पुस्तक चर्चा: विवशको नयाँ निबन्ध ‘अर्धकदको अवसान’


निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ हालै सार्वजनिक भएको छ। निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नुभएका उहाँले लेखेका निबन्ध, नियात्रा, कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू प्रकाशित छन्।

प्रस्तुत ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौँ कृति हो। यसमा तीन दर्जन निबन्धहरू छन्। भुँडीपुराण प्रकाशनबाट प्रकाशित ४५० मूल्य रहेको यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु–नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका ३६ वटा निबन्धहरू रहेका छन् ।

निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषाशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ। निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगिन्ती सुवासहरू पाइन्छन्। यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन्। हाम्रै पाखापखेराका सुसाइहरू छन्। हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन्। हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो।

अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन् । देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन् । यिनमा तथ्यपूर्ण शब्द–तथ्याङ्कहरू छन् ।

वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले मन्तव्यमा भन्नुभएको छ– ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ। अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु।’

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ– ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ। जुनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन्।

‘सुन्दर प्रकृतिका सौन्दर्यमा लेखकीय संवेदना तीव्र छ। प्रत्येक निबन्धले पाठकीय आकर्षण बटुल्ने र माया पाउने छन् भन्ने विश्वाससहित यो पुस्तक यहाँहरूको हातमा सुम्पेका छौं’, प्रकाशकीयमा भनिएको छ। वि.सं. २०५८ देखि अहिलेसम्म आइपुग्दा निबन्धकार विवशका १५ वटा कृति प्रकाशित भइसकेका छन् भने कला, निबन्ध, नियात्रा तथा जात्रा–संस्कृति विषयक उहाँका केही पुस्तकहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन्।