हालै भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा जन र धनको अपार क्षति भएको छ । मौसमविद्हरुले यो क्षति हुनुअगावै यस्तो क्षति हुन सक्ने कुराको पूर्वजानकारी गराएर नेपाल सरकारदेखि सर्वसाधारण जनतासम्मलाई सचेत गराएकै थिए। आम सर्वसाधारणले सावधानीका केही उपायहरु अपनाए पनि होलान् । यदि उपाय नअपनाएका भए अझै धेरै मात्रामा जन र धनको क्षति हुने प्रबल सम्भावना थियो होला । तर मौसमविद्हरुले सचेत गराउँदै गर्दाको अवस्थामा पनि यो करिब बेमौसमको प्रकोपले यति भयंकर रुप धारण गर्ला र यति धेरै मात्रामा जनधनको क्षति होला भन्ने कुरा सर्वसाधारणले आँकलन गर्न सकेका थिएनन् होला । शायद नेपाल सरकारको सुरक्षा संयन्त्र र सरकार स्वयंले पनि यही कुराको आँकलन त गरेको थियो होला तर यसलाई हल्कारुपमा लियो कि भन्ने कुरा सर्वसाधारणको बुझाइ छ।
बरु एउटा मगन्ते भिखारीले भिक्षा दिने दाताको भलाइका लागि आत्मैदेखिको कामना प्रकट गर्दै शुभकामना प्रकट गर्ला, आफ्नो जीवन र शरीरको समेत कुनै पर्वाह नगरी लागिरहन सक्ला । तर राजनीतिमा लागेका भनिएका हाम्रा नेताहरु कहिल्यै पनि आफ्ना मनमा त्यस्तो सकारात्मक विचार बोकेर आम नेपाली जनता र नेपाल देशको लागि ठोस योगदान दिने कुनै उल्लेख्य काम गर्न सक्ने अवस्थामा छैनन् ।
अरु दुर्गम स्थानहरुको कुरा नगरेर राजधानी काठमाडौंकै केन्द्रतिर रहेका बासिन्दाले घरको छतमा चढेर आफूहरुलाई जोगाउन घण्टौँ हारगुहार गर्दा पनि सरकारी संयन्त्र परिचालित भएर उद्धारका काम गर्न नसक्नु, राजधानीकै छेउमा गएको पहिरोमा परेका यातायातका साधन र यात्रुलाई जोगाउने प्रयासमा तदारुकताका साथ लाग्न नसक्नु आदि कुराले गर्दा वर्तमान सरकार र त्यसमा पनि वर्तमान केपी ओली नेतृत्वको सरकारको सक्षमताको सवालमा प्रश्नचिह्न लागेको छ । आम जनताको सरकारप्रतिको आक्रोश कहाँनेर छ भने मौसमविद्हरुले अगाडि नै त्यति सचेत गराउँदै गर्दा पनि सरकारी संयन्त्र तयारी अवस्थामा नरहेको, अमेरिका भ्रमणमा निस्केका प्रधानमन्त्री केपी ओलीले आफ्नो देशमा आइलागेको यति ठूलो दैवी विपत्तिका बारेमा जानकारी पाएर पनि भ्रमण छोट्याएर स्वदेश फिर्ता आउन नसक्नु, स्वदेश फर्केर पनि आफू भैँसी दुहेर दूध लिएर आउन अमेरिका भ्रमणमा नगएको भन्नेजस्तो रुखो जवाफ फर्काउनुजस्ता कुराले सरकारप्रतिको जनताको आक्रोश अझै बढेर गएको छ । नेपालमै रहेका सरकारका गृहमन्त्री रमेश लेखकले पनि त्यति ठूलो विपत्तिमा पनि सरकारले सक्रिय भूमिका निर्वाह गर्न अक्षम भएका कारण पनि सरकारको अक्षमताको सवाल उत्पन्न भएको हो। वास्तविकतालाई मध्यनजर गर्ने हो भने वर्तमान केपी ओली नेतृत्वको सरकार अनि उनका गृहमन्त्री वा अरु जोसुकै मन्त्री हुन्, उनीहरु सरकारमा जाने भनेको जागिर खान र सकेसम्म स्वार्थको कुम्लो कस्न पाइएला कि भन्ने मानसिकतालाई बलियो बनाउँदै सत्तारोहण गरेका छन्।
त्यस्तो स्वार्थी सोचले सत्तारोहण गरेकाहरुबाट सर्वसाधारण जनताले आफ्ना लागि कुनै प्रकारका भलाइका काम गर्लान् कि भनेर अपेक्षा राख्नु नै मूर्खता हो । चाहे ओली नेतृत्वको सरकारका प्रधानमन्त्री स्वयं केपी ओली हुन् कि गृह मन्त्रालय सम्हालेका रमेश लेखक नै वा अन्य जुनसुकै मन्त्रालय सम्हालेका अन्य मन्त्रीहरु हुन्, उनीहरु कसैले पनि नेपाली जनता र नेपाल देशको भलाइका लागि काम गर्ने मानसिक कसम खाएका छैनन् । मन्त्री र प्रधानमन्त्री हुँदै गर्दाको समयमा शपथ गराउनेले घोकाएका देश र जनभक्तिका लागि केही औपचारिक शब्दहरु ओकलेका थिए होलान् । तथापि उनीहरु दुई तिहाइ बहुमतको भनिएको सरकारमा सामेल हुँदै गर्दाको समयमा उनीहरुका मानसबाट देश र जनताको सेवामा लाग्ने अलिकति पनि अठोट गरिएको थिएन । अब सरकार सक्षमताको विषयलाई हेर्ने हो भने देश उन्नतिका कुनै पनि ठोस रुपरेखा तयार नगरी हावा गफको भरमा शासन चलाउन खोज्ने अनि आफूले चलाएको शासनलाई सर्वोत्तम तरिकाको शासनको रुपमा लिने लाचार मानसिकताले ग्रस्त भएका शासकहरुलाई अक्षमताको पगरी गुथाएर के नै उपलब्धि होला र ? नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई आजभन्दा झन्डै साढे दुई दशकअगाडि नै पूर्वराजा ज्ञानेन्द्रले अक्षम प्रधानमन्त्रीको पगरी गुथाएर बर्खास्त गरेका थिएनन् र ? तर त्यसपछि पनि उनी लाचारीका साथ कतिपटक सत्तारोहण गरिसकेका छन् ? भन्ने कुरा सबैले देखे–भोगेको विषय हुँदै हो ।
केपी ओली नेतृत्वको सरकार गठन हुनुअगाडिको प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतको भनिएको सरकार गठन हुँदै गर्दाको समयमा नै ओली नेतृत्वको सरकार अक्षम सरकार हुन्छ भन्ने कुरा धेरैले बुझिएकै विषय थियो । यदि केपी ओली नेतृत्वको सरकार सक्षम हुन्थ्यो वा सक्षम सरकार बनाउने मानसिक दृढता थियो भने भ्रष्टाचारको आरोप लागेकाहरुका फाइल खोल्दै, छानबिन गर्दै र भ्रष्टाचार गरेको ठहर भएमा उचित कार्यवाही गर्ने जुन राम्रो कामको थालनी भएको थियो, त्यो कामले अवश्य निरन्तरता पाउने थियो । तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कार्यवाही गर्ने त परै जाओस् भ्रष्टाचार गरेको पाँच वर्षपछिबाट मात्रै अभियुक्तका विरुद्धमा फाइल खोल्ने र कार्यवाही अगाडि बढाउने भन्नेजस्ता भ्रष्टाचारी जोगाउका तानाबाना बुनेर त्यसका लागि कानुनका केही बुँदाहरु संशोधन गर्ने पहलमा सरकार लागेको थियो । त्यस कुकर्मका विरुद्धमा लाख जनता सडकमा ओर्लिएर विरोध जनाएपछि ओली नेतृत्वको सरकार एक कदम पछाडि हट्न बाध्य हुनुपरेको थियो । अब पनि मौका परेका खण्डमा उक्त कुकर्म गरेरै छाड्ने मानसिकतामा प्रधानमन्त्री रहेका छन् ।
इतिहासका कुनै कालखण्डमा सक्षमताका आधारमा पनि मन्त्री, प्रधानमन्त्रीहरु चुनिने र उनीहरुलाई निर्बाधरुपमा आ–आफ्ना सक्षमता कर्मका रुपमा देखाउन लगाउनेजस्ता राकारात्मक काम पनि भए होलान् । तथापि पञ्चायत कालको कुरा नगरेर नेपालको प्रजातान्त्रिक राजनीतिक अभ्यासका क्रममा कोही पनि व्यक्तिको सक्षमताका आधारमा मन्त्रालय नसुम्पिएर भागवण्डाको आधारमा वा खसीको मासु भाग लगाएको आधारमा मन्त्रालयको बाँडफाँड गर्ने परिपाटी बलियो हुँदै गएको छ । यो खराब परिपाटीले गर्दा देश र जनताका लागि केही ठोस योगदान पुग्ने कामको तीव्र इच्छा बोकेर एउटा दृढ अठोटका साथ स्पष्ट बहुमतका आडमा आएको व्यक्तिले न ऊ स्वयंको सक्षमता प्रदर्शन गर्ने मौका पाउँछ र आम जनताको मन जित्ने अवसर पाउँछ, न त ऊ व्यक्ति स्वतन्त्र हुन सक्छ । उसको जीवनको त्यो कालखण्ड केवल चाकरी र चाप्लुसीमा लाग्दै बितेर जान्छ । जसले चाकरी, चाप्लुसी गर्न मन पराउँदैन अथवा चाहँदैन भने उसलाई कि त मारिन्छ, कि त पागल बनाएर लखेटिन थालिन्छ । यो नै नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना रहेको पाइन्छ ।
हात्तीछाप चप्पल पड्काउँदै र चुँडिएको लोतो सलाई बालेर टाल्दै काठमाडौँ छिरेकाहरुले यस्तो नीति अपनाउन नसकेका भए आजका दिनमा काठमाडौँको मुटुमा गगनचुम्बी महल ठड्याउन कसरी सामथ्र्यवान् हुन्थे होलान् ? झन्डै तीन करोड नेपाली रुपियाँको महँगो घडी नाडीमा बाँधेर अरुलाई शान देखाउन सक्ने कसरी हुन्थे होला ? आम नेपाली जनताले सरकारसँग जति गुहार मागे पनि सरकार स्वच्छ हृदयले, विनास्वार्थ कुनै काम गर्ने छैन भन्ने कुरा वर्तमान प्रधानमन्त्री केपी ओलीले नै विगतमा पटक–पटक प्रधानमन्त्री बनेर पनि जनता र देशका लागि सिन्को भाँच्न नसकेका कुराबाट प्रस्ट हुँदैन र ? ढाँटका लागि खाइपचनी भनेजस्तै आम जनताले आफ्नो विरोध गर्लान् कि भन्ने डरले मात्र दैवी विपत्ति पीडित जनताका लागि आँखामा छारो हाल्ने काम मात्र गर्दै छन् । सरकारको दैनिकको ध्यान भनेको कताबाट देश र जनता लुटेर आफू मोटाउन सकिएला ? भन्ने मात्रै रहेको छ । लोभ र मोहको जालोमा फसेको मान्छेको मनमा ती दुई तत्वले नछोडेसम्म मरिमेटेर त्यसै कर्ममा लाग्ने गर्दछन् । हाल नेपाल सरकारलगायत सम्पूर्ण पापी मनका धनीहरुले देश र आम नेपाली जनतालाई सकेसम्म लुट्ने र रुवाउने काम गरिरहेका छन् । अबका यिनका कुकर्मलाई आम नेपाली जनताले सहेर बस्नेजस्तो नादान काम गर्नु उपयुक्त हुँदै होइन ।
आजका दिनमा भन्दा अझै भोलिका दिनमा हामी नेपालीका लागि ठूलै खालका चुनौती सामना गर्नुपर्ने दिन लगातार नजिक–नजिक आइरहेका छन् । यस्तो विषम अवस्थामा पनि अनेक थरीका धाक जमाउँदै रहेको तर आफैँमा निरीह र अक्षम बनेको सरकारले अबका आउँदा दिनमा पनि खासै ठोस काम गरेर ठूलै परिवर्तनका लागि काम गर्ला कि भनेर आशा गर्ने वा आशावादी बन्ने एक थोपो पनि स्थान रहेको छैन । देशमा आँकलन नै नगरेको दैवी प्रकोपको वितण्डा मच्चिइरहँदा पनि हाम्रा शासकको मानसमा कुनै खालको सहानुभूतिको गहिरो भावना प्रकट हुन सकेको पाइएन । यदि आम नेपाली जनताको माया वा प्रेम मनमा उत्पन्न भैदिएको भए देशको अपार ममताले द्रविभूत बनाउन सकेको हुन्थ्यो भने, पटक–पटक मन्त्री वा प्रधानमन्त्री भएर कुनै सार्थक अर्थबाट अभिप्रेरित हुनको लागि तयारीको पहिलो सर्त भनेको आफ्नो मानसबाट लोभ–मोहको जालो हटाउनुजस्तै हो । तर अरु कसैले भनिदिएर वा कसैले बाध्य बनाएर हाम्रो मानसिक धरातलमा घुसेको विषय भनेको अस्थायी शिविरजस्तै हो भन्न सकिन्छ । जुन अस्थायी शिविरमा पुगेका बिरामीहरु यथासमयमा नै आ–आफ्ना बासस्थानतिर फर्कन्छन् र शिविर खाली हुँदै जान्छ । यस कुरालाई सर्वसाधारणको दिमागले राम्ररी आत्मसात् गरेको हुन्छ त सामन्त वर्गका मान्छेको दिमागभित्र चाहिनेभन्दा अधिक घमण्डको जालोले ढाकिने भएकोले गर्दा बिचराहरु आत्मसात् गर्नै नसक्ने अवस्थाबाट जीवन चलाउँदै हुन्छन् । बरु एउटा मगन्ते भिखारीले भिक्षा दिने दाताको भलाइका लागि आत्मैदेखिको कामना प्रकट गर्दै शुभकामना प्रकट गर्ला, आफ्नो जीवन र शरीरको समेत कुनै पर्वाह नगरी लागिरहन सक्ला । तर राजनीतिमा लागेका भनिएका हाम्रा नेताहरु कहिल्यै पनि आफ्ना मनमा त्यस्तो सकारात्मक विचार बोकेर आम नेपाली जनता र नेपाल देशको लागि ठोस योगदान दिने कुनै उल्लेख्य काम गर्न सक्ने अवस्थामा छैनन् ।
देशलाई लोकतन्त्रको सही मार्गमा हिँडाउन सक्लान् कि भनेर अपेक्षा गरिएकाहरुबाट हामीले प्रायजसो विभिन्न स्थान र विभिन्न परिवेशमा लगातार धोका खानुपरेको छ । यसै धोकाका कारण उनीहरुका सक्कली रुप कस्ता हुन्छन् अनि देखावटी रुप कस्ता हुन्छन् ? भनेर आम नेपाली जनतालाई थाहा भइसकेको हुनाले भर्खरै हाम्रो देशमा भएको अकल्पनीय दैवी विपत्ति र अरु कुनै अवस्थामा पनि राजनीतिमा लागेका हाम्रो देशका कुनै पनि राजनीतिक दलका कुनै पनि नेताले साँचो मनले काम गरेर राहत देलान् कि भनेर अपेक्षा गर्नुभन्दा अपेक्षा नगर्नु नै जाती हुनेछ । यदि अपेक्षा गर्ने हो भने धोकासिबाय केही पनि हात लाग्नेछैन ।
प्रतिक्रिया