निबन्धकार मुकुन्द शर्माको ‘धोबीघाट मेलोडी’ लोकार्पण


काठमाडौं ।

गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । 

लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल रहेका शर्माको पुस्तक शनिबार विमोचन भएको हो । निबन्धसङ्ग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, विद्या लिम्बु, डा. दयाराम श्रेष्ठ, कुमारी लामा, एसपी कोइराला, विष्णुविभु घिमिरे, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, शकुन्तला शर्मा, निर्मला शर्मा, विन्नी श्रेष्ठ तथा मान्यता शर्माले विमोचन गर्नुभएको थियो । 

विमोचनपछि सबैले क्रमैसँग सो पुस्तक लेखकका स्वर्गीय पिताको तस्बिर अगाडि समर्पण गरिएको थियो । कार्यक्रम अलि पृथक् थियो, कुनै पनि व्यक्तिलाई मञ्चको व्यवस्थापन गरिएको थिएन । सबैजना दर्शकदीर्घामा नै थिए ।

विमोचनपछि लेखक स्वयम्कै शब्द रहेको गीत गाइएको कार्यक्रममा पुस्तकका प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कामनाका सीईओ श्रेष्ठले शर्माको दोस्रो कृति पनि प्रकाशन गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताउनुभयो । उहाँले आफ्ना गुरु शर्माको निबन्धले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताउनुभयो । 

विमोचित कृतिमाथि हरिहर शर्माले आशीर्वचन दिनुभएको थियो भने लेखक स्वयम्ले निबन्धांश वाचन गर्नुभएको थियो ।

श्रीओम श्रेष्ठ, अशेष मल्ल, विष्णुविभु घिमिरे तथा एसपी कोइरालाले शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामना मन्तव्यका क्रममा श्रीओम श्रेष्ठले शर्माको निबन्धसङ्ग्रहमा मौलिकपन भएको बताउनुभयो । अर्का व्यक्तित्व अशेष मल्लले निबन्धकारले भावलाई समेटेर लेखिएको भाषाशैली गज्जबको भएको बताउनुभयो । उहाँले पृथक् भाषाशैली प्रयोग गर्न सक्नु निबन्धकारको खुसी भएको बताउनुभयो । उहाँले अहिले शंकर लामिछानेको निबन्धभन्दा कम नभएकाले दोस्रो शंकर लामिछानेको उपमा दिनुभयो ।

कुमारी लामाले आफ्नो समीक्षात्मक मन्तव्य राख्दै उत्कृष्ट लेखन भएको बताउनुभयो । अर्का समीक्षक प्रा.डा दयाराम श्रेष्ठले शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, चिमोट्नुको मीठो ताल, जीवन–दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त प्राइभेट गीतको नाद सौन्दर्य पाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘शब्दशिविरपछिको यो धोबीघाट मेलोडी कम तेजिलो, वेगिलो र जोसिलो छैन, उहाँको गद्यशैलीले मलाई पागलै बनायो ।’

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो– ‘साहित्यमा कुनै नामै छैन, यस्तोमा मलाई बोलाएर अन्याय गरेको हो कि पुरष्कृत गरेको हो थाहा नै भएन ।’ राजनीतिक व्यक्तित्वलाई साहित्यिक कार्यक्रममा बोलाएर धोबीघाटसम्म जोडेकोमा उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो खेत नै धोबीघाटमुनि भएको र पुस्तकको नामकरण पनि धोबीघाट भएर आएकोमा हर्ष व्यक्त गर्नुभयो । मेयर महर्जनले शिक्षा समितिको बैठकमा शैक्षिक व्यक्तित्व मुकुन्द सरले बोलेपछि आफूले बोल्नुपर्ने कुनै आवश्यकता नरहने बताउनुभयो । काममा समर्पण विचारमा स्पष्टता नै चिरिबाबुको पर्याय बनेको उहाँको भनाइ थियो । 

डा. मुनीश शर्माले आफ्ना अभिभावक तथा गुरुहरुको योगदानको स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रमका सभापति एवं संस्थापक उमेश श्रेष्ठले ३०-३५ वर्ष अघिसम्म राम्रो रहेको साहित्यिक क्षेत्र अहिलेको पुस्तामा आइपुग्दा अलि घटिरहेको हो कि भन्ने लागेको बताउनुभयो । उहाँले यस्तो विषम परिस्थितिमा मुकुन्द सरको कृति आउनु गौरवको विषय भएको बताउनुभयो । बलासाहित्य नाटक भएको देश राम्रो मानिले बताउँदै उहाँले आफ्नो संस्थाबाट ३७ हजार विद्यार्थी पासआउट भएर गए पनि साहित्यको क्षेत्रमा कमै मात्र आएको बताउनुभयो । आफ्नो संस्था ४४ वर्षमा पुगेको चर्चा गर्दै उहाँले यो धोबीघाटको मेलोडी जनजनमा पुग्न सकोस् भनी शुभकामना सिदनुभयो । उहाँले भन्नुभयो– ‘संस्कार हराउँदै गएको समयमा यसले कोशेढुंगा सावित गरोस् ।’

२ सय २ पृष्ठको सो निबन्धसङ्ग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मूल्य ५ सय रहेको प्रकाशकले जनाएको छ । यस निबन्धभित्र २४ वटा निबन्धको सङ्ग्रह छ । यसलाई तीन भागमा बाँडिएको छ । पहिलो भागमा क्षणिकीहरु, दोस्रोमा अनुभूतिहरु र अन्त्यमा अन्तर्दृष्टिहरु समावेश गरिएको छ ।