतहरु आफूमा झुकाउन प्रयास गर्ने वा रवि लामिछाने आफूसँग मिलेर चुनाव लड्ने बातावरण बनाउनेमा प्रचण्ड छन् भन्ने पनि सवाल उठेको छ। जे होस्, प्रचण्ड चतुर खेलाडी र हिंसात्मक आन्दोलनको विश्वव्यापी दोष बोकेका नेता भएकाले उनले आफ्नो उचित अवतरणको लागि जुनसुकै खेल पनि खेल्न सक्छन्।

अहिले उनी केपी ओलीभन्दा राजनीतिक रुपमा धेरै कमजोर मात्र भएका छैनन्, बरु ओलीलाई एक्ल्याउँदाका माधवकुमार नेपालजस्ता सहयोगीहरुसमेत कमजोर भएका छन् र उनीहरुबीचको समझदारी पनि कमजोर भएको छ। यो अवस्था प्रचण्डका लागि राजनीतिक जीवनको निर्णायक सवाल हो। यसको अन्तिम त्राण ओली बन्न सक्ने हुँदा उनीले प्रधानमन्त्री केपी ओलीसँग धेरै आफ्ना पक्षमा देखिने फाइदाजनक उतारचढावका कुरा गरेकामा कुनै विवाद छैन । बरु रविको विपक्षमा नै पनि कुरा गर्न गएका हुन सक्ने प्रबल सम्भावना छ। त्यसको एकमात्र लक्ष रविका मतदाताहरुको रविप्रतिको सहानुभूति देखिएकोले उनीहरुले आफूलाई सम्मान गर्ने आशा र उनलाई थुनाउनमा गोप्य रणनीतिमा लागेको सम्भावनाको खेलसमेत साह्रै सघन छ।

रवि लामिछानेले जीवनमा र सहकारीका सवालमा गल्ती नै गरेका छैनन् भन्ने पनि होइन । उनले गल्ती गरेका हुन सक्छन् । तर एउटा सत्य यो पनि हो कि रवि लामिछाने राजनीतिमा आएपछि कुनै पनि आर्थिक अनियमिततामा संलग्न भएको देखिएका छैनन्। राजनीतिमा आएपछिको उनको व्यवहार र काम सराहनीय देखिन्छ। उनको राजनीतिको प्रशंसा नै हुने गरेको पनि छ। यही राम्रो कार्य नै उनलाई दुःख दिने र आपराधिक देखाउने अरुको बाध्यता पो हो कि भनेजस्तो पनि देखिएको छ। किनभने मतदाता रविमा गएमा अरु राजनीतिक दलहरुलाई घाटा हुन्छ र त्यसको प्रभाव सिटमा पर्छ।

चुनावमा पुराना गल्ती गरेका भनिएका दलका नेताहरुको बहुमत नभएमा राजनीतिमा आएपछि भ्रष्टाचारको औँला ठड्याउन नसकिने अवस्थामा रहेका रवि, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्र, सिके राउत आदिको जमातको बहुमत भएमा सबै ठूला नेताहरुको शिरमा खतराको घण्टी बज्ने नै छ । त्यो घण्टी प्रचण्डको शिरमा ज्यादा गह्रौँ हुनेछ । कहिलेकाहीँ बेइमानी गर्ने र बेइमानी गर्नको लागि एकता भएको देखिएको छ र इमानदारलाई दोष खोजेर फसाउने गरेको पनि पाइन्छ ।

जनतामा पुराना राजनीतिक दलहरुको साख राम्रो छैन । उनीहरुलाई जनताले रुचाउन छोडेका छन् । विषेशतः पढेलेखेका र कुनै पदमा पुगेका अनि पुग्न चाहेकाहरु पनि पुराना दलका नेताहरुको पक्षमा देखिएका छैनन् । उनीहरु खुलंखुल्ला पुराना दलहरुको विरुद्धमा लागेका छन् । दिनहुँ तथानाम गाली दिने र गल्ती देखाउने गरिरहेका छन् । तर तिनीहरु नै यो देश बिगार्न नेताहरुलाई सहयोग गर्ने भिलेन हुन् । उनीहरु धेरै समय आफ्नो नजिकको दल र नेताको विरोध गर्छन् अनि चुनावका समयमा के गर्ने, कुरा यसो हो आदि भनेर मतदातालाई मूर्ख बनाउँछन् । उनीहरुलाई दलका शुभेच्छुक संस्थाको माध्यमबाट ठूला–ठूला भ्रष्टाचार नै नलाग्ने, अरुलाई मात्र भ्रष्टाचारी देखाउन मिल्ने, सम्पत्ति कमाउन सकिने पदहरुको लोभले जनतालाई आफ्ना फाइदा दिने दलहरुको पछाडि लाग्ने र लगाउने गर्छन् । यो देश र समाजको विडम्बना हो ।

हामी पनि तिनै सधैँ विरोध गर्ने र चुनावको समयमा आफ्नो दलको लागि विभिन्न नाटक गरेर फकाउनेहरुसँग फकिन्छौँ । हामी निष्पक्ष मतदाताहरुमा समेत अरु लोभ नभए पनि साह्रै बिरामी हुँदा फलानाले भनेको मानेमा निःशुल्क वा सजिलोसँग अस्पतालमा उपचार हुन्छ भन्नेसम्मको आशा भने पनि जिउँदो छ, अरु ठूला आशाहरुको त कुरै नगरौँ । हामी नेपाली गलत गर्नेको कुचक्रमा अझै नजानेर वा विपक्षमा जान नसकेर पिसिइरहेका छौँ ।

रवि लामिछानेले सहकारीमा गलत गरेका हुन सक्छन्। सहकारी ऐनअनुसार त्यसमा कैदको सजायको दायरा पनि साह्रै ठूलो छैन । उनको पूर्व र वर्तमान पदको आधारमा पनि उनी थुनाबाट छिट्टै मुक्त हुने सम्भावना छ। तर एउटा दोष त ठूला राजनीतिक दलहरुमा लाग्यो नि ! ती दलहरुका नेताहरुले राजनीतिमा नै लागेर सहकारीको दुरुपयोग गरेका छन्।

विवाद छरपस्ट बाहिर आएका छन्। अन्य भ्रष्टाचारका शृङ्खला नै छन्। बाबुराम भट्टराईले नै एउटा योजनामा तीनवटा ठूला दलका नेताहरुले करिब १० अर्ब रुपियाँको दरले कमिसन घुस खाएको बताएको भिडियो अहिले पनि देख्न पाइन्छ। प्रचण्डले प्रधानमन्त्री बन्नभन्दा पहिला आफ्ना करिब ३ हजार मात्र नियमित लडाकू भएकोमा ७ हजार देखएर पैसा लिने र त्यो पैसाबाट चुनाव जित्ने उल्लेख गरेको भिडियो पनि आइरहन्छ। तर उनले त लडाकूको नाममा ७ हजारभन्दा पनि ज्यादाको पैसा लिए । त्यो भ्रष्टाचार हो कि होइन ? यस्ता भ्रष्टाचारका क्रमहरु पुराना र ठूला दलहरुका नेताहरुमा कम छैनन्, बरु छ्याप्छ्याप्ती छन् ।

यस्तो अवस्थामा रविलाई नै तोकेर मात्र थुन्नु उपयुक्त होला कि नहोला ? हो, अनुसन्धानको लागि थुन्न पाइन्छ। त्यो राज्यको अधिकार पनि हो । तर राजनीतिक गलत फाइदाको लागि कुनै व्यक्तिलाई बारम्बार अनुसन्धानको लागि थुनामा राख्ने सम्भावना बढेमा के गर्ने। समानता र समता भन्ने शब्दहरु अचेल ज्यादा सुनिने गरेका छन् । लेडिज फस्ट भन्ने पनि गरिन्छ नै । तर अपराधमा जो ज्यादा पुरानो छ त्यो पहिला सजायको दायरामा आउन पर्ने होइन र ? किन गलतहरुको भीडमा कम गलत वा राजनीतिमा आएपछि कुनै गल्ती नगरेको व्यक्तिलाई नै टप्प टिपेर ल्याउनाको कारण के भन्ने सवाल उठ्छ नै । हामी सत्यको पक्षमा रहने हो भने यसबारे सोच्न र व्यवहारमा ल्याउनै पर्छ । अन्यथा हाम्रा आउँदा पुस्ताले दुःख पाउनेछन् र हाम्रा कमजोरीका लागि धिक्कार्ने पनि छन् । समयमा उचित निर्णय गर्न सकौँ ।