रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु


काठमाडौं ।

जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १५ जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज आइतबार मध्य पृतना हेटक्वाटर सुपारेटार ब्यारेक, हेटौंडामा सुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मध्य पृतनापति उपरथी प्रदीप जङ्ग के.सी.ले नेपाली सेनाका संविधान प्रदत्त जिम्मेवारी सम्पादनका क्रममा आम जनतालाई सुसूचित गरेर राष्ट्रिय एकताको प्रवर्धन लगायत राष्ट्रहितहरुको संवर्धनका क्षेत्रमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेका बताए छन् ।

कार्यक्रमको औपचारिक शुभारम्भ पश्चात् जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार के.सी.ले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेका थिए ।

सोही अवसरमा उनले विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम (माटोले माग्दैन आफैले दिनु पर्छ) प्रसारण गर्ने मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका एफ.एम. तथा टेलिभिजनका सञ्चालक सातजनालाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरेका थिए ।

पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन हुने छ ।

सहभागीहरूलाई नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेका चितवन राष्ट्रिय निकुञ्ज लगायत अन्य महत्वपूर्ण संरचनाहरुको स्थलगत अध्ययन भ्रमण गराउने योजना रहेको छ ।