अस्ताइन् दुर्गमकी ‘डाक्टर’ प्रेममकला

940
Shares

दुर्गमका दुःखी, पीडित, असहाय बिरामीको उपचारमै दिन बिताएकी दुर्गमकी डाक्टर उपमाले चिनिएकी सि.अहेव स्वर्गीय प्रेमकला मल्लले सन् २०१८ मा आफ्नो फेसबुक वालमा पीडा पोखेकी थिइन् । बिरामीको उपचारमै जीवन काटेकी मल्ल अविवाहित थिइन् ।

हिमाली गाउँपालिकाको रुगिन गाउँ जान कवाडीको उकालोमा हिँडिरहेका थियौँ । रुगिन स्वास्थ्य चौकीकी तत्कालीन इन्चार्ज प्रेमकला मल्लले भनिन्, ‘सर मलाई हतार छ, अगाडि जाऊँ ?’ उनको कुरा सुनेर मैले भनेँ, ‘किन त्यस्तो हतार, हामी पनि रुगिन नै जाने हो । तपाईं पनि रुगिनको कार्यक्रममै जाने त होला नि !’ उनले भनिन्, ‘हुन त हो सर ! तर मेरो सेवाग्राहीले तारन्तार फोन गरेर कति बेला पुग्नुहुन्छ भनेर सताइरहेकी छिन् । शायद तिनलाई सुत्केरी बेथाले च्यापेको होला ।’ यति भन्दै प्रेमकला सिस्टर अगाडि कुदिन् ।

टन्टलापुर गर्मी कुवाडीको उकालो स्याँ–फ्याँ गर्दै हामी पनि प्रेमकलाको पछि–पछि लम्क्यौँ । करिब आधा घण्टा उकालो बाटो पार गरेपछि रुगिन गाउँ आयो । जीवनमा पहिलोपटक रुगिन स्वास्थ्य चौकी पुग्दा जीर्ण स्वास्थ्य चौकी भवन । अनि बाहिर चौरमा सुत्केरी बेथाले छटपटाएकी एक किशोरी पेट मुसार्दै, पसिना पुछ्दै थिइन् । प्रेमकलाको स्वास्थ्य चौकीमा आगमनपछि स्वास्थ्य स्वयंसेविका कुण्डलादेवी शाहीले भनिन्, ‘अब यिनको ज्यान जोगिने भयो ।’

हत्तपत्त ती युवतीको पाखुरा समातेर सि. अनमी प्रेमकलाले स्वास्थ्य चौकीको बर्थिङ रुममा लगिन् । सामान्य चेकजाँचपछि गर्भको बच्चा र आमा दुवैको अवस्था सामान्य भएको बताइन् । केही घण्टापछि बच्चा पैदा हुन्छ नआत्तिनुस्, म तपाईँसँगै हुनेछु भनिन् । स्वास्थ्य इन्जार्ज प्रेमकलाले भनेपछि ती गर्भवती किशोरीले लामो श्वास फेरिन् ।

छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका एकविनबाट आएकी शर्मिला शाहीले चार घण्टा पैदल बाटो हिँडी गर्भ जाँच गराएकी थिइन् । त्यो उनको चौथोपटक थियो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा ३ हजार ८ सय रुपियाँ पाइन्छ भन्ने गाउँकी महिलालाई थाहा छ, मल्लले भनेकी थिइन् । गर्भिणी शर्मिलाका श्रीमान् काठमाडौंमा तरकारी खेती गर्थे । घरमा बूढा भएका सासू–ससुरा छन् । उसै त गाउँमा महिलाको हेरचाह हुँदैन, अझ श्रीमान् पनि बाहिर हुँदा महिलाको ज्यान जोखिममा हुन्छ । गर्भवती महिला शर्मिला त दुर्गमकी एक प्रतिनिधि पात्र मात्र हुन् । सबै महिलाको व्यथा यस्तै हो । यो दुर्गमको पीडा हो, उनले भनेकी थिइन् ।

दुर्गमकी ‘डाक्टर’ भनेर चिनिने हिमाली गाउँपालिका वडा नं. ४ फैतीकी प्रेमकला मल्लले रुगिन बिछ्याको स्वास्थ्य सेवामै २० वर्ष नोकरी गरेकी थिइन् । दुई दशकको जागिरे दौरानमा उनलाई कहिल्यै पनि सुुगमको रोजाइ भएन । १५ वर्ष त बाजुराको सर्वाधिक विकट साबिकको बिच्छ्या स्वास्थ्य चौकीमै बिताइन् ।

बाजुराको साबिकको रुगिन, बिछ्या, कवाडी अनि छिमेकी जिल्ला मुुगुको विन, ह्याङ्गलु र हुम्लाको जिमानालगायतका टाढा–टाढाबाट रुगिन स्वास्थ्य चौकीमा बिरामी आउने गरेको उनले बताइन् । महिनामा कम्तीमा १० देखि १५ जना सुत्केरी बेथाका बिरामी आउँछन् । ‘रिफर गरौँ बाटोमै घटना होला भन्ने डर, नगरौँ ज्यान जाने खतरा !’ कैयौंपटक जोखिम मोलेर सुत्केरीको ज्यान जोगाएको स्वास्थ्यचौकी इन्चार्ज मल्ल बताउँछिन् । अहिले कवाडीसम्म कच्ची मोटर बाटो पुग्दा केही राहत भएको उनले बत्ताइन् ।

‘दुर्गम ठाउँमा डाक्टर त के, अहेव पनि बस्न मान्दैनन् । कैयौँपटक अहेव, पारामेडिसिन नहुँदा उक्त काम पनि आफैँले गरेकी छु। बाजुराको सर्वाधिक विकट बिछ्याँमा निरन्तर १५ वर्ष बस्दा एउटा अनमीले सबै काम गर्नुपरेको स्वर्गीय मल्लको भनाइ थियो। उनले भनेकी थिइन्, ‘सयौँ सुत्केरी र हजारौँ बिरामीको उपचार गरियो तर आजसम्म मेरो कारण कसैको ज्यान नगएकोले खुशी पनि छु । मप्रतिको विश्वासले होला, सुरक्षित सुत्केरी गराउन टाढा–टाढाबाट गर्भवती महिला आउने गरेका छन्’, सि. अनमी मल्लको भनाइ थियो ।

सुत्केरीलगायत दर्जनौँ महिलाको ज्यान जोगाएको अनुभव रुगिन स्वास्थ्य इन्चार्ज मल्लले सुनाइन् । ‘एसबीए तालिम प्राप्त आफू र बोर्ताकी पूर्णकला भण्डारीबाहेक कोही छैनन् । रातदिन नभनी यिनकै सेवामा छौँ’, उनले भनेको मेरो मानसपटलमा अहिले पनि ताजै छ ।

दुर्गमकी ‘डाक्टर’ भनेर चिनिने हिमाली गाउँपालिका वडा नं. ४ फैतीकी प्रेमकला मल्लले रुगिन बिछ्याको स्वास्थ्य सेवामै २० वर्ष नोकरी गरेकी थिइन् । दुई दशकको जागिरे दौरानमा उनलाई कहिल्यै पनि सुुगमको रोजाइ भएन । १५ वर्ष त बाजुराको सर्वाधिक विकट साबिकको बिच्छ्या स्वास्थ्य चौकीमै बिताइन् । ‘गाउँमा बिरामी पर्दा घरमै पुगेर स्वास्थ्य उपचार गरेको र स्वास्थ्य चौकीमा अहेवसमेत नहुँदा पारामेडिसियनको काम गर्दाको अनुभव पनि छ । मासिकाको सरुवा नहुने अनमी भएपछि गाउँलेले सरुवा हुनै दिएनन् । जन्मथलो र कर्मथलो एउटै बनाएँ, परिस्थितिले विवाह बन्धनमा पनि बाँधिन पाइएन’, उनले भनेकी थिइन् ।

मासिकाबाट सरकारी जागिरमा प्रवेश गरेकी प्रेमकला मल्लको २०७७ चैत्र २२ गते नेपाल सरकारको अधिकृत स्तर छैटौं तह सि. अनमी निरीक्षक पदमा पदोन्नति भएको थियो । ‘दुई दशकसम्म निरन्तर दुर्गमका जनताको स्वास्थ्य सेवा गरेकै कारण प्रेमकलालाई जनताले दुर्गमकी डाक्टरको नामले चिन्छन् । यो स्वाभाविक पनि हो’, हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले भने । पछिल्लो समय हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा रहेर बाजुरेली दीनदुःखीको सेवामा तल्लीन थिइन् ।

असोज ३० गते उनी छिमेकी जिल्ला हुम्लाको ताँजाकोटमा पूर्णिमामा लाग्ने दशैँ मेला भर्न गएकी थिइन् । उनलाई एक्कासी हर्ट अट्याक (हृदयघात) भयो । उपचारको लागि ताँजाकोटबाट एम्बुलेन्समा कोल्टी ल्याउने क्रममा मंगलबार बाटोमै उनको मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ।

‘अति प्रिय, मीठो बोली, सुशील स्वभाव, कसैप्रति रिसराग नभएकी, म आफैँले अध्यापन गराएकी हिमाली गा.पा. स्वास्थ्य इन्चार्ज प्रेमकला मल्लको असामयिक निधनले हामीलाई अति पीडा भयको छ । शोकमा परेका सबै आफन्त र परिवारमा धैर्य गर्न तथा मृतात्माले वैकुण्ठ बास पाओस् भनी भगवान्सँग प्रार्थना छ। बाँकी भन्ने शब्द नै रहेन, भएन । राम नाम सत्य !’ प्रेमकलाका गुरु रुपचन्द्र पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत यसरी उल्लेख गर्दै भनेका छन्, ‘सयमले बिन्ती लाउँदा पनि नमान्ने रैछ ।’
‘निरन्तर ३६ वर्षसम्म सरकारी जागिरको सिलसिलामा दुर्गमका हजारौं बिरामीको उपचारमा दिन बिताएकी प्रेमकला मल्ल आफैँले सुलभ उपचार नपाउँदा यो संसारबाट अल्पआयुमै अस्ताउनुपरेको छ’, उनका आफन्त एवं समाजसेवी दलबहादुर मल्लने भने । उनको मृत्युको खबरले यति बेला सामाजिक सञ्जाल भरिएको छ भने बाजुरेली शोकाकूल भएका छन् । मेरो पनि एक विश्वस्त सूचनाको स्रोत गुमाउनुपरेको छ । अस्ताइन् दुर्गमकी ‘डाक्टर’ प्रेमकला । अन्त्यमा–
आँसुको भेलमा डुबेको रहेछ जिन्दगी
मेरो हाँसो मैले कुनै पल छर्न सकिन ।
दुःख र वेदनामा डुवेको रहेछ जिन्दगी
मेरो खुशी कुनै पल मैले पाउन सकिन !